भोजपुरको यो धार्मिक एवं पर्यटकीय स्थलमा सुम्निमा–पारुहाङ अनि बिजुवाको मूर्ति बनाउने एउटा परियोजनाले उनलाई मोहित बनायो। सुन्नासाथ बोलिदिए, ‘म ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दिन्छु।’
राई माइलाले गाउँ छोड्यो रे
...ए फर्क भनिदेऊ न।
‘गाउँ आएको बाटो’ फिल्ममा धरतीमा रेखी लाउँदै, जंगल–झडी मास्दै उकालो–ओरालो पुगेका ‘बाटा’ लाई ‘भिलेन’ मानिएको छ। तर, धेरै पाइताला खियाएपछि गाडी र गाडी गुड्ने बाटो देख्न पाएका यी राई माइलाको गाउँ छोडाइ अलि फरक थियो।
भोजपुरको तिवारी भन्ज्याङ खेसाङमा ३ कक्षाको प्रावि मात्र थियो। माक्री हाङ अर्थात् लीला राईले ४ देखि च्याङ्ग्रे स्कुल पुग्नु पर्यो पढ्न। करिब डेढ घण्टा बाल–शरीर दौडाउँदै। ८ कक्षामा चढ्दा त्यो स्कुल महँगो लाग्यो। र, सस्तो खोज्दै भर्ना भए याकुस्थित विश्वप्रेमी माविमा।
‘याकुमा तुलनात्मक शुल्क कम थियो’, उनी भन्छन्। त्यहाँ पुग्न पनि उस्तै–उस्तै अर्थात् दौडिएर डेढ घण्टा लाग्थ्यो। बर्खामा हंग्राए खोलाको छङछङ बाढी तर्दै स्कुल जानु पथ्र्यो पढ्न। बाटाभरि पिपिरीका पात बजाउँदै र अर्काका बारीका बोडी मर्काउँदै विद्यार्थीहरू हिँड्थे लामा–लामा बाटा। त्यहीमध्ये एक न थिए उनी पनि।
उस जमानामा विद्यार्थी मात्रै बनेर पढ्न कहाँ पाइन्थ्यो र ? नुन बोक्न धनकुटाको हिलेसम्म तीन दिन लगाएर आउ–जाउ गर्नुपथ्र्यो। ‘आरुखर्कको उकालो चढ्दाचढ्दै एक दिन त भुतुक्कै भएँ’, उनले त्यो क्षण कहे, ‘कट्टी स्कुलमा बेन्चमा सुतेर रात बिताइयो।’
स्कुल जाँदाको धपेडी उस्तै हुन्थ्यो। साँझ लखतरान भएर घर पुग्यो। बिहान स्कुल कुद्नै हतार। थकित पढाइ। २०४५ मा सेन्ट अप टेस्ट परीक्षै फेल भए उनी। २०४६ मा फ्याट्टै टेस्ट मात्र होइन, एसएलसी नै पास गरिदिए। र, पलाए उनका उच्च शिक्षाका पँखेटा।
पढेर खै के पो हुन्छ र !
खेसाङमा झगरमान राईको नाम र मान राम्रै थियो। भारतीय गोर्खा सैनिक उनको घरमा लाउन–खान हम्मे थिएन। तीन छोरा र दुई छोरीमध्ये माइलो लीला पढाइमा अलि बढी दिल दिन्थे। त्यही भएर उनलाई धरानमा काकाकहाँ पढ्न पठाइयो।
महेन्द्र क्याम्पसमा आईए भर्ना भए। पढाइ सकिँदै थियो, धेरै युवाबीच उस्तै चर्चा चल्थ्यो, ‘आ, पढेर खै के पो हुन्छ र ? बरु जाउँ विदेश।’
उनलाई पनि त्यसले कानको भित्तैसम्मै छोयो। एक जना एजेन्ट समाते र अमेरिकाको यात्रा तय गरे।
सोचेजस्तो छैन रहेछ अमेरिका
एजेन्टले भनेझैं टिकट आयो। न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा उत्रिँदा अर्कै लोकमा पुगेको अनुभूति भयो पहिला त। साथमा थिए साथी विजय बुढामगर।
‘ट्याक्सी समायौं। टुटेफुटेको अंग्रेजीमा सस्तो होटलमा पुर्याउन भन्यौं। उसले त म्यानहटनको अति महँगो होटलमा पो पुर्याएछ’, लीलाले अमेरिका यात्राको सुरुआती लीला कहे, ‘साथमा १५ सय डलर थियो। होटलले रातकै सय डलर ठटायो।’
