पशुपतिमा प्रेसिडेन्ट कार्टर !
भारतबाहेक अन्य मुलुकका उच्च पदस्थ व्यक्ति, राजनीतिज्ञ तथा शीर्षनेताहरू पशुपतिनाथ मन्दिरको दर्शन एवं त्यस क्षेत्रको औपचारिक भ्रमणका लागि आएको विरलै मात्र पाइन्छ। अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर सन् २००४ पछि ‘कार्टर सेन्टर’को कामको सिलसिलामा बराबर नेपाल आइरहन्थे। नेपालमा झन्डै एक दशकभन्दा बढी समयदेखि चलेको माओवादी सशस्त्र द्वन्द्वले ल्याएको अन्योलपूर्ण अवस्थालाई सहजीकरण गर्न राष्ट्रपति कार्टरले पटक–पटक नेपालको भम्रण गरेका थिए। उनको संस्थाको तर्फबाट ठाउँ–ठाउँमा हुने गरेको सहयोगको चर्चा सञ्चारमाध्यममा बराबर सुन्दै आएका छौं। कार्टर सेन्टरले नेपालमा संविधान सभा निर्वाचनको पर्यवेक्षणको रूपमा काम गर्ने कुरा सार्वजनिक भए पनि त्यस विषयमा अनेक शंका–उपशंकाहरू तिनताका चलेको सम्झन्छु।
त्यसो भएता पनि पहिलो संविधानसभाको चुनावको घोषणा भएको केही समयपछि नै ‘कार्टर सेन्टर’ एकाएक चर्चामा आयो। पहिलो संविधान सभाले संविधानको निर्माण गर्न असफल भएपछि २०७० मंसीर ४ गते दोस्रो संविधानसभा निर्वाचन भएको थियो। त्यही क्रममा नागरिक हक–अधिकारको रक्षा र प्रजातन्त्रका लागि चेतनामूलक कार्यक्रमहरूमा कार्टर सेन्टरको सहयोगी भूमिका रहनेजस्ता विषय सञ्चारमाध्यमबाट वेला–वेलामा सुनिएको भएता पनि शुरुदेखि नै ‘कार्टर सेन्टर’ सेवामुखी संस्था हो या राष्ट्रिय मामिला या क्षेत्रीय मामिलामा समर्थन राख्ने कुन संस्था हो, त्यसैअनुरूप सम्बन्धित निकायसँग आबद्धता लिएर काम गर्नुपर्छ भन्नेजस्ता कुराहरू तिनताका नआएको होइन।
नेपालप्रति सद्भाव र आत्मीयता देखाउने अमेरिकाका पूर्वराष्ट्रपतिहरूमा जिम्मी कार्टरको नाम अग्रपंक्तिमा आउँछ। नेपालप्रति उनको आत्मीयता उनी राष्ट्रपति छँदैदेखि देखिएको हो। बीपी कोइरालालाई जेलजीवनबाट छुट्कारा दिलाउन होस् कि माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउने कामको पहल होस्, ती सबैमा उनको सकारात्मक भूमिका रहेको कुरालाई बिर्सन सकिन्न।
कार्टर पहिलोपटक पर्यटकका रूपमा सन् १९८५ मा नेपालमा आएका थिए। त्यसबखत उनलाई नेपालको संस्कृति र प्रकृतिले निकै लोभ्यायो। यसैले गर्दा नै होला पछि उनी नेपालको शान्ति प्रक्रियामा जोडिन पुगे। अमेरिकी सरकारले नेपालको माओवादीलाई आतंककारी घोषणा गरेको र माओवादीसँग सीधा पत्राचार गर्नसमेत बन्देज गरेको अवस्थामा उनीहरूलाई संवादमा ल्याउन तथा आफ्नो सरकारलाई माओवादीप्रति लचिलो हुन जुन प्रयास र योगदान अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले पुर्याए, त्यो एक किसिमले नेपालको शान्ति प्रयासका लागि कोसेढुंगासरह बनेको छ।
