एमाले नेता पोखरेलको किताब विमोचन गर्दै पूर्वराष्ट्रपति भण्डारीले के भनिन्?
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसंगतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन्। शुक्रबार काठमाडौंमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू लोकार्पण गर्दै भण्डारीले यस्तो बताइन्।
उनले सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएको धारणा राखिन्। भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा ईश्वर पोखरेलले खेलेको भूमिकाको प्रशंसा गरिन्। त्यस्तै उनले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ भन्ने मान्यता पोखरेलमा रहेको बताइन्।
कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई सही तवरले अघि बढाउन आमाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले देशलाई सामाजिक अभिभावक आवश्यक परेकाले राजनीतिभन्दा पर बसेर परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए। राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा रहेपनि राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि रहेको उनले बताए।
त्यस्तै पोखरेलले आमाहरूको नायकत्व स्थापित गर्न आफूहरूको तर्फबाट राजनीतिक हिसाबले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।