काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका तीनवटा ट्विनअटर जहाज छन्। तर, तीनवटै ग्राउन्डेड छन्। निगमको एउटा ट्विनअटर त झन्डै १२ वर्षदेखि ग्राउन्डेड छ।
डीएचसी ६–३०० कलसाइन एबीएक्सको उक्त जहाज सन् २०१२ अर्थात् (२०६८/०६९ साल) बाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तापेर बसिरहेको छ। उक्त जहाज ग्राउन्डेडपछि दुइटा जहाजले १९ गन्तव्यमा उडान भरिरहेका थिए। तर, ती पनि ग्राउन्डेड भए। इन्जिनमा समस्या देखिएपछि नाइन–एबीटी पनि जेठ २३ बाट ग्राउन्डेड भयो। करिब ६ महिनादेखि एउटा ट्विनअटर नाइन–एबीयूले मात्रै आन्तरिक उडान भर्दै आएको थियो। उक्त जहाजको फ्लाई आवर (उडान घण्टा) सकिएपछि पुस ७ गतेबाट ग्राउन्डेड भयो। आन्तरिक उडानका सबै जहाज ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प छ। तर वायु सेवा निगम नेतृत्व भने जहाज मर्मतमा उदासीन देखिएको छ।
मुलुकका विकट पहाडी र हिमाली जिल्लामा उडान भर्ने एकमात्र संस्था निगम हो। सबै जहाज थन्किएपछि सबैतिरको आन्तरिक उडान बन्द छ। करारका ४ पाइलट, १९ जना इन्जिनियर र ५० भन्दा बढी प्राविधिक कर्मचारी कामविहीन छन्। उडान ठप्प हुँदा कर्मचारीको तलबलगायत प्रशासनिक खर्चका कारण निगमलाई मासिक करोडौंको आर्थिक हानि भइरहेको कर्मचारीहरू बताउँछन्।
ट्विनअटर नाइन–एबीयू जहाजको इन्जिनको उडान आवर पुस ७ मा सकिँदै थियो। यसै कारण जहाजले २०८१ जेठदेखि उडान आवर सेभिङ रणनीतिमा उडान भरिरहेको थियो। निगमका एक कर्मचारीका अनुसार जहाजको दाहिनेपट्टिको इन्जिनको फ्लाइट आवर (अधिकतम उडान गर्न सकिने) अवधि समाप्त भएको हो।
जेठ २३ गते ग्राउन्डेड भएको नाइन–एबीटी जहाजको इन्जिनको आन्तरिक मर्मत गर्दा इन्जिन सिज भएको र निगमसँग मौज्दात जगेडा इन्जिन नभएको कारणले उक्त जहाज ग्राउन्डेड भएको हो। उक्त जहाजमा प्रयोग हुने इन्जिन हालसम्म खरिद, सट्टापट्टा तथा उपलब्ध गराउन नसकेका कारणले ग्राउन्डेड अवस्थामा छ। त्यस जहाजका इन्जिन तथा धेरै पाटपुर्जाहरू निगमको हालै ग्राउन्डेड भएको नाइन–एबीयू जहाजमा स्थानन्तरण गरिसकेको निगम स्रोत बताउँछ।
उडान घण्टा थपिएको थियो ?
निगमको ट्विनअटर नाइन–एबीयूको फ्लाई आवर ३६ सय घण्टा हो। निगमले ४ सय घण्टा थपेर ४ हजार घण्टा बनाइएको स्रोत बताउँछ। तर, यो सूचना गलत भएको निगमका प्राविधिकतर्फका प्रवक्ता इन्जिनियर मनोजकुमार साह बताउँछन्। ‘जुन नियममा छ, स्वीकृत कार्यविधिभन्दा बाहिर गएर सुरक्षासँग सम्झौता निगमले गर्दै छ। ३६ सय आवर घण्टा नै यो इन्जिनको क्षमता हो,’ साहको भनाइ छ।
आन्तरिक उडानतर्फ निगमसँग एउटा मात्र जहाज भएकाले व्यवसाय गरेर मुनाफा आर्जन गर्नेभन्दा पनि नागरिक सेवाका लागि उडान भरिरहेको उनले बताए। धेरै जहाज हुँदा मात्रै मुनाफाको कुरा आउने भन्दै साहले फ्लाइट आवर बढाएर जहाज उडाउनु पर्ने बाध्यात्मक स्थिति निगमलाई नभएको उनले स्पष्ट पारे।
इन्जिन मर्मतका लागि सम्झौतामा किन ढिलाइ ?