उनी नेपालमा पटक–पटक आए।
नेपालमा भएका राजनीतिक परिवर्तनसँगै सन् २००८ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनको अनुगमन र त्यसअघिको अन्योलपूर्ण परिस्थितिमा ९० वर्षे वयोवृद्ध कार्टर एक वर्षमा तीन पटकसम्म काठमाडौं आए। स्वास्थ्य, मानवाधिकार र लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा बाँचुञ्जेल जीवन समर्पण गरे। त्यसै कारण सायद सन् २००२ को नोबेल शान्ति पुरस्कार पाउन सफल भए। राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि उनले विश्व शान्ति, मानवाधिकार र स्वास्थ्यका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नेहरू विश्वभर छन्। उनलाई यी सारा काममा सघाउन उनकी श्रीमती रोजालिनले ठूलो भरथेग गरिन्।
पहिलो संविधानसभा भंग नहोस् र त्यही संविधानसभाबाट नेपालको संविधान आओस् भन्ने चाहनाले होला सन् २०१३ अप्रिलमा पूर्वराष्ट्रपति जिग्मी कार्टरको नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको रहेछ। त्यही भ्रमणका बेला २०६९ चैत्र २५ गते आइतबारका दिन बिहान पशुपतिनाथ मन्दिर क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको कार्टर सेन्टरबाट थाहा पाएँ। त्यसको झन्डै महिना दिन जतिअघि हुँदो हो जर्मनीस्थित हाइडलबर्ग विश्वविद्यालयका प्रोफेसर डा. याक्सल मिखायलको मसँग काठमाडौंमा भेट हुँदा जिग्मी कार्टरको नेपाल भ्रमण हुन लागेको र त्यसबेला पशुपति क्षेत्रमा पनि भ्रमण हुने सम्भावना रहेको आफूले थाहा पाएको कुरा बताएका थिए।
कार्टरलाई पशुपति मन्दिर क्षेत्रको पथप्रदर्शन गराउन पहिले उनलाई आग्रह गरिएको रहेछ। तर त्यसअघि नै तय भएको पूर्वनिर्धारित कार्यक्रमको कारण उनले असमर्थता जनाएकाले मलाई फोन आउन सक्छ है भन्ने संकेत चाहिँ त्यतिखेरै गरेका थिए। त्यसबेला मिखायलले यसका लागि मेरो नाम सुझाएको पनि जानकारी गराएका थिए। जतिबेला म पशुपति क्षेत्र विकास कोषमा आबद्ध नरहेकाले औपचारिक भ्रमणमा कोषले नै सहयोग गरिहाल्लान् नि भन्ने जवाफ दिएको थिएँ। पछि ‘निम्ता आएछ भने हेरौंला नि त’ पनि भनें। हामीबीच यसरी कुराकानी भएको करिब दुई हप्तापछि अमेरिकी दूतावासबाट फोन आयो। फोनमा उनीहरूले श्रीमतीसहित जिग्मी कार्टर नेपाल भ्रमणमा आउने र सोही समयमा करिब एक डेढ घण्टा पशुपति मन्दिर क्षेत्रको भ्रमणको कार्यक्रम तय भएको जानकारी गराउँदै सहयोगका लागि आग्रह गरे।
