राज्य व्यवस्था समिति बैठक
सहसचिवमा १० प्रतिशत खुला र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ति गर्न लोकसेवाको प्रस्ताव
काठमाडौं : लोकसेवा आयोगले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्तिगर्नु उपयुक्त हुने सुझाव दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफलका क्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सहसचिवमा १० प्रतिशत खुल्ला प्रतिष्पर्धाबाट पदपूर्ति गर्न सुझाव दिएका हुन्।
उनले निजामतीमा सेवा प्रवेशमा उमेर हद समावेशीमा ३७ वर्ष र खुल्लामा ३२ वर्ष राख्ने विधेयकको प्रस्ताव उचित रहेको बताए । त्यस्तै अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने व्यवस्था गर्न पनि उनले सुझाव दिए।
निजामती क्षेत्रमा ट्रेड युनियन पनि एउटा मात्रै आधिकारीक रुपमा राख्नुपर्ने उनको सुझाव छ। त्यस्तै आयोगले स्थानीय तह र प्रदेशको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव पनि संघ मातहत नै हुनुपर्ने सुझाव दिएको छ ।