दुर्गममा बाटो, हिँड्नै मुस्किल
गोरखा : पवित्र धार्मिक तथा पर्यटकीय स्थल सेराङ जाने बाटो जोखिम भएपछि कादुरी नामक संस्थाले झोलुङ्गे पुल निर्माण गर्न सुरु गरेको छ । झोलुङ्गे पुल नबनुञ्जेल सो बाटोसम्म जोड्ने गरी स्थानीयबासीले अस्थायी रुपमा काठको भर्याङ बनाएर आवतजावत गरिरहेका छन् ।
जिल्लाको चुमनुब्री गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक स्थल सेराङ गुम्बामा अहिले १२५ भन्दा धेरै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी छन् । ५० जनाभन्दा धेरै गुम्बा विद्यालय पढ्ने भिक्षुहरू छन् । गुम्बा पूजा गर्ने, ध्यान गर्ने लामा गुरुहरू गरी तीन सयभन्दा धेरै जना सेराङमा बस्ने वडाअध्यक्ष काल्देन छेवाङ लामा बताउँछन् ।
चुमनुब्री ५ को क्य्राकबाट चारघण्टाको उकालो बाटो हिँडेपछि सेराङ पुगिन्छ । निर्जन जंगलको बाटो धेरै जोखिम रहेकाले कादुरीसँग अनुरोध गरी पुल निर्माण गर्न लागिएको वडाअध्यक्ष लामाको भनाइ छ । सेराङ गुम्बामा बस्नेहरू पनि त्यो बाटो हिँड्छन् ।
- सेराङ जाने बाटोमा झोलुंगे पुल नबनुन्जेल स्थानीयले काठको अस्थायी भर्याङ बनाएर आवतजावत गरिरहेका छन्।
- चुमनुब्री ५ को क्य्राकबाट ४ घण्टाको उकालो बाटो हिँडेपछि सेराङ पुगिन्छ।
उनीहरूलाई रासनपानी पुर्याउन जाने आउनेहरू पनि त्यो बाटो हिँड्नुपर्छ । गुम्बामा पूजा गर्न जानेहरू, पर्यटकहरू पनि त्यो बाटो हिँड्नुपर्छ’, लामा भन्छन्, ‘बाटो धेरै नै गाह्रो भएकाले कादुरीसँग अनुरोध गरी तीन ठाउँमा पुल बनाउन लागेका छौँ । पोहोरसाल एउटा बनाइसक्यो । एउटा अहिले बनाउन लागेको छ । अर्को एउटा चाहिँ आउने साल बनाउने भनेको छ ।’
तीन ठाउँमा पुल बनेपछि बाटो कम जोखिम पनि हुने, दुरी पनि केही घट्ने उनले बताए । पुललाई जोड्न गाउँपालिकाले १० लाख खर्चेर पदमार्ग पनि बनाउन लागेको उनले बताए । ‘पुलसम्म पुग्न गाउँपालिकाले १० लाख रुपैयाँ खर्च गरेर सुरक्षित बाटो बनाउँदै छ’, उनले भने ।