अमेरिकाको पूर्वराष्ट्रपतिले पशुपति मन्दिर क्षेत्रको गर्ने भ्रमणको अर्थ विशेष हुने र यसले पशुपति क्षेत्रको महŒव बढाउन निकै उपयोगी हुने सम्झें। नाइँ कसरी भनुँ ? टेलिफोनमै मेरो स्वीकृति चाहेपछि मैले ‘हुन्छ’ भनिदिएँ। त्यसपछि पारिश्रमिक कति दिनुपर्ने होला भनेर कुरा गर्न खोज्दै थिए। मैले कुरा सुनिसकेपछि आफ्नो धारणा राखिदिएँ पहिलो कुरा त म पेसेवार पथप्रदर्शक होइन, दोस्रो पशुपति क्षेत्रको भ्रमणमा कसैलाई सहयोग गर्दा आजसम्म कसैबाट कुनै पारिश्रमिक लिने गरेको छैन।
अमेरिकाको लसएन्जेलस्थित पिट्जर कलेजका विद्यार्थी ‘नेपाल सेमेस्टर’ कार्यक्रमअन्तर्गत हरेक वर्ष ३–४ महिना नेपालको गाउँघरमा जान्छन् र अध्ययन गर्छन्। गाउँ जानुअगाडि नेपालको धर्म, संस्कृति, संस्कार, भूगोल, इतिहास र यहाँको राजनीति र परम्पराको बारेमा काठमाडौंमा ‘नेपाल सेमेस्टर’ नामले कार्यक्रम चलाउँछ। त्यो काम थालेकै निकै भइसक्यो। त्यस कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरू गएर ओरेन्टेसन दिने सन्दर्भमा धेरै पटक जाने मौका पाएँ। त्यसमा कुनै कार्यक्रममा पनि मैले पारिश्रमिक लिइनँ।
पिट्जर कलेजको नेपालस्थित कार्यालयको आतिथ्यतामा अमेरिकाकै शिक्षा क्षेत्रसँग सम्बन्धित पदाधिकारी वर्षको दुई–तीन पटकजस्तो विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको भ्रमणमा आउँछन्। यो तीसौं वर्षदेखि चलिरहेको छ। त्यसमा पनि पारिश्रमिक लिने गरेको छैन भने अझ यो त नेपालप्रति माया–सम्मान गर्ने अमेरिकाका पूर्वराष्ट्रपतिले विश्व सम्पदासूचीमा सूचीकृत पशुपतिनाथ र पशुपति क्षेत्रको भ्रमण गर्न चाहनु नै पनि ठूलो कुरा हो। यस भ्रमणले पशुपति क्षेत्रको महŒवलाई अरू उजागर गर्न मद्दत पुग्ने हुँदा यस्तो कार्यमा सहभागिता हुन पाउनु नै महŒवपूर्ण सम्झेर पारिश्रमिकको कुनै जरुरी छैन भनें। त्यसो भनिरहँदा पनि टेलिफोनमा केही लिइदिन पटक–पटक आग्रह गर्दै थिए, त्यसलाई सोझै इन्कार गरें।
त्यसको केहीदिनमै कार्टर सेन्टरको तर्फबाट अनुरोधलाई स्वीकारेकोमा धन्यवाद पत्र र कार्यक्रमको विवरण आयो। पहिलो कुरा त इतिहास, संस्कृतिको विद्यार्थी भएको तथा पशुपति मन्दिर क्षेत्रको बारेमा केही अध्ययन–अनुसन्धान गरेको कारण पहिले पनि धेरै विदेशीलाई पशुपति क्षेत्रको भ्रमण गराइसकेकाले आत्तिनु पर्ने लागेन। तैपनि मनको कुनै कुनामा अमेरिकाको पूर्वराष्ट्रपतिको भ्रमण भएकाले मेरो अंग्रेजी भाषाको स्तरले भ्याउला कि नभ्याउला ! उहाँको साथमा आउने ठूलो समूहमाझ बोल्दा मेरो स्वरले साथ देला कि नदेला ! भन्ने चिन्ता लाग्न थाल्यो। त्यस्तै अतिथिहरूले के–कस्ता प्रश्नहरू सोध्ने हुन्, त्यसको सही जवाफ दिन सकुँला कि नसकुँलाजस्ता अनगिन्ती आशंकाहरूले सताउन थाल्यो।
