सीमान्त विन्दुमा नेपाली कांग्रेस

सीमान्त विन्दुमा नेपाली कांग्रेस

नेपाली कांग्रेसको १५औं महाधिवेशन ढोकैमा छ अब। समयसीमाभित्रै गरेको खण्डमा महाधिवेशन अबको मंसिरमा हुनुपर्छ। यसैकारण पनि मोफसलका चिया चौतारामा ‘कांग्रेस चियागफ’ घनिभूत हुन थालेका छन्। कसलाई भीम रावल बनाउने कसलाई पाण्डे र तिम्सेना बनाउने ? सो क्रमको यस्ता विषय र छलफल बाक्लिनु स्वाभाविक छ। नेपाली कांग्रेसमा पनि यो बहस प्रत्यक्ष-परोक्ष चलिरहेकै छ। तर भन्नैपर्दा, नेपाली कांग्रेसमा औपचारिक रावल, पाण्डे र तिम्सेना काण्ड कमै हुने गर्छन्। सायद सोही आडमा हुनसक्छ, नेपाली कांग्रेसले आफूलाई मुलुककै ठूलो लोकतान्त्रिक पार्टी भन्ने गर्दछ। भन्ने पनि गरिन्छ, कांग्रेसको शब्दकोषमा ‘ह्विप’ भन्ने शब्द नै छैन।

पछिल्लो समय गगन थापा र विद्यमान पार्टी सभापति शेरबहादुर देउवाको कोण एकोहोरिनुलाई आन्तरिक विश्लेषकहरूले समान समीकरणको खेलको रूपमा हेरेको पाइन्छ। यो स्वाभाविक समेत थियो किनकि रवि लामिछानेको सहकारी काण्डमा भएको ‘इनक्वाइरी’लाई लिएर देउवाले थापालाई दिएको ‘थ्यांक्यू’, तत्कालीन एमाले–कांग्रेस समीकरणमा दुवैको समान सहमति, राजदूत नियुक्तिमा भएको समान छनोट तथा बीआरआईको कार्यदलमा देउवाको छनोटमा थापा पर्नुलाई एक किसिमको पूर्वानुमानका हिसाबले हेरेको पाइन्छ। यसैकारण पनि भन्न थालिएको छ, देउवा–थापा समीकरण ‘म्यासिभ’ बन्दै छ। यसलाई पुष्टि गर्ने अर्का दुई आधार पनि छन्, ती हुन् गत साउनमा केन्द्रीय समितिमा देउवा–शेखरबीच भएको ठाकठुक र कोशी प्रदेशको अधिवेशनमा शेखर कोइरालाले गगन थापाप्रति दिएको अभिव्यक्ति।

युवा डायस्पोरा र गगन

विद्यमान नेपाली कांग्रेसमा लगभग स्पष्ट रूपमा चाहिँ दुई धार रहेको देखिन्छ, कम बोल्ने र बोलिरहने। सम्भवतः गगन थापा बोलिरहने वर्गमा पर्छन्, जसलाई समर्थन प्राप्त छ। अहिले मात्र हैन, २०६२-०६३ को आन्दोलनदेखि नै। लाग्छ, चुनाव हार्नु र हराउनुमा थापाको कुनै मोह नै छैन, चाहे त्यो संसदीय दलको चुनावमा होस् वा त्यो नेपाल विद्यार्थी संघको। कोणान्तर नेपाली तथा विश्व राजनीतिको विशेषता नै हो। पछिल्लो समयको गगनको कोणान्तरले कांग्रेसको राजनीति भाइब्रेट (हल्लाउनु) गराउनुमा बदलाव चाहने युवा जमातको समर्थन र नेपाली कांग्रेस केन्द्रित थिंकट्यांकहरूको सोलो (एकोहोरो) समर्थन हो।

