सूर्यदर्शन सहकारी ठगी प्रकरण : सहकारी पीडित पक्षका कानुन व्यवसायीको बहस जारी
काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरू भएको छ।
अहिले जाहेरीवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीहरूको बहस जारी रहेको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्। उक्त मुद्दामा बुधबार सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो। जाहेरवालातर्फका कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादीतर्फको बहस सुरू हुनेछ।
प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरू भएको थियो। कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने,छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,कृष्णबहादुर गुरूङ,मीना गुरूङ र आरती गुरूङलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश जारी गर्नुपर्ने तर्क गरेका थिए। प्रहरीको अनुसन्धान प्रतिवेदन,संसदीय छानबिन विशेष समितिको प्रतिवेदन र पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदनका आधार,कारण र प्रमाणबाट सातैजनालाई थुनामा पठाउनुपर्ने तर्क उनीहरूको थियो।
लामिछानेसहित सातजना प्रतिवादीविरुद्धको थुनछेक बहस मंगलबारबाट सुरू भएको हो। मंगलबार आरती गुरूङको बयान सकिएलगत्तै थुनछेक बयान सुरू भएको थियो।
थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।
यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।