गस्ती टोलीमाथि आक्रमण
गौशाला (महोत्तरी) : महोत्तरीको मरहा खोला अवैध रोक्न गएको क्रममा वनगस्ती टोलीमाथि आक्रमण भएको छ। बिहीबार बिहान ४ बजेतिर अवैध उत्खनन रोक्ने क्रममा टोलीमाथि आक्रमण भएको हो। आक्रमणमा वन रक्षक विदुर अधिकारी घाइते भएका छन्।
डिभिजन वन अधिकृत अजयकुमार मिश्रका अनुसार वनगस्ती टोलीमाथि गुण्डा समूहले आक्रमण गरेको हो। उनले भने, ‘बिहान ४ बजेको समयमा घटनास्थल पुग्दा वन कर्मचारीले मडाहा खोला तथा तटवर्ती क्षेत्रमा अवैधरुपमा उत्खनन भइरहेको देखेपछि एउटा स्काभेटर र ५ वटा टिपर नियन्त्रणमा लिएका थिए। ती गस्ती टोलीले क्रसरका गाडीहरू नियन्त्रणमा लिएपछि चालकहरू भागेर खोला पश्चिमतर्फ रहेको जय माँ जालपा ढुंगा गिट्टी बालुवा वासिङ सेन्टरबाट पुगेका थिए। त्यहाँबाट मोटरसाइकलमा आएका एक समूहले वन कर्मचारीमाथि गालीगलौज र हुलहुज्जत गर्दै आक्रमणमा उत्रिएको हो।’ सोको प्रतिकार गर्दा सशस्त्र वन रक्षक घाइते भएका हुन्।
फोटोका आधारमा वा. ३ क. १११६ नं.को स्काभेटर तथा प्र. २–०३–००१ क. ०५९२, प्र. २–०३–००१ क. ०३९२ र प्र. २–०३–००१ क. ०५८२ नंको गाडीमाथि कारबाही गर्न लागेको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ।
घटनाको जानकारीपछि जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्णको नेतृत्वमा गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो, डिभिजन वन प्रमुख अजयकुमार मिश्र लगायतको टोलीले घटनास्थलको निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा राति वन गस्ती टोलीले नियन्त्रणमा लिएका सबैजसो गाडीहरू माँ जालपा ढुङ्गा गिट्टी बालुवा वासिङ सेन्टरमा फेला परेको जनाइएको छ। चालु आर्थिक वर्ष ०८१/८२ का लागि कतिपय स्थानीय तह ठेक्का प्रक्रियामा गए पनि अहिलेसम्म जिल्लाका कुनै पनि खोला उत्खननका लागि ठेक्का लागेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको गौशाला नगरपालिकाले जनाएको छ।