राजनीतिक स्थायित्वका लागि ठूला दल मिलेका हौं : प्रकाशमान सिंह
काठमाडौं : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विभिन्न आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।
कांग्रेस १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौं क्षेत्र-१ मा आयोजित क्षेत्रीय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै सिंहले प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिकलगायतका विकासतर्फ अघि बढाउनुपर्ने बताए।
उनले मुलुकको स्थायित्व र विकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने भएकाले पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा जोड दिए। पार्टीको संगठनलाई कागजीरूपमा मात्रै सीमित गर्न नहुने भन्दै पार्टीलाई बलियो ढंगले अघि बढाउन नेता तथा कार्यकर्ताहरू एक भएर लाग्नुपर्ने उनले बताए।
ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको भन्दै सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि नै ठूला दल मिल्नुपरेको बताए। उनले आगामी निर्वाचनबाट पहिलो पार्टी बन्नका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताए।
सिंहले कांग्रेस पार्टी राष्ट्रिय राजनीतिमा लोकतन्त्रको वकालत गर्न लडेको एकमात्रै पार्टी भएकाले जिम्मेवार भएर अघि बढ्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए।