कुकुरलाई क्रुरतापूर्वक मार्ने दुईजना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी
परासी : क्रुरतापूर्वक कुकुर मार्ने दुईजनालाई नवलपरासी प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी छन् ।
उनीहरूले पाँचवटा कुकुरका छाउरा र एउटा माउलाई क्रुरतापूर्वक मारेको आरोप छ । पक्राउ परेका राजकुमारले कुकुरका छाउरालाई भूइँमा पछारेर मारेको र मरेपछि नदीमा फालेका थिए ।
कुकुर मारेको दृष्यलाई अमनले चार दिनअघि भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसैको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।
उनीहरूमाथि मुलुकी अपराधसंहिताको पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा चलाइनेछ । पशुपंक्षीसम्बन्धी कसुरमा तीन महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजायको दफा उल्लेख गरी प्रतिवेदन तयार भएको र त्यसको आधारमा मुद्दा चलाइने तयारी गरिएको प्रहरीले जनाएको छ ।