खानेपानीको क्षेत्रमा नतिजा देखिने गरी काम गर्न मन्त्री यादवको निर्देशन
बुटवल : खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई वितरण गर्नका लागि निर्माण भइरहेका खानेपानी आयोजनामा नतिजा देखिने गरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन्।
बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको निरीक्षण एवं अनुगमन गर्दै मन्त्री यादवले मानिसलाई बाच्नका लागि आवश्यक पर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामहरूको नतिजा देखिने गरी समयमै काम गर्नुपर्ने बताए।
'मानिसलाई बाँच्नका लागि आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो। नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाहरूको नतिजा देखिने गरी काम गरौं,' उनले भने। मन्त्री यादवले सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूमा कुनै पनि समस्या आइपरे वा बाधा अवरोध सिर्जना भए तत्काल आफूलाई जानकारी गराउन आग्रह गरे।
'खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनु हुँदैन। कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाईसहित मन्त्रालयमा गराउनुहोला। समस्याको समाधान हामीले निकाल्ने छौं,' उनले भने।