कोशीमा सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन
काठमाडौं : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको बताएका छन्।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयको कार्यभार सम्हालेको १ सय दिनको उपलब्धि सार्वजनिक गर्न बिहीबार विराटनगरस्थित मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हाङ्गामले कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि २०८१ ल्याउन लागिएको र कृषकलाई गुणस्तरीय बिउबिजन उपलब्धतामा सुधार तथा कृषकको आयस्तर सुधारका गर्न प्रदेश बीउबीजनसम्बन्धी विधेयक ल्याउने तयारी गरिएको बताए।
आफू मन्त्री भएर आएपछि विभिन्न नीतिगत निर्माण कानुनहरू परिमार्जन गरिएकाले अब पूँजीगत खर्च बढ्ने उनले बताए। उनले पीपीपी मोडलमा उद्यमशीलता विकास र सीप विकासमार्फत स्वरोजगारी उपलब्ध गराउन प्रदेश औद्योगिक व्यवसाय विधेयक पनि ल्याउन लागेको बताए।