सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्।
‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ,अध्यक्ष प्रचण्डले भने,‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरू र सरकारबाट त्यो महशुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’
आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा,सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराउँदै उनले भने,‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें,अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन् ।’
जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्,त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु । मैले सरकारमा रहँदा सुशासन,सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’
नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए ।
‘हिजोदेखि आजसम्म नेपाली पत्रकारिता क्षेत्रले सकारात्मक सूचना प्रवाहमा भूमिका निर्वाह गरेको छ,यो स्मरणीय छ । हिजो युद्ध,शान्ति र संविधान निर्माणको प्रक्रियामा यस क्षेत्रले खेलेको भूमिका अवस्मरणीय ठान्छु,'अध्यक्ष प्रचण्डले भने,‘यो इतिहासमा राम्रैसँग दर्ज पनि भएको छ ।’