तादीमा बाँदर नियन्त्रण अभियान
नुवाकोट : बाँदरले किसानहरूलाई निकै दुःख दिएपछि तादी गाउँपालिकाले बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ। गाउँपालिकाले बाँदर समस्या समाधानका लागि किसानहरूलाई बन्दुक हस्तान्तरण गरेको हो।
कृषकहरूलाई बाँदरबाट बालीनालीमा हुने नोक्सानी नियन्त्रण गर्ने उद्देश्यले बन्दुक वितरण गरेको हो। गाउँपालिकाले स्थानीय किसानहरूको माग र समस्या नियन्त्रणका लागि तत्कालका लागि बन्दुक वितरण गरेको कार्यालयले जनाएको छ।
पालिका अध्यक्ष सन्तबहादुर तामाङ र उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ लगायतले किसानहरूलाई बाँदर नियन्त्रणका लागि बन्दुक हस्तान्तरण गरेका हुन्।
बाँदर नियन्त्रणका लागि बन्दुक पाएपछि किसानहरुलाई बाँदरहरूको संख्याका कारण बाली नष्ट हुने समस्याले पीडित स्थानीय कृषकहरूले राहत पाउने विश्वास गरिएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ। तादी गाउँपालिकाले नियन्त्रणको लागि बन्दुक हस्तान्तरण गर्नुका साथै अन्य वैकल्पिक उपायहरू पनि अवलम्बन गर्ने योजना बनाएको बताएको छ।
स्थानीय आवश्यकता र मागलाई ध्यानमा राखी यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रयास गरिने गाउँपालिकाले जनाएको छ।