चालकको लापरबाहीले आमा र ५ वर्षीया छोरीसँगै अस्ताए बमबहादुर
बझाङ : बिहीबार राति भएका दुई जीप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाले ज्यान गुमाए। तल्कोट गाउँपालिका-४ पनाल्तका बमबहादुर धामी आमा जोगेनीदेवी उपचारका लागि सदरमुकाम चैनपुर हिंडेका थिए। दाउरा चिर्ने बेला हातमा चोट लागेर सुनिएपछि बमबहादुरले ५ वर्षीया छोरीलाई पनि संगै लिएका हिंडेका थिए।
घरबाट हिंडेको केही समयमै उनीहरू चढेको जिप सुकगाडमा दुर्घटना भयो। से१ज ८४३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनास्थल पुग्दा तीन जनाकै ज्यान गइसकेको प्रत्यक्षदर्शी रनध्वज कुँवरले बताए। ‘ट्याक्टर चालकले आत्तिएर कराएपछि गाउँलेहरू दुर्घटनास्थल पुगेका थियौं। त्यहाँ पुग्दा तीन जनाको मृत्यु भइसकेको थियो। एक सानी बालिकाको हल्का धड्कन चलिरहेको थियो। गाडी खोजेर अस्पताल पुर्याउन नपाउँदै उनको पनि मृत्यु भएको खबर आयो,' अन्नपूर्णसँग उनले भने।
सडकमा कुनै अप्ठ्यारा नरहेको उनको भनाइ छ। 'तर खोइ, के कारणले दुर्घटना भयो थाहा भएन,' उनले भने। जिपसँगै ३६ वर्षीय बमबहादुर धामी, बमबहादुर ७२ वर्षीया आमा जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृत धामी र चालक ३३ वर्षीय शम्शेर मल्ल चैनपुर नपुग्दै अस्ताए।
त्यसै राति बझाङको मष्टामा अर्को जिप दुर्घटना भयो। भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जिप दुर्घटनामा ४२ वर्षीयचालक धर्म थापाको मृत्यु भयो। चालक थापा रनाडा गाउँमा पृती कार्यमा आएका ब्राह्मण पुर्याउन भातेखोला पुगेका थिए। राति ९ बजेको समयमा भातेखोलाबाट फर्किरहेको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।
बझाङ प्रहरी प्रमुख तथा डीएसपी युवराज भण्डारीले दुबै दुर्घटनामा चालकको लापरबाही प्रमुख कारण रहेको बताए। उनले भने, ‘दुबै दुर्घटनास्थलमा म लगायत हाम्रो टोली पुग्यो। सडक दुई ठूला ट्रक सजिलै वारपार हुने खालको छ। हाम्रो प्रारम्भिक अध्ययनले चालकले मदिरा सेवन गरेको र तीव्र गतिका कारण दुर्घटना भएको देखियो।’
ग्रामीण सडकमा राति जिप चलाउन बन्देज
दुर्घटनापछि शोकमा डुबेको बझाङमा प्रहरी प्रशासन पनि गम्भीर बनेको छ। प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले सर्वपक्षीय बैठक बोलाएर साँझ ६ बजेदेखि अनिवार्यबाहेक यातायातका साधन नचलाउन निर्देशन दिएका छन्।