निगमको प्रयोगमा भएको इन्जिन (पीटी ६–२७) को फ्लाइङ आवर पुस ७ गते सकिँदै थियो। इन्जिन मर्मतका लागि निगमले अंग्रेजी वर्ष २०२४ को अगस्ट ९ (२०८१ भदौ ३ गते) पहिलो बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रमा इजरायली कम्पनी बेट सेमेस र नेपाली कम्पनी माटर टे«डिङले निवेदन दिएका थिए। बेट सेमेसले यसअघि पनि धेरै पटक निगमको इन्जिन मर्मत, सट्टापट्टामा काम गरेको थियो।
माटर टे«डिङले सामान तथा वस्तुको आयात/निर्यात गर्दै आएको छ। स्रोतका अनुसार निगम व्यवस्थापनले यो टिनअटरको इन्जिन मर्मतका लागि माटर टे«ेडिङलाई नै दिने उद्देश्य राखेको थियो। २०७५ सालमा कम्पनी रजिस्ट्रार कार्यलयमा दर्ता भएको माटर टे«डिङ कम्पनीको दर्ताको बखतको उद्देश्य सामान तथा वस्तुको ओसारपसार भन्ने छ। २०८१ भदौ ३ गतेको निगमको बोलपत्रमा निवेदन दिएको माटर कम्पनीले कात्तिकमा आएर मात्र विशेष साधारणसभाबाट कम्पनीको उद्देश्य परिवर्तन गरेको थियो।
कम्पनीले उद्देश्य परिवर्तन गर्दै स्वदेशी तथा विदेशी हवाई विमान तथा हेलिकप्टर निर्माण तथा मर्मतसम्भार गर्ने कम्पनीको एजेन्ट भई देश तथा विदेशमा एमआरओ (मेन्टेनेन्स, रिपेयर र ओभरहल) सेवा प्रदान गर्ने र स्वेदशी वा विदेशी वायुसेवा कम्पनीको एजेन्ट भई देश तथा विदेशमा हवाईजहाज तथा हेलिकप्टरहरू भाडा तथा लिजमा लिने–दिने निर्णय गर्ने भनेको छ। उक्त कम्पनीले यही वर्षको कात्तिक ३० गते कम्पनी रजिस्ट्रारमा उद्देश्य संशोधन गरेको बुझिएको छ। उक्त बोलपत्रमा माटर टे«डिङ योग्य नहुने भएपछि पहिलो बोलपत्र रद्द गरिएको निगम स्रोतको दाबी छ। ‘पहिलो टेन्डरपश्चात प्राप्त माटर ट्रेडिङको प्रस्तावमा इन्जिन सट्टापट्टा गर्न आवश्यक पर्ने इजाजतपत्र, सट्टापट्टामा दिने पीटी ६–२७ इन्जिनको विवरण केही पनि नभएकोले मूल्यांकन समितिका अधिकांश सदस्यहरूले उक्त प्रस्ताव प्राविधिक रूपमा पारित गर्न नमिल्ने निचोड निकाले। त्यसपश्चात् उक्त टेन्डर रद्द भएको हो,’
स्रोतको दाबी छ।
दोस्रोपल्ट २०२४ अक्टोबर ३ (२०८१ असोज १७ गते) अर्को बोलपत्र आह्वान गरियो। उक्त बोलपत्रमा इजरायली कम्पनी बेट सेमेसले मात्र निवेदन दिएको थियो। उक्त कम्पनी विश्वव्यापी रूपमा नै पीटी ६–२७ इन्जिनको मर्मत तथा सञ्चालनका लागि परिचित हो। सुरुमा नै बेट सेमेसलाई इन्जिन मर्मतका लागि नदिँदा अहिले निगम जहाजविहीन हुनु परेको स्रोतको भनाइ छ। एउटा मात्रै कम्पनीले निवेदन हालेकोमा पनि निगमले इन्जिन मर्मत सम्झौता गर्न दुई महिनाभन्दा बढी समय लगाएको छ। निगमले पुस ५ गते मात्र बेट सेमेससँग इन्जिन मर्मतका लागि औपचारिक सम्झौता गरेको छ।
इन्जिन मर्मत कम्पनीले सम्झौता गरेको ४५ देखि ९० दिनभित्र इन्जिन दिनुपर्ने हुन्छ। बेट सेमेसको निवेदन माथि आन्तरिक मूल्यांकनको क्रममा समय लागेको प्रवक्ता साह बताउँछन्। सार्वजनिक खरिदको नियमानुसार प्रक्रिया पु¥याउँदा सम्झौता गर्न समय लागेको बताउँदै प्रवक्ता साहले जनवरीको अन्तिमसम्म इन्जिन मर्मत भई नेपाल आउने बताए।
न्यारोबडीको पनि सी चेक बाँकी
वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने न्यारोबडी जहाज नाइनएन–एकेडब्लूको पनि सी चेक हुन सकेको छैन। उक्त न्यारोबडीलाई अक्टोबर अन्तिममा सी चेकमा पठाउनुपर्ने हो। तर, बोलपत्रमा नै निगम अल्झिँदा अहिले फ्लाई आवर बचाएर उडान गर्ने गरिएको छ। कम्पनीको एमआरओ छनोटमा निगम व्यवस्थापनले निर्णय नगर्दा उक्त जहाज प्राविधिक रूपमा ग्राउन्डेड नै भएको छ।
हप्तामा २७–२८ उडान भर्नुपर्नेमा अहिले साताको २–३ सेक्टरमा मात्र उडान गरिरहेको छ। जहाज अहिले दिनको सरदर २ घण्टामात्र उडाइएको छ। अहिले २ वटा वाइडबडी र २ न्यारोबडीले ९ गन्तव्यमा उडान भर्दै आएका छन्। तर, नाइनएन–एकेडब्लूको भने उडान आवर क्षमता जोगाउन पूर्ण क्षमतामा चलाइएको छैन। केही दिनमा यो जहाज पनि ग्राउन्डेड हुने अवस्था आउँदैछ। जहाज धमाधम ग्राउन्डेड हुँदा पनि तालुकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने मुकदर्शक भएर बसेको छ।