विद्यार्थीको अर्गानिक करेसाबारी

विद्यार्थीको अर्गानिक करेसाबारी

नवलपुर : कावासोतीस्थित जनविकास विद्याश्रममा कक्षा ७ मा अध्ययनरत सन्दीप शर्मालाई बिदाको दिन पनि स्कुल जान हतारो हुन्छ । तर, बिदाको दिन किताबकापी बोकेर होइन, कुटो र कोदालो लिएर स्कुल जान्छन् । विद्यालयले अर्गानिक करेसाबारी बनाइरहेको छ । दिवा खाजामा प्रयोग गर्ने तरकारीलगायत सागपात त्यही करेसाबारीमा उत्पादन हुन्छन् । त्यसकै लागि उनी बिदाको दिन पनि स्कुल जान्छन् । 

‘हामीलाई श्रम गर्न पनि सिकाएको छ, बिदाको सदुपयोग पनि भएको छ,’ उनी भन्छन,‘ आफ््नो खाजा आफैं जुटाउन पनि सहज भएको छ ।’ दिवा खाजामा बजारिया (बाहिरका) सामान प्रयोग गर्नुभन्दा आफैंले उत्पादन गरेका अर्गानिक वस्तु प्रयोग गर्दा स्वास्थ्यलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । उनीजस्तै विद्यालयको ईको क्लब, जुनियर रेडक्रस सर्कल र बाल क्लबमा आबद्ध विद्यार्थी बिदाको दिन विद्यालय पुग्छन् । शिक्षक र अभिभावकको रोहबर र सहयोगमा करेसाबारीमा श्रम गर्छन् । 

प्रधानाध्यापक प्रेमप्रसाद न्यौपानेले विद्यालयले सुरु गरेको अर्गानिक करेसाबारी अभियान प्रभावकारी भएको बताए । उनले भने, ‘बाबुनानीहरूलाई सरकारले दिने दिवा खाजाको बजेट अत्यन्त न्यून छ, त्यसले मात्र उनीहरूलाई पुग्दैन । थप पौष्टिक खाजा दिनका लागि हामी आफैंले यो अभियान सुरु गरेका हौं’, न्यौपानेले भने । न्यौपानेले यस कार्यक्रमका कारण विद्यार्थीको यसप्रति रुचि बढेको मात्र नभई श्रम गर्ने संस्कारको समेत विकास भएको बताए । ‘सरकारले विद्यार्थी हाजिर भएको दिनमा प्रतिविद्यार्थी १५ रुपैयाँमात्र दिवा खाजाबापत दिन्छ । अहिलेको समयमा यो पर्याप्त छैन । त्यसकारण हामीले विद्यार्थीकै सहभागितामा यो कार्यक्रम चलाएका हौं’, उनले भने । न्यौपानेले अभिभावकको समेत समर्थन र सहयोग रहेको भन्दै कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । ‘कावासोती नगरपालिकाले समेत यस कार्यक्रममा सहयोग गरेको छ, नगरपालिकाकै सहयोगमा सुरु गरेका हौं । अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम चलेका छन्’, न्यौपानेले भने । कावासोती नगरपालिकाले यस वर्ष २२ वटा विद्यालयमा विद्यालय करेसाबारी कार्यक्रम लागू गरेको छ । नगरपालिकाले प्रतिविद्यालय २५ हजार रुपैयाँ सुरुवातमा करेसाबारी सञ्चालनका लागि अनुदान दिएको छ । 

कावासोती नगरपालिकाकै त्रिभुवन बाल मावि ढोकीमा विगत चार वर्षदेखि यो कार्यक्रम सञ्चालित छ । विद्यालयका प्रधानाध्यापक दीपकनाथ घिमिरेले सीपसँगै सिकाइको रूपमा यो कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भने, ‘घरघरमा करेसाबारी, खाने आफ्नै तरकारी’ भन्ने नाराका साथ यो अभियान सञ्चालन गरिरहेका छौं ।’ उनले यस कार्यक्रममा सहभागी विद्यार्थीले आफ्नो घरमा पनि करेसाबारी बनाउने गरी उनीहरूलाई सीप सिकाएको बताए । ‘विद्यालयको करेसाबारीमा उत्पादित वस्तु दिवा खाजामा प्रयोग गरेर पनि बढी भएको हामीले बेचिरहेका छौं, यसले हाम्रा विद्यार्थीलाई माटोलाई प्रेम गर्न सिकाएको छ । उनीहरूलाई श्रम गर्नुपर्छ भनेर सिकाएको छ’, उनले भने । उनले कार्यक्रमबाट विद्यार्थी र अभिभावक सबै उत्साहित रहेको बताए । ‘एक त यसले विद्यार्थीमा श्रम गर्ने संस्कारको विकास हुँदै गएको छ, अर्को यसले उनीहरूकै लागि खाजा जुटाउन पनि सहज भएको छ’, उनले भने । 

उनले यस कार्यक्रमले विद्यार्थीको पढाइमा असर नगर्ने बताए । ‘बिदाको दिनमा र शुक्रबार अतिरिक्त क्रियाकलापको दिनमा विद्यार्थीले करेसाबारीमा काम गर्ने भएकाले पढाइलाई असर गर्दैन, बिदाको दिनमा सबै आउन अनिवार्य हैन, पालो मिलाएर काम गर्छन्’, उनको भनाइ छ ।  

वर्षमा एकपटक विद्यार्थीले फलाएको तरकारी र फलफूलसम्बन्धी प्रतियोगिता पनि विद्यालयले सञ्चालन गर्दै आएको उनले बताए। 

कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले विद्यार्थीलाई सीपसँग जोड्न यो कार्यक्रम प्रभावकारी भएको बताए। ‘हामीले किताबी ज्ञान मात्र हैन, व्यावहारिक शिक्षा पनि दिनुपर्छ भन्ने ठानेर विद्यालय करेसाबारी अभियान सञ्चालन गरेका हौं’, उनले भने।  पाण्डेले विद्यालयहरूको खेर गइरहेको जमिनको सदुपयोग हुने ठानेर नगरपालिकाले यो कार्यक्रम सुरुवात गरेको बताए। ‘विद्यार्थीलाई सानैदेखि माटोको सुगन्धसँग जोड्न, उनीहरूलाई     श्रम गर्ने बानीको विकास गर्न, कृषिप्रति अपनत्व महसुस गराउन यो कार्यक्रम प्रभावकारी देखियो’, पाण्डेले भने, ‘यो कार्यक्रमले विद्यार्थीको चौतर्फी क्षमता विकासमा सहयोग पगेको मात्र नभई उनीहरूले खाने खाजामा समेत सहयोग पुगेको छ। अर्गानिक उत्पादनमा यसले सहयोग पुगेको छ, विद्यालयबाट नै यो अभियान सुरु गर्दा यसले सिंगो समाजलाई नै अर्गानिक उत्पादनसँग जोडेको छ।’ 

कावासोती नगरपालिकाले अर्को वर्ष थप चार वटा विद्यालयमा यो कार्यक्रम लागू गर्ने जनाएको छ। नगरपालिकाले क्रमैसँग नगरभरिका सबै विद्यालयमा विद्यालय करेसाबारी अभियान सुरु गर्ने पाण्डेले बताए। नगरपालिका भित्र सामुदायिक र संस्थागत गरी ६२ वटा विद्यालयहरू सञ्चालित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.