आरक्षण क्षेत्रमा जनताले दुःख नपाउने गरी कानुन बनाउनुपर्छ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षण क्षेत्रमा जनताले दुःख नपाउने गरी कानुन बनाउन सुझाव दिएका छन्।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूको छलफलका क्रममा सभापति देउवाले यस्तो सुझाव दिएका हुन्।
मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको आरक्षण क्षेत्रमा जनताहरूले धेरै दुःख पाइरहेको उनले बताए। सभापति देउवाले बाघले मान्छे मार्दा केही नहुने तर प्रतिकारमा मान्छेले बाघ मारे कानुन लाग्ने अवस्थालाई उचित ढंगले समाधान गर्नुपर्ने बताए।
बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आरक्षण क्षेत्रमा जनताले भोग्दै आएका समस्या समाधानका लागि बाधक रहेको कानुनहरूलाई संशोधन गरिने प्रतिबद्धता जनाए।