सुस्मिता मृत्यु प्रकरण, प्रेमीले हत्या गरेको आशंका
काठमाडौं : काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका थिइन्।
बुधबार दिउँसोसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरीमा खबर गरेका थिए। प्रहरी अधिकृत र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा होटलको ‘मास्टर की’ ले ढोला खोलेर हेर्दा उनी वेडमा मृत अवस्थामा फेला परेकी थिइन्। जुत्ता लगाएकै अवस्थामा मृत फेला परेकी खड्काको मुखबाट फिँज आइरहेको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार मंगलबार उक्त होटल पुगेका उनीहरूले देवबहादुर थापाका नाममा होटल बुक गरेका थिए। ओखलढुंगाको सिस्नेरी घर भएका देवबहादुर थापा सुस्मिताको प्रेमी भएको बुझिएको छ। थापा हाल काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए। मृतक खड्काको घर पनि आलापोटमै रहेको छ। उनी जापान जाने प्रक्रियाका लागि भाषा सिक्दै आएकी थिइन्।
प्रहरीका अनुसार देवबहादुर थापा पनि जापानमा नै बस्ने गरेको खुलेको छ। उनी गत मंसिर ३० गते मात्रै जापानबाट नेपाल आएका थिए। युवतीको मृत्युपश्चात थापा फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत गौशालाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार सुस्मिता मृत भेटिएको कोठामा केही रेडबुलका बट्टाहरू भेटिएको छ। रेडबुलमा नशालु पदार्थ वा अन्य केही विषादी खुवाएर उनका प्रेमीले हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ। सँगै गएका देवबहादुर थापा मंगलबार राति १२ बजे नै होटलको कोठाबाट बाहिर निस्किएका थिए। उनले कोठा बाहिरबाट लक गरेर युवतीको फोन समेत लिएर गएका थिए। युवकको फोन बिहीबार बिहानसम्म प्रहरीले लोकेट गरिरहेको थियो। लोकेसनका आधारमा उनी काठमाडौं बाहिर रहेको बुझिएको छ।
सुस्मिताको शरीरमा कुनै चोटपटक नहुनु, उनको फोनसमेत लिएर युवक फरार हुनु र जुत्ता लगाएकै अवस्थामा युवती मृत भेटिनुले उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ।
थापासँग प्रेम सम्बन्धमा रहेकी सुस्मिताको परिवारले प्रहरी वृत गौशालामा जाहेरी दिएको छ। उनको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारणबारे थाहा पाइने प्रहरीले बताएको छ।