‘मै एक मै अनेक’ कृतिभित्रका कुरा लेख्नु हो भने १० हजार शब्द कोर्दा पनि अपूर्ण हुन्छ भन्ने महसुस गरें, यी एक हजार शब्दमा एउटा कुनो पनि कोट्टिएन भन्छु।
समाज हाम्रै। देश हाम्रै। मात्र हामी नै हाम्रा बन्न सकेनौं। समाज बनाउन, देश बन्नाउन त हामी पो बन्नु पर्दोरै’छ। हामी बने देश बन्छ। सायद, अन्त बनेका देशहरू तिनकै देशवासी जनता बनेर बनेछन् क्यार ! लाग्छ, कठै अगुवा भए। बने समाज बन्दोरै’छ। समाज बनाउने अगुवा कहिले आमाको (नेपाल आमा)को गर्भधारण हुँदो हो...? हामी त अगुवा बन्ने रहरका भडुँवा बनेछौं क्यार...! किनकि बाटोमा पाइला छैन। पाइलामा बाटो छैन। देश त छैनै छैनको कुबेर बनेछ।
निबन्धकार तेजेश्वरबाबु ग्वंगःले ‘मै एक मै अनेक’को राजमार्ग टेकेर समृद्ध देशको सपना देख्नुभएको छ। विश्वप्रसिद्ध व्यक्तित्व नेपोलियन बोनापार्टले भनेका थिए, ‘असम्भव शब्द मूर्खका शब्दकोशमा मात्र हुन्छ।’ जो दिग्विजय गर्ने अभियानमा होमिइरहने र मच्चिरहे। ग्वंगःले नेपाली नेतालाई उनको सपना र सत्प्रयाससँग जोड्दै मजैले घच्घच्याएका छन्, ‘राजनीतिक योद्धा उनलाई युद्ध जित्नु थियो। युद्धमा जे पनि हुन सक्छ। हार पनि, जित पनि। राजनीतिक हार नितान्त एकोहोरो ढिपीका कारण बन्दो रहेछ। ढिपीका कारकतत्व लिँडेढिपी, महत्वाकांक्षा हुँदोरै’छ। आफ्नो गोरुको बाह्रै टक्का लिँडेढिपीका जरो हुँदोरै’छ। बोनापार्टले आफ्नो गोरुको बाह्र टक्का भाउ र दाउमा रत्तिभर टसमस गर्न चाहेनन्।’
राजनीतिक युद्धमा क्रूरतामात्र सफलताका धार बन्न नसक्ने जिकिर गर्दै निबन्धकारले ‘जे पनि सम्भव हुँदोरहेछ’ शीर्षकमा नेपोलियनलाई वाटर लुको नतिजाले पिण्ड चढाएको सन्दर्भ सुनाएर हाम्रा नेताका आँखा खोलिदिएका छन्। यस्तै, सुगौली सन्धिले बहादुर शाहलाई निर्बल बनाएको उदाहरण दिएर झस्काउँदै थपेका छन्, ‘राजनीतिक युद्धमा भूमि हडप्नुमात्रै पर्याप्तिँदो रहेनछ। विजय झण्डा फहराइएका भूमि पुत्र–पुत्री र पैत्र–पैत्री सबैका मन जित्न सक्नुपर्दोरै’छ।’ यस निबन्धमा ग्वंगले आफूलाई माझेर खरो उतारेका छन्। आफूलाई खरो उतार्नेले अरूलाई के गर्दो हो ? हो, अरूलाई अझ खरो उतार्ने बाटो देखाउँछ र दिन्छ खरो उत्रन चेतावनी पनि। त्यसैले सायद उनी दसकौं दशक पहिले एकपटक पीताम्बरध्वज खातीले भनेको वाक्य झल्यास्स सम्झन्छन् र निबन्धमा समेट्छन्, ‘राजनीतिमा जे पनि सम्भव हुन्छ।’