भ्रमणको समय आउनलाई केही दिन बाँकी नै थियो। सपनामा पनि तिनै विषयहरू आएर कहिलेकाहीँ अनिँदो पनि बनायो। त्यति विशिष्ट व्यक्तिको भ्रमण सफल र उत्कृष्ट कसरी बनाउने होला ? भन्ने कुराले पनि सताइरह्यो। अतिथिले सोध्न सक्ने सम्भावित प्रश्नहरूबारे केही चिन्तन पनि गर्न थालें। भ्रमणको करिब तीन दिनअघिजस्तो लाग्छ भ्रमणको रुट, समय तालिका र सुरक्षाबारे जानकारी लिन तथा त्यहाँको रेकी गर्न कार्टर सेन्टरका केही पदाधिकारीसहित अमेरिकी राजदूतावासका सुरक्षासम्बद्ध कर्मचारीहरू मलाई भेट्न देवपाटनमा आए। भ्रमण गर्ने रुट, कहाँ स्वागत गर्ने ? कुन ठाउँबाट भ्रमणको सुरुआत गर्ने ? कुन–कुन ठाउँमा जाने ? भन्नेबारे तत्तत् ठाउँमै गएर जानकारी गराइदिएँ। उनीहरूले त्यहीअनुसार कार्यक्रम मिलाउने गरी आउने र तयारी अवस्थामा रहन आग्रह गरे र फर्के।
त्यसपछि पशुपति क्षेत्र विकास कोषमा पूर्वराष्ट्रपतिको भ्रमणबारे जानकारी गराएँ। तात्कालिक सदस्य–सचिवको मोबाइल उठेन। कोषका तात्कालिक कोषाध्यक्षलाई जानकारी गराई सहयोग गर्न आग्रह गरें। पूर्वराष्ट्रपतिको भ्रमणलाई विचार गरेर विशेष सरसफाइको व्यवस्था गर्न र विशिष्ट अतिथिलाई भव्य रूपले स्वागत गर्दा राम्रो होला भन्ने सुझाव पनि दिएँ। उहाँहरूले खासै महŒव दिएजस्तो लागेन। तैपनि तात्कालिक कोषाध्यक्षले सहयोगका लागि प्रयत्न गर्छु भन्नुभयो। पशुपति क्षेत्र विकास कोषका लागि यो राम्रो अवसर थियो। तर त्यसको उपादेयता नबुझेजस्तो लाग्यो।
भ्रमणको अघिल्लो रात त खासै निद्रा पनि लागेन। यसलाई तनाव भनौं या कामप्रतिको जिम्मेवारी ! मैले अझै खुट्ट्याउन सकेको छैन। कुनै जिम्मेवारीयुक्त काम गर्नुपर्ने अवस्थामा यस्तै चिन्ता लागिरहन्छ। सपना–जपना त्यसकै हुन्छ, काम राम्ररी पूरा नभएसम्म। आखिर भ्रमणको दिन पनि आइपुग्यो। भ्रमण टोलीमा कार्टरको श्रीमान्–श्रीमती, कार्टर सेन्टर र नेपालका लागि अमेरिकी राजदूतसहित राजदूतावासका केही पदाधिकारी गरेर झन्डै चौध–पन्ध्रजनाको सहभागिता थियो।
भकुनटोलस्थित दक्षिण द्वारमा स्वागत गरेर झंकेश्वरीस्थानलाई बीचमा पारेर सबैको परिचय आदान–प्रदान गर्ने काम भयो। त्यसपछि त्यहीँबाट भ्रमणको सिलसिला सुरु गरें। भ्रमण दलका अरू सदस्यलाई भन्दा मुख्य अतिथि पूर्वराष्ट्रपतिलाई विशेष ध्यान दिन पहिले नै मलाई जानकारी गराएको थियो। सकेसम्म स्वर ठूलो बनाएर सबैले सुनून–बुझून् भने पनि सबैलाई हुनेगरी स्वर पुर्याउन हम्मे–हम्मे नै पर्यो। उसै त मेरो सानो स्वर।
त्यहीबीच पूर्वराष्ट्रपतिले एउटा ह्यान्डमाइक चाहिने रहेछ भन्नुभयो। त्यो कुरालाई सबैले महसुस गरे। खुला ठाउँमा ठूलो समूहमा