गगन थापाको भाषामा गनगन छैन बरु बोलक्कड देखिन्छन्, नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा। बोलक्कडको परिचय थापाले विभिन्न आयामबाट दिइसकेका छन्, नेपाली राजनीतिको डायस्पोरामा। चरम र अतिवादी विचारका धारक भनेर नेपाली कांग्रेसबाटै विरोध आउँदा पनि पात्रका रूपमा थापा कहिल्यै पनि डगमगाएका देखिन्नन्। धारणाप्रति नजरअन्दाज नगर्ने र नीतिगतभन्दा पनि कार्यगत सक्षमतामा विश्वास गर्न सक्ने पुस्ताका रूपमा नेपाली कांग्रेसका युवापुस्ताले थापालाई सहज स्वीकार्न सक्नु थापाको सबल पक्ष हो। यसमा थप निखारिन सक्नु थापाको आवश्यकता हो। पछिल्लो समय बढ्दै गएको युवा पुस्ताको राजनीतिक मोहका पात्रका रूपमा थापाले विरासत थाम्न सकेको खण्डमा खडेरी पर्दै गएको नेपाली राजनीति पाउलिन सक्ने आकलन गर्न सकिन्छ।

राजनीतिको यथोचित अवतरणका लागि तथा अन्तिम विकल्पका रूपमा नयाँ गठबन्धनको ग्रान्ड डिजाइनरका रूपमा समेत थापालाई लिइएको हो भन्ने खालको भाष्यसमेत बनाइएको छ। सायद यो सही हुनसक्छ, किनकि थापाको पहिल्यैदेखिको जोड माओवादीसँगको गठजोडले कुनै नतिजा दिन सक्दैन भन्ने थियो, जसका लागि गगन थापाले देउवासँगको टकरावमा पछिसम्म लडिरहे। हुनसक्छ, यसै कारण पनि थापाले नयाँ गठजोडको योजना गरेको हुनसक्छ। जसलाई वर्तमानमा विकसित राजनीतिले अन्तिम विकल्पको रूपमा लिएको पाइन्छ। थापा चाहन्थे, राजनीतिमा युवा प्रबुद्ध वर्गको प्रभाव हुनुपर्छ। यसै कारण पनि डा. स्वर्णिम वाग्लेलाई काठमाडौं–४ छाड्न तयार भएका थापालाई वास्तवमै घात तब पर्‍यो, जब वाग्ले देउवाको झोकमा नवगठित दल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे। तै पनि थापा रागविहीन देखिन्छन्।

विकल्प बन्न सक्छन् गगन ? 

विगतमा नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको हालिमुहाली भएको अवस्थामा शेरबहादुर देउवाको पार्टीबाट निष्कासन तथा गगन थापालाई नेपाल विद्यार्थी संघको चितवन महाधिवेशनवाट सभापति हुनबाट रोक्ने गिरिजाप्रसादका दुई अप्रिय पात्रहरू देउवा र थापा समरूपी बन्नुलाई कुनै ठूलो दाउ मान्नुपर्ने अवस्था छैन। यसबाट बरु राजनीतिको पटके दायरा फराक र उत्तरदायी बन्न सक्छ। पात्रत्वका हिसाबले गगन मात्र हैन, थप युवा पात्रहरूसमेत सक्रिय रहेको दलका रूपमा यस ‘मास बेस्ड’ दललाई लिइएको छ। तैपनि थप प्रजातान्त्रिक सुदृढीकरण यसको आवश्यक अवयव हो। दलप्रति जनताको चरम वितृष्णाको अवस्थामा नेपाली कांग्रेस आबद्ध गगन थापाहरूले थप पैरवी गर्नुपर्नेमा, सत्ताकै दाउमा अड्को–फड्कोको कोसिस गर्नु भनेको दण्डहीनतालाई यस दलले थप प्रश्रय दिनु हो।

