अत्यासलाग्दो सवारी दुर्घटना
काठमाडौं : आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि चार महिनामा देशभर सवारी दुर्घटनाबाट ७ सय ७८ जनाको मृत्यु भयो। प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार आव २०८१ को साउनदेखि कात्तिकसम्म देशभर ७ हजार ४८ वटा सडक दुर्घटना घटे। जसमा २ हजार ६४ जना गम्भीर घाइते भएका छन्। १० हजार बढी सामान्य घाइते भए। औसतमा एक दिनभित्र ६३ वटा सवारी दुर्घटना हुन्छन्। देशभर प्रत्येक दिन ८८ जना घाइते हुन्छन् भने ७ देखि १० जनाको ज्यान जान्छ। यो संख्या हरेक दिन फरक–फरक हुन्छ।
यस्तै, उपत्यका ट्राफिक कार्यालय बग्गीखानाले दिएको तथ्यांकअनुसार उपत्यकामा मात्रै औसतमा हरेक दिन ४ जनाको मृत्यु हुन्छ। सडक तथा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा छ। उपत्यका ट्राफिक कार्यालयको तथ्यांकअनुसार आव २०८१/८२ को पहिलो पाँच महिनामा काठमाडौंं उपत्यकामा २ हजार ४५ वटा सवारी दुर्घटना भए। जसमा ७५ जनाले ज्यान गुमाए। दुर्घटनाकै कारण १०० जना गम्भीर घाइते भएका छन्। २ हजार ७ सय ५८ जना सामान्य घाइते भएका छन्। ज्यान गुमाउनेमा ६० जना पुरुष छन् भने १५ जना महिला छन्।
पाँच महिनामा सवारी दुर्घटना भएर मृत्यु हुनेमा सबैभन्दा बढी ३६ वर्षभन्दा माथि उमेर समूहका छन्। ७५ जना मृतकमध्ये ४१ जना ३६ वर्षमाथिका छन्। यस्तै १७ देखि ३५ वर्षभित्रका ३० जना दुर्घटनामा ज्यान गुमाए। ४ जना १६ वर्षमुनिका छन्।
उपत्यका ट्राफिक कार्यालय बग्गीखानाका डीएसपी दीपक गिरीका अनुसार सवारी दुर्घटनामध्ये उपत्यकामा सबैभन्दा बढी दिउँसोको समयमा दुर्घटना हुने गर्छ। दुर्घटनाको तथ्यलाई हेर्दा दुईपाङ्ग्रे सवारीसाधन बढी दुर्घटना हुन्छन्। दोस्रो नम्बरमा जिप, कार भ्यान, यसपछि बस र माइक्रो दुर्घटनामा पर्छन्।
चालकको लापरवाही प्रमुख कारण
सवारीसाधन चलाउने चालकले होसियारी अपनाउन नसक्दा दुर्घटनाका घटना धेरै घट्छन्। प्रहरीको तथ्यांकअनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही नै हो। तीव्र गति, मादकपदार्थ सेवन र यान्त्रीक गडबडी र ओभरटेक, पैदलयात्रुको लापरवाहीजस्ता कारणले दुर्घटना हुने गर्छन्।
उपत्यका ट्राफिक कार्यालय बग्गीखानाका डीएसपी दीपक गिरी भन्छन्, सवारीसाधन चालकले ओभर कन्फिडेन्ट हुँदा पनि सवारी दुर्घटना बढेका छन्। दुर्घटना कम गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भएको बताउँदै उनले मापसे र ओभरस्पिडमा दिनहुँँ २ देखि ३ सय जना कारबाहीमा पर्ने गरेका छन्। दुर्घटनापश्चात् मृत्यु भएकाको परिवार होस् या गम्भीर घाइते भएकाहरू हुन निकै कष्टकर जीवन भोग्नुपर्ने अवस्था आउँछ। सवारी लिएर सडकमा जाँदै गर्दा चालक नै होसियार हुने हो भने दुर्घटना आफैंं कम हुने गिरीले बताए। उनी भन्छन्, ‘पैदलयात्रा गर्ने यात्रुहरू पनि सडकमा सचेत हुनैपर्छ। मोटरसाइकल वा स्कुटरमा पछाडि बस्नेहरूले हेलमेट लगाउने गर्दा दुर्घटना भइहाले पनि असर कम हुने गर्छ।’
अन्डरपास, ओभरहेड ब्रिज, बहुतले पार्किङ, फ्लाइओभर सडक संरचना र स्वचालित प्रणालीबाट मात्र सहरको सवारी व्यवस्थापन सम्भव हुन्छ। सडकमा सवारी चाप थेगिनसक्नु छ, संरचनामा सुधार हुन नसक्दा पनि दुर्घटना बढेको छ। सडक सवारीसाधन र पैदलयात्रीले मात्रै प्रयोग गरेका छैनन्। विरोधका कार्यक्रम र प्रदर्शन पनि सडकमा हुँदा चाप बढेर काठमाडौंंको सडक अस्तव्यस्त भएको ट्राफिक प्रहरीको निष्कर्ष छ। अस्तव्यस्त सडक र ट्राफिक जामले चालकहरू समयमा नै गन्तव्यमा पुग्न सक्दैनन्। कामको प्रेसरमा सवारी हुइँक्याउँदा दुर्घटना हुने जोखिम हुन्छ।