‘गाउँ आएको बाटो’ फिल्ममा धरतीमा रेखी लाउँदै, जंगल–झडी मास्दै उकालो–ओरालो पुगेका ‘बाटा’लाई ‘भिलेन’ मानिएको छ। तर, धेरै पाइताला खियाएपछि गाडी र गाडी गुड्ने बाटो देख्न पाएका यी राई माइलाको गाउँ छोडाइ अलि फरक थियो।
नजिकै एउटा बंगाली रेस्टुरेन्ट रहेछ। त्यहाँ त्यो ट्याक्सी ड्राइभर खाना खाँदो रहेछ। उसैले त्यहाँ आएका नेपालीसँग चिनजान गराइदियो। ‘होटेलमा महँगो पर्छ, मोटेलमा बस्नुपर्छ’, ती नेपालीले सल्लाह दिए। र, मोटलमा एक रातको २० डलरमा बस्ने उपाय सुझाइदिए।
त्यहींबाट एक बंगाली पनि चिनिए। उनले फुर्सदमा आफ्नो स्टोरमा सघाउने सर्तमा लङ आइल्यान्डको आफ्नो अपार्टमेन्टमा बस्न दिए। र, तरिका पनि सिकाए, ‘म्यानहटन जानू। पसल–पसलमा लुकिङ फर जब भन्नू।’
त्यसै गरे। काम खोज्दै एउटा भारतीय रेस्टुरेन्टमा पुगेका थिए, एक नेपाली भेटिए। उनले नजिकैकै करी एन्ड हरी रेस्टुरेन्टमा पठाए। त्यहाँ कामदार चाहिएको मात्र होइन, खुसीको कुरा नेपाली सुपरभाइजर नै पो रहेछन्।
‘विजयसँग कामको अनुभव रहेछ। उनले बोस ब्वाई (थाल उठाउने) काम पाए’, लीला ती दिनमा फर्किए, ‘मैले भने डिस वासिङ (भाँडा माझ्ने।’ सातै दिन १४ घण्टाका दरले काम गर्दा हात लाग्थ्यो हप्ताको १८० डलर।
गोराका देशका लीलाहरू देख्दा–देख्दै पहाड दौडिएका लीलाले चाँडै चलख्याइँ सिके। त्यहाँ भाँडा माझेर धेरै बसेनन्। एउटा इम्प्लोइमेन्ट एजेन्सीमार्फत कोरियन रेस्टुरेन्टमा बोस ब्वाईको जागिर पाए। तलब थियो दैनिक ३० डलर। विस्तारै ग्रोसरीमा काम पाए। सेल्स ब्वाईमा ‘अपग्रेड’ भए।
अनि बने पसले माइलो
खेसाङे माइलो लीलालाई पसलको जागिरले धोको मरेन। झाँक चल्यो– आफैं पसल किन नचलाउने ? अमेरिका गएको तीन वर्ष भएको थियो। सन् १९९९ मा पत्रिकाका विज्ञापनका पाना–पाना पल्टाए। लङ आइल्यान्डको एउटा पसल बिक्रीमा भन्ने सूचनाले तान्यो।
साथमा थियो मात्र ५ हजार डलर। पसलको दाम रहेछ ६० हजार। पार्टनर बन्ने भए गणेश राई। उनीसँग पनि उत्तिकै पैसा मात्र थियो। २० हजार डलर डाउन पेमेन्ट गर्ने भए बाँकी ऋणमा पाउने भयो। सरसापट गरे। क्रेडिट कार्डको सीमाले भ्याउनेसम्म सबै झिके। अनेक उपाय गरेर पसल किनेर छाडे। र, बने– पसले माइलो।
केही वर्षमा पार्टनरलाई बिदा गरेर एकलौटी मात्र बनाएनन्, केहीअघि २५ लाख डलरमा त्यो पसल भएको घरै किनिसके। अर्थात्, २५ वर्षभन्दा लामो समयदेखि उनलाई त्यही पसलले अमेरिकामा स्थापित गराएको छ।
अब उनलाई सानोतिनो खर्चको चिन्ता हुन्न। सामाजिक काममा फ्याट्ट बोलेर झ्याप्प पैसा हाल्न आँट आउँछ। र, गर्दैछन् त्यही प्रवासको बास। हेर्दा महँगो डलर नडराई फुत्त–फुत्त तिरेको देखिन्छ। तर, त्यसभित्रको कष्ट भोग्नेलाई थाहा हुन्छ। देशको मायाले कति भतभती पोल्छ भन्ने विदेशमा बस्नेलाई