सन्दर्भ दोस्रो विश्वयुद्धताकाको हो। बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले संसद्मा सम्बोधन गर्दै भनेका थिए, ‘मलाई रक्तबल दिनुस्, म जित दिउँला। विजयध्वजा फहराउनेछु।’ बलविवेक प्रयोग गरी उनले जनमत पाए। ‘उनी त्यसयुद्धका प्रवीण आचार्य र युद्धपाडं्गी ठहरिए। चर्चिल चर्चित भए, रहे’, ग्वंग लेख्छन्, ‘हिटलर र मुसोलिनीहरू अवशानको खाडलमा पुर्नुपुरिए।’ यसरी नेपालका नेतालाई गतिलो पाठ पढाएका छन्, निबन्धहरूमा ग्वंगःले। जित्दैमा मातिनु र हार्दैमा आत्तिनु हुँदैन भन्ने भनाइलाई पुष्टि गर्दै उनले यसो भने जसबाट हाम्रा नेताले अझै गतिलो पाठ सिक्लान्, ‘दोस्रो विश्वयुद्धले जिताएको बेलायतलाई आफ्नै उपनिवेशहरूले मुक्ति संग्राम मच्चाए, हराए। कहिल्यै घाम नअस्ताउने बेलायती शासन अधिपत्यमा औंसीका रात झप्क्याइदिए। जे पनि सम्भव हुँदोरहेछ तर राजनीतिमा।’
ग्वंगःको तेस्रो आँखाको निष्कर्ष हुनुपर्छ राजनीति र नेताबारेको, ‘यी भ्यागुत्ता, यी साँप अनि बिच्छीहरू एकले अर्कोलाई भोजन बनाउँछन्। सशंकित आपसमा आफैं यिनीहरू !’ लाग्छ, उनले ‘आँखाका पाइलाहरू र पाइलाका आँखाहरू’ शीर्षक जुराएर निबन्ध यसै लेखेका होइनन्। उनका शब्द, वाक्य र तिनका भावमा घोत्लिऔं न हामी पनि एकछिन, ‘लाग्छ, आँखाबिनाका खुट्टाहरू र खुट्टाबिनाका आँखाहरू जताततै लरखरिएका छन्। पाइतालामा आँखा र आँखामा पाइतालाहरू नगाँसिएर युगै लर्बरिएको छ। मन त भन्छ, आँखा झिकेर खुट्टाहरूमा जडिदेउ। प्रकृति भन्छन्, असम्भव। अनुभूति सुसाउँछ। समस्या आँखामा पाइला र पाइतालामा आँखा नहुनुको अभिशाप यो युगको।’ लाग्छ, निबन्धकार ग्वंगः युगद्रष्टा हुन्। उनको तेस्रो आँखामात्र खुलेका छैन, छैठौं इन्द्रीय पनि छर्लंगै खुलेको छ पानी परेको आकाश झैं।
आममानिसलाई निबन्धकार आँखा लगाएर विवेक प्रयोग गर्न सुझाउँछन्। विवेकमा पाइला चाल्न र पाइला पाइलामा विवेक प्रयोग गर्न पनि सम्झाउँछन्, निबन्धमार्फत। नेपाली पाइलाका पाइतालामा आँखा नलागेका÷नलगाएका कारण समग्र जनजीवन कष्टकर भएको बुझ्छन्, बुझाउँछन् उनी। भन्छन्, ‘कष्टप्रद उस्तै आँखाहरूमा कतै पाइलै नभए पनि जीवन कष्टप्रद। पाइला र आँखाका विकर्षण। नेपाली जीवनबीच घर्षणै घर्षण।’ ग्वंगःको अध्ययन र बुझाइ अलि पृथक् लाग्छ। किनकि उनले सबै नेपालीलाई ‘नेपाली’ भएर आउन आग्रह गरेका छन्। कतिसम्म भने उनले आँखाका दिव्यदृष्टि आऊ भनेका छन्। लेखेका छन्, दिव्य दृष्टिका आँखाहरू पाइला पाइला आऊ, नेपालीका घाऊ देख्ने आँखाका पाइला आऊ !
