धुजाधुजा ध्वजाबाहक
नेपाल सरकार स्वामित्वका वायुसेवा निगमको हालत चौपट छ। यसै त आवश्यक जहाजको अभाव छ। भएका जहाज पनि उडान भर्न नसक्ने अवस्थामा पुगेका छन्, ग्राउन्डेड भएका छन् अर्थात् भूमिस्थ छन्। अन्तर्राष्ट्रिय उडानका गन्तव्यलाई आवश्यक जति जहाज नभएको निगमका आन्तरिक उडान पनि ठप्प छन्। कारण भएका तीनवटा ट्विनअटर जहाज भूमिस्थ छन्। दुर्गमका जनतालाई हवाई यातायातको सेवा दिने दुर्लभ वायुसेवा संस्था पनि हो निगम। यसको सेवा हुँदा दुर्गमका जनतालाई सास्ती त पुगेकै छ, निगमलाई आर्थिक हानिनोक्सानी झनै बढेको छ।
यसै पनि निगम घाटामा भएकोमात्रै होइन, ऋणमा डुबेको संस्था हो। निगमको व्यवस्थापन र हालत कतिसम्म दुरवस्थाको छ भने एउटा ट्विनअटर जहाज त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै १२ वर्षदेखि ग्राउन्डेड छ। अरू दुईमा भने इन्जिनमा समस्या देखिएर उडान भर्न नसक्ने अवस्था आएको छ। निश्चित उडान अवधिपछि जहाज मर्मत सम्भार गर्नुपर्छ। जगेडा इन्जिनको जोहो भएको हुनुपर्छ। यी दुवै मामलामा निगम कमजोर हुँदा समस्या आएको हो। अर्काेतिर मर्मतका लागि हुने बोलपत्रको प्रक्रिया पनि ढिलासुस्तीले गर्दा विलम्ब भएको छ। निगमका जहाज मर्मतमा दोस्रोपटकसम्म बोलपत्र गर्नुप¥यो, दोस्रोपटकको आवेदक इजरायली कम्पनीसँग सम्झौतामा समेत ढिलाइ भयो।
घाटामाथि घाटा थपियो। नाइन–एबीटी जहाजको इन्जिनको आन्तरिक मर्मत गर्दा इन्जिन सिज भएको थियो। त्यो जेठ २३ गते ग्राउन्डेड भएको हो। निगमसँग जगेडा इन्जिनको जोहो थिएन। अनि जहाजको उडान रोकियो। अनि पुस ७ देखि अर्काे जहाज ग्राउन्डेड भयो। जहाजको उडान रोकिनु निगमलाई आर्थिक भार थपिनु हो। उडान नहुनु कर्मचारी, पाइलट, इन्जिनियर लगायत बेकामे भएर बस्नु पनि हो। अन्तर्राष्ट्रिय उडानतिर न्यारोबडी जहाजको सी चेक हुन नसक्दा उडान सीमित भएको पनि उहिल्यैदेखि हो। निगम सरकारी संस्था हो, त्यसलाई घाटा पर्नु भनेको जनतामा पनि अप्रत्यक्ष रुपमा आर्थिक भार थपिनु हो। तर निगमकोयो हालत भएको सरकारकै निकम्पापनले हो भन्ने जगजाहेर छ। यस्ता समस्या निगमका लागि नौला होइनन्। नियमित छन्। तिनको खुद्रे निदानबाट निगम तंग्रने अवस्था छैन। दीर्घकालीन रणनीति नै बनाएर धुजाधुजा ध्वजावाहकको उपचार गरिनुपर्छ। त्यसका लागि सरकारमा कटिबद्धता चाहिन्छ। दृढ इच्छाशक्ति चाहिन्छ।