मंकिपक्सको जोखिम
पश्चिम अफ्रिकाबाट सुरु भएको मंकिपक्स रोग नेपालमा समेत प्रवेश गरेको छ। साउदी अरबबाट हालै फर्किएका युवामा मंकिपक्स संक्रमण पुष्टि भइसकेको छ। त्यसो त विदेशबाट फर्किएकी महिलामा असार १ गते मंकिपक्स नेपालमा पहिलोपटक पुष्टि भएको थियो। बिफरको जस्तै भाइरसवाला यो रोगको जोखिममा नेपाल र भारत पनि परिसकेका छन्।
संसारका १ सय १६ देशमा देखा परिसकेको यो संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले पनि सतर्कता अपनाउन भनिसकेको छ। उसले संकट घोषणा गरिसकेको छ। अफ्रिकी मुलुकहरूमा झन्डै २० हजार यसबाट संक्रमित भएका छन् र झन्डै ६ सयले ज्यान गुमाइसकेका छन्।
सरुवा किसिमको यो रोगको सुरुआती लक्षण ज्वरो आउनु नै हो। शरीरमा डाबर देखिने, डाबरमा फोका बन्ने र पाप्रा उठ््ने, टाउको र मांसपेशी दुख्नेजस्ता लक्षण देखिन्छन्। डरलाग्दो कुरा त यसले आँखाको दृष्टि क्षमता पनि नष्ट गर्न सक्छ र मृत्यु पनि हुन्छ। संक्रमणको जोखिम बढेको हुँदा संक्रमण फैलिन नदिन सतर्कता र निगरानी आवश्यक छ। विदेशी मुलुकबाट फर्केका व्यक्तिहरूले २१ दिनभित्रमा कुनै लक्षण देखिए तुरुन्त जँचाउनुपर्छ। मंकिपक्सको जोखिमअनुसार नियन्त्रणका लागि सरकारी प्रयास खास भएको छैन। अन्तरसरकारी निकायमा समन्वय पनि अभाव छ। विदेशबाट फर्किएकाहरूमा निगरानी बढाउनुपर्ने तत्काल खाँचो देखिएको छ।
उपचार नहुने र मृत्युकै जोखिम भएको हुँदा यसलाई प्रवेश गर्न नदिनु र प्रवेश भइहाले नियन्त्रण गर्नु नै बुद्धिमत्तापूर्ण हुन्छ। तसर्थ होसियारीका लागि नागरिक र सरकारी स्तरबाट पहल जरुरी छ। कोभिड—१९ को संक्रमणका बेला राज्यको भूमिका कमजोर देखिएको थियो। त्यस्तै प्रकारको कमजोरी दोहोरियो भने मंकिपक्सले पनि थुप्रै नेपालीको ज्यान लिन सक्छ, जसरी कोभिडले लिएको थियो।
त्यसैले बेलैमा सतर्क हुने, जोखिम सामना गर्न पूर्वतयारी गर्ने काम हुन जरुरी छ। बेलैमा सचेतना नफैलाइए र नियन्त्रणका उपाय नअनाइए कोभिड महामारीको जस्तै विपद्् आइलाग्न सक्छ। विगतबाट पनि पाठ सिक्नुपर्छ। विश्व स्वास्थ्य संगठनले भनेका मापदण्ड पालना गर्नुपर्छ।