सोध्नुपर्छ। जाति, भाषा, संस्कृतिको महŒव कति हुन्छ भन्ने परदेशिएका लीलाहरूलाई बढ्ता ज्ञात हुन्छ।
‘मलाई एउटा कुराले सधैं सताइरहन्थ्यो। किराँत राईका धर्म संस्कृतिका परम्परा, प्रचलनहरू ग्रन्थमा लेखिएका थिएनन्। हरेक संस्कारमा बिजुवाले फलाक्थे। त्यसैलाई संस्कार मानिन्थ्यो। तर, त्यो बिजुवा मर्दा धेरै कुरा मरेर जान्थ्यो’, उनले भने, ‘त्यही भएर यसलाई संग्रह गर्नुपर्छ भन्ने लाग्यो मलाई। त्यसैले मैले किराँतहरूको जन्मदेखि मृत्युसम्मको संस्कार समेटेर एउटा डकुमेन्ट्र बनाएँ।’
त्यसको नाम राखे– जीवन चक्र।
त्यससँगै उनले थाहा पाए, गाउँमा आफू पढेको प्रावि भवन भत्किएर बिजोग छ। ११ वर्षअघि ३ लाख रुपैयाँ खर्च गरेर नयाँ भवन बनाइदिए। २०७२ को भूकम्पले त्यसलाई चर्काए पनि विद्यार्थीहरू अझै त्यसमै पढ्दै छन्।
धर्मको मर्म
किराँत जातिको मुख्य एवं पवित्रथलो मानिन्छ साल्पा सिलिचुङ। भोजपुरको यो धार्मिक एवं पर्यटकीय स्थलमा सुम्निमा–पारुहाङ अनि बिजुवाको मूर्ति बनाउने एउटा परियोजनाले उनलाई मोहित बनायो। सुन्नासाथ बोलिदिए, ‘म ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दिन्छु।’
साथमा भएको ७ लाख ११ हजार १ सय ११ रुपैयाँ दिइहाले पनि।
‘तर, त्यहाँको समितिका पदाधिकारीको व्यवहार र नियत धार्मिक संस्था सुहाउँदो लागेन’, लीलाले तीतो पोखे, ‘त्यही भएर बाँकी ४ लाख रुपैयाँ भने दिन मनले मानेन।’
पछि, धरानका मेयर हर्क साङपाङले त्यस्तै परियोजना अघि सारेर चन्दा उठाउन थाले। त्यहाँ पनि सुम्निमा पारुहाङको मूर्ति बनाउने प्रस्ताव आयो। अमेरिकामा लीला सक्रिय भएर चन्दा उठाए। उठेको १४ लाख रुपैयाँमध्ये उनले आफैंले दिएको ४ लाख थियो।
कोभिड कहर
अमेरिकामा कोभिड यसरी आतंक बनेर फैलियो, औषधीको हाहाकार भयो। अस्पतालमा भर्ना पाउन असम्भव बन्यो। उपचार र टायलेनोल (सिटामोल वर्गको औषधी) नपाएर ज्यान जाने धेरै भएको समाचार फैलियो।
एक लिम्बू युवाको मृत्यु भएको पहिलो घटनाले नेपाली समुदायलाई पीडा दियो। धेरै नेपालीले टायलेनोल नपाएको व्यथा सामाजिक सञ्जालमा हाल्न थाले।
‘मेरो पसल भएकाले हप्ताको दुई चोटी होलसेल पसलमा जान्थें। त्यहाँ २ बक्स टायलेनोल अनलोड गरिरहेको देखें’, उनले भने, ‘मलाई दिनुहुन्छ ? भनेर सोध्दा पसले दिन तयार भयो। मैले किनें र गाडीमा राखें।’
एउटा ठूलो बक्सभित्र साना–साना ७२ बक्स हुन्छन्। हरेक साना बक्समा ५० वटा औषधी हुन्छन्। करिब ३ हजार डलरको औषधी किनेपछि उनले फेसबुकमा लेखे, ‘मसँग टायलेनोल छ। एक परिवारलाई एक बक्सका दरले निःशुल्क उपलब्ध गराउने छु। सम्पर्क राख्नुहोला।’
गैरआवासीय नेपाली संगठन, जनजाति संगठन आदिले उनीबाट लगेर संस्थागत रूपमै बाँडे। व्यक्तिगत ढंगबाट लिन आउने पनि धेरै भए।