आन्तरिक गठजोड र सबल समीकरण बन्न सकेको अवस्थामा केवल केन्द्रमा मात्र हैन, महाधिवेशनको आडमा जिल्ला स्तरबाट नै सक्षम एवं सबल युवा वर्ग भित्रिन सक्ने आँकडा कांग्रेसको चौधौ महाधिवेशनले समेत स्पष्ट दिइसकेको छ। यस्ता समयहरूमा गगन थापाहरूका विचारको बिटो रूपान्तरणकारी जनमानसले रुचाउन सके भने ‘ओल्ड स्कुल अफ थट’बाट निर्देशित कांग्रेसहरूले थापालाई अस्वीकार गर्न सक्छन्। यो भनेको ‘क्लासिकल’ नेपाली कांग्रेसलाई प्र     श्रय दिनु हो, जुन कुरा विद्यमान समयको कृत्रिम बौद्धिकताको वकालत गर्ने नेपाली कांग्रेस जमातले मान्नेवाला छैन। तर यस्ता बेरूपी विचारबाट समग्र गगन थापाहरू जोगिन सकेको खण्डमा परिवर्तन सम्भव छ भन्न अप्ट्यारो छैन। यसै कारण पनि थापा बृहत् रूपान्तरणकारी कांग्रेस धारको प्रथम विकल्पको रूपमा खडा हुन सक्छन्।

रूपान्तरित आधारको निष्कर्ष

निष्कर्षविहीनता राजनीतिको विकल्प हुनै सक्दैन। वैश्विक धरातलीय इतिहासले सो कुरा अंकित गरेका धेरै आधार छन्, जसमा अमेरिकामा अठारौं शताब्दीमा भएको विश्वव्यापी उथलपुथलमा पनि जर्ज वासिङ्टनजस्ता दमदार नेताको उदय तथा तत्कालीन भारतमा समेत राजकीय ठाँटमा हुर्किएका राहुल गान्धीको भारत जोडो अभियानका क्रममा उनले गरेका सादगीपूर्ण अभ्यासबाट जनमतमा आएको बढोत्तरीबाट नेताको उदय पक्का हुने कुरामा दुई मत छैन। वर्तमान र भविष्यको साख विकास गर्ने भनेकै शैलीमा रूपान्तरण हो, के यसका लागि नेपाली थापाहरू तयार छन् त ? यदि छैनन् भने, अभ्यास थाल्ने क्रममा ढिलाइ किन ? यी थापाहरू सूक्ष्म कुराद्वारा दिशानिर्देश हुनु जरुरी छ। यी तमाम कुराको गुणोत्तर विकासका लागि आधारशिलाहरू खडा गर्न ढिलाइ किन भन्ने प्रश्नहरू खडा हुन्छन्।

हो, पछिल्लो समयको राजनीतिक विकासक्रममा छायाँ पर्न थालेको स्वाभाविक हो। हँुदाहँुदै छायाँहरू फैलिएर कूटनीति, अर्थनीति हुँदै लम्पसार नीतिसम्म पुग्न लागेको देखिन्छ। टाउको छेक्दा खुट्टा र खुट्टा छेक्दा टाउको देखिन लागेको अवस्थासम्म पुग्दा पनि यहाँका नेतावर्ग समीकरण बनाउन र बिगार्न तल्लीन देखिन्छन्। सोच्नुपर्ने समय आइसकेको छ, मुलुकको अखण्डता, सार्वभौमसत्ता, संस्कृति, इतिहास यथावत् राख्न सकियो भने हामीले हजार वटा समीकरण बनाउन र बिगार्न पनि सक्छांै। यसका लागि नेता र जनता कहिले तयार बन्ने त ? गतिशीलताको पराकाष्टामा हजारौं दण्डहीनताका आधार निर्माण गर्न व्यस्त हामीले मुलुकका लागि समय दिने चैं कहिले होला त ? अब रूपान्तरणको नारा नेपालका दलहरूले मात्र हैन, सचेत नागरिक समाजले गर्न सक्यो भने मुलुकको कार्यान्तरणमा कुनै समय लाग्ने छैन।

(पोखरेल, सिन्धुली बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.