बडो गजबको निबन्ध छ, किताबकै नाम– मै एक मै अनेक। शीर्ष निबन्ध यसभित्र डुबुल्की मार्ने हो भने पाठक अझ आह्लादित बन्छ। शब्दभित्रको संसारमा यसरी आकर्षित हुन्छ कि मानौं अक्षर, शब्द र वाक्य चुम्बक हुन्। उनका शब्द जस्ताको तस्तै, ‘मै एक मै अनेक। मभित्र उर्लंदो एक लहर–प्रलापको लहर। म एक। अनेकिन्छु। समेटिन्छु यहाँलाई, उहाँलाई, तहाँलाई, सबै सबैलाई। एकै म भइदिन्छु अनेक। यस अर्थमा अनेकिनु व्याप्तिनु बराबर बन्छ। व्याप्ति अनेक। सीमाबद्ध रहनु एक। म सीमाभित्रको एक। सीमाबाहिरका सीमाहीन अनन्त–अनेक। विश्वरूप–रूप, सरूप, अनन्त रूपहरूका रूप। रूपमय मयरूप।’ शब्दमा तब शक्ति हुन्छ, जब सर्जक सिर्जनात्मक बन्छ। कसरी भनौं कि ग्वंगः बेजोड सर्जक होइनन् भनेर ! कसरी नबुझौं कि ग्वंगः वाक्य होइन, शब्द र अक्षरभित्र घण्टौं वार्तालाप गरेर निकालेको निष्कर्षमात्र पाठकलाई उपहार दिँदैनन् भनेर !
थोरै भाव, धेरै प्रभाव हुन्छ ग्वंगःको लेखनीमा। बोल्न पाए अर्थात् स्टेज पाए, घण्टौं बोल्नेहरू छन् यहाँ। लेख्न पाए, ६०–७० त के १०० भन्दा बढी शब्दका वाक्य लेख्नेहरू छन् यहाँ आफूलाई ‘भव्य’ ठान्ने साहित्यकार अनि प्राध्यापक यहाँ। कसैलाई दोष लगाएर, कसैको खोट देखाएर केही लिन वा दिन खोजिएको होइन यहाँ। तिनले आत्मसमीक्षा गर्न जरुरी ठानेर यति भनेकै हुँ। थप भन्दैछु, तिनले लेख्दा होस् वा बोल्दा छोटा, स्पष्ट, मीठा र गहन अर्थ दिने र भाव बोक्ने वाक्य लेखून्। सक्दैनन् भने पढून्, ग्वंगका किताब, कम्तिमा निबन्ध संग्रह ‘मै एक मै अनेक।’
गुरु थापून् धेरै स्रष्टाले उनलाई। लेख्छु भनेर हुँदैन, सर्वस्वीकार्य लेखन हुनुपर्छ सर्जकको। ओजस्वी शब्द खोज्न र सन्दर्भ मिलाएर लेख्न सक्नुपर्छ उसले। सबै सर्जक सिर्जनशील छैनन्, बन्दैनन्। तिनले ग्वंगको सिर्जनात्मक क्षमतालाई हेरुन्, पढून्, बुझून्, अध्ययन र अनुसन्धान गरुन् र आफूलाई तिखारुन्। कुनै कृति पढ्नु भनेको आफूलाई तिखार्नु पनि हो। यो निबन्धकृतिले आमपाठकलाई आफू सर्जक बन्न र देशभक्त बनेर देश बनाउने प्रेरणा दिएको छ।
‘मै एक मै अनेक’ कृतिभित्रका कुरा लेख्नु हो भने १० हजार शब्द कोर्दा पनि अपूर्ण हुन्छ भन्ने महसुस गरें, यी एक हजार शब्दमा एउटा कुनो पनि कोट्टिएन भन्छु। ‘अस्तित्वको ओजस्वी ओज’, ‘आपतभित्रको आनन्द’, ‘प्रिय सत्य अप्रिय सत्य’, ‘मनको बह सबैसित पोख’, ‘सफलताभित्रका सार्थकता’, ‘मरेर जिएकाहरू’, ‘निष्पट्ट अन्धकारदेखि उन्मुक्त उज्यालो’ जस्ता शीर्षकमा ४४ उत्कृष्ट निबन्ध पढ्न पाउँछन् पाठकले यसभित्र। सुन्दर स्वदेश पब्लिकेसनले २ सय ७६ पृष्ठको यो कृतिलाई ६०० मूल्य राखेर बजारमा ल्याएको छ। सम्पादक श्रीओम श्रेष्ठले ग्वंगःको गहिराइमा न्यातापोल शीर्षकमा ग्वंगः र उनको लेखनबारे लेखेका छन्, ‘हुनुपर्छ अक्षरका धनी असाध्यै। नदेखिने पनि छ त्यत्तिकै उचाइ उहाँभित्र। खोज्नुहुन्न त्यसैले पूर्णतामा देखाउन आफूलाई। अमूल्य खानी नदेखिएजस्तै बाहिर माटोमा। हुनुहुन्छ उत्खनन गर्न बाँकी महपूर्ण इतिहासजस्तै।’