दैनिक १० बढी भूकम्प, अधिकांश बेखबर
काठमाडौं : के तपाईंलाई थाहा छ, नेपालमा औसत दैनिक कतिपटक भूकम्प-पराकम्प जान्छ ? राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र भन्छ, ‘दैनिक सानातिना नयाँ भूकम्प वा पराकम्प १० देखि १२ पटक जान्छ। धेरैले थाहै पाउँदैनन्।’
सामान्यतयाः भूकम्प जति नजिक र कम गहिराइ तथा ठूलो मानको गयो त्यति नै बढी जमिन हल्लिन्छ। सोही अनुपातमा क्षतिको सम्भावना हुन्छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रकी उपमहानिर्देशक मोनिका झाका अनुसार, चार म्याग्निच्युडभन्दा बढीको भूकम्प गएमा मात्र सर्वसाधारणमा उत्सुकता जाग्छ। सामाजिक सञ्जालतिर पनि हल्लीखल्ली हुन्छ।
‘दिनहुँ औसत १० देखि १२ पटक ससाना भूकम्प-पराकम्प गइरहेको हुन्छ,’ प्रवक्ता झाले भनिन्, ‘चार म्याग्निच्युड वा सोभन्दा बढीको भूकम्प-पराकम्पको जानकारी छिटो दिने प्रयासमा हुन्छौं।’ सिन्धुपाल्चोक जिल्लाको माझीटार केन्द्रबिन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प जानेबित्तिकै हल्लीखल्ली भयो। भूकम्पको धक्का महसुस सिन्धुपाल्चोक आसपासका जिल्ला र काठमाडौं उपत्यकामा भएको थियो। माझीटारमा गएको भूकम्पलाई गोरखा जिल्लामा गएको भूकम्पको पराकम्पन भएको भूकम्पमापन केन्द्रले जनाएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो। ठूलो भूकम्पपछि पराकम्पनहरू जानु स्वाभाविक भएको भूकम्पविद्हरू बताउँछन्। ‘कुनै स्थानमा ठूलो भूकम्प गएपछि अन्य साना भूकम्प जान सक्छन्।
ती भूकम्पहरूलाई पराकम्पन भनिन्छ। सामान्यतयाः जति ठूलो भूकम्प गयो सोही तुलनामा धेरै र लामो समयसम्म परकम्प जाने गर्दछन्,’ केन्द्रकी प्रवक्तासमेत रहेकी झाले भनिन्, ‘पछिल्लो समय नयाँ र पुराना भूकम्प-पराकम्पनहरू गएका छन्। सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएको पराकम्पन हो।’ भूकम्पविद्का अनुसार, भौगर्भिक दरार वा कमजोर सतहमा तल माथि वा दायाँबायाँ रहेका चट्टानका खण्डहरूविपरीत दिशातिर विस्थापन हुँदा भूकम्प जान्छ। इन्डियन प्लेट र युरेसियन प्लेटको टकरावको क्षेत्रमा परेकाले नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्र बन्न पुगेको छ। भूकम्पको केन्द्रबिन्दु (दूरी), उद्गम विन्दु (गहिराइ), दरारको दिशा, भौगर्भिक बनावटलगायतका कारणले अधिकांशले ससाना भूकम्प-पराकम्प थाहा नै नपाउने भूकम्पविद्हरू बताउँछन्।
सम्भाव्य जोखिममा पश्चिमक्षेत्र
भूकम्प एक भौगर्भिक प्रक्रिया हो। भौगोलिक रूपमा विगत करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा (गोरखादेखि सुदूरपश्चिमसम्म) ठूला तथा महाभूकम्पहरू गएका छैनन्। २०८० असोज १६ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसको ठीक एक महिनापछि सोही ठाउँ केन्द्रविन्दु भएको ६ दशमलव ४ म्याग्निच्युडको अर्को भूकम्प गयो। त्यसयता जाजरकोटलगायतका आसपासका क्षेत्रमा पराकम्पनहरू गइरहेका छन्।
पश्चिम नेपालमा पाँच सय वर्षयता ठूलो भूकम्प नगएका कारण सो ठाउँको जमिनमुनि ठूलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको भूकम्पविद्हरूको भनाइ छ। पछिल्लो समय ससाना नयाँ भूकम्प एवं पराकम्पनहरू गइरहेका छन्। पुस महिनामा मात्रै सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरू केन्द्रविन्दु भएर भूकम्प गइरहेको केन्द्रले जनाएको छ। बैतडी, जाजरकोट, दार्चुला, बाजुरा, बझाङ जिल्लामा ४ देखि ५ म्याग्निच्युडसम्मको भूकम्प तथा पराकम्पन गएको प्रवक्ता झाले जानकारी दिइन्। उनले भनिन्, ‘साना–साना पराकम्पनहरू गइरहेका हुन्छन्। विशेषगरी चार म्याग्निच्युडभन्दा बढीको भूकम्प वा पराकम्पनको महसुस अधिकांशले गर्छन्।’
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार, भूकम्पको केन्द्रविन्दु र म्याग्निच्युडका आधारमा धक्काको महसुस थाहा हुन्छ। ‘वस्तीको वरिपरि भूकम्पको केन्द्रविन्दु छ भने तीन म्याग्निच्युडमै पनि स्थानीयले महसुस गर्न सक्छन्,’ डा.अधिकारी भन्छन्, ‘भूकम्पको केन्द्रविन्दु (दूरी), उद्गम विन्दु (गहिराइ), भूकम्पको दरारको दिशा, भौगर्भिक वनावटले पनि प्रभाव पार्छ। सामान्यतया चार म्याग्निच्युडभन्दा बढीको भूकम्प जाँदा धेरैले धक्का महसुस गर्छन्।’
डा. अधिकारीका अनुसार, नेपालको कुनै पनि भूभागमा २ म्याग्निच्युड वा सोभन्दा माथिको म्याग्निच्युडसम्मको भूकम्प-पराकम्पन मापन हुने गरेको छ। तर, काठमाडौंमा भने एक म्याग्निच्युडभन्दा न्यूनको पनि मापन गरिने डा. अधिकारी बताउँछन्। चट्टान चर्किने, भाँच्चिने, फुट्ने वा विस्थापन हुने प्रक्रिया स्वरूप भूकम्प जाने र भूकम्प गएपछि तरंगहरू उत्पन्न हुन्छन्।
यसरी उत्पन्न भएका तरंगहरू उद्गमविन्दुबाट पृथ्वीको विभिन्न तहहरू पार गर्दै सतहसम्म आइपुग्छन् र यी तरंगहरूलाई भूकम्पमापन यन्त्रको सहायताले रेकर्ड गरिन्छ। ‘ससाना भूकम्पहरू गइरहेका हुन्छन्। धेरैलाई थाहा नै हुँदैन,’ डा. अधिकारी भन्छन्, ‘भूकम्पका दृष्टिले मुलुक जोखिममा नै छ। त्यसमध्ये पनि पछिल्लो समय सम्भाव्य जोखिममा पश्चिम नेपाल देखिन्छ। भूकम्पको कुनै मौसम र समय हुँदैन। जुनसुकै बेला जहाँ पनि जान सक्छ।’