सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, ४ अर्ब ६० करोड कारोबार
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले घटेर ४४३.५६ विन्दुमा पुगेको छ।
परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३१५ स्क्रिप्सको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार साढे ३ अर्बको सेयर कारोबार भएको थियो।
सामान्य अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नगद हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। सामुदायिक लघु्वित्त वित्तीय संस्थाको सेयर ९.९६ ,सापकोटा डेभलपमेन्ट बैंकको ९.९०,सिन्धु विकास बैंकको ९.९७ र सुपर मादी हाइड्रोपावरको ९.६५ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड १७ लाख ४२ हजार ८२० रुपैयाँको सेयर कारोबार भयो। न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख,हिमालयन डिस्टिलरी र कर्पोरेट डेभलपमेन्टको ११/११ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ९ करोड ९३ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १५६ स्टक्सको मूल्य बढ्दा ७७ वटाको घटयो। बाँकी ११ स्टक्को मूल्य स्थिर रह्यो। आज ८ समूहको उपसूचक बढ्दा अन्य उपसमूहका उपसूचक भने नकारात्मक देखिएका छन्।