आवश्यक कानुन नबन्दा संघीयता कार्यान्वयनमा बाधा : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बनेपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन्।
बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन्। नयाँ सरकार बनेपछि पनि आर्थिक,राजनीतिक,प्रशासनिक, विकास निर्माणलगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनको भनाइ छ।
यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरूले धेरैअघि नै आन्दोलन गरेको भन्दै अब संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे। विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए।
अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा संघीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा राखे।