त्यहीबीच किराँतेश्वर मावि धरानका प्रधानाध्यापक योगेन्द्र पालुङाले एक दिन फोन गरे, ‘स्कुल बन्द छ। विद्यार्थीलाई दूर शिक्षा दिनु छ। तर, उनीहरूसँग मोबाइल छैन।’
‘म पठाउँछु मोबाइल’, लीलाले बोलेनन् मात्र, ६० वटा पठाइदिए पनि।
देशमा विपत् पर्दा सहयोग जुटाएर सामाजिक काम गर्ने धेरै भइटोपले। तर, नेपालीलाई पर्दा आफ्नै खर्चमा सेवा गर्न तत्पर नेपालीमा दर्जिए भोजपुरे राई माइला।
इमानदार माइलो
२०२४ अक्टोवर ९। लीला आफ्नो ग्रोसरी स्टोरको खाताबाट २० हजार अमेरिकी डलर निकाल्न न्युयोर्कको एल्मन्टस्थित बेथपेज फेडेरल क्रेडिट युनियन (बैंक) गए। त्यो बैंकको सानो शाखामध्ये पर्छ। अलि ठूलो परिमाणमा पैसा निकाल्न चाहेकाले बैंककी म्यानेजर स्वयंले एउटा पोकामा राखेर दिइन्।
उनी बोकेर पसल पुगे। ज्वाइँसहित गन्न थाले।
‘दाइ पैसा त बढी छ’, ज्वाइँले भने।
‘होइन होला’, उनले भने, ‘राम्रो गन्नूस्।’
फेरि गन्दा बढी नै पाइयो।
भएछ के भने म्यानेजरले २० का नोट भनेर दिएका सबै पैसा १०० डलरका परेछन्। अनि, ८० हजार डलर (करिब १ करोड १० लाख रुपैयाँ) बढी रहेछ।
हतारिएर उनले श्रीमतीलाई सुनाए।
‘खुरुक्क पैसा बोक्नुहोस्,’ श्रीमती राधाले भनिन्, ‘बैंक हिँड्नुस्।’
‘म पनि त्यही त भन्दैछु’, उनले भने, ‘सकेसम्म छिटो गएर फिर्ता दिउँ।’
‘तपाईं धन्य हुनुहुन्छ,’, पैसा ग्रहण गर्दै बैंक म्यानेजर क्रिस्टिन द्वाकिन्सले भनिन्, ‘नत्र म ठूलो आपतमा पर्ने थिएँ।’
प्रवासको पोल्ने व्यथा
सपनाको सहर अमेरिका कति संघर्षपूर्ण छ र सफलता कति गह्रुँगो छ भन्ने उदाहरण हुन् लीला। पराइ देशमा पौरखै गरिए पनि घर फर्किन नपाउनुको पीडा कति हुन्छ, त्यो पनि सहेका छन् यी माइलाले।
सन् २०१६ मा नेपाल आउँदा उनले परिवारका पाँच मान्यवर गुमाइसकेका थिए। बजु शोभामाया राईको २०६१ पुस २८ गते निधन भयो। त्यसको ६ वर्षमा २०६७ भदौ २७ गते बुवा झगरमान परमधाम भए। त्यसको एक वर्षमै २०६८ असोज १० गते काका रामबहादुर राई बिते। अर्को वर्ष २०६९ माघमा फुपू दुर्गामाया र फेरि अर्को वर्ष २०७० चैतमा दाजु मिलनकुमार परलोक भए।
‘मैले बजु, बुवा, काका, फुपूदेखि दाजुसम्म गुमाएँ’, उनी त्यो दिन पीडादायी ढंगमा सम्झन्छन्, ‘त्यो दुःखद् क्षणमा घर फर्किन सकिनँ।’
उनी अमेरिका उड्दा गुल्मीकी राधा मगरसँग प्रेममा थिए। केही वर्षमै उनले राधालाई पनि अमेरिका आउने आफ्नैजस्तो तरिका सिकाइदिए। उनी पनि त्यही उपायबाट न्युयोर्क पुगिन्। दुवैले बिहे गरे। उनीहरूका दुई छोरा छन्।
घरजम उतै भए पनि ग्रिनकार्ड सहज थिएन। त्यसले लामो प्रक्रिया लियो। त्यसका लागि आवेदन गरेका थिए। छोडेर नेपाल फर्कौं, त्यही पनि गुम्ने। त्यत्तिकै फर्किन नमिल्ने। अमेरिका आएको ठ्याक्कै २० वर्षमा बल्ल ग्रिन कार्ड मिल्यो र घर जाने बाटो खुल्यो।
तर, पनि उनी सदा शान्त छन्। दुःख मान्दैनन्। भन्छन्, ‘राम्रो गरौं, ढिलो–छिटो कर्मको फल मिल्ने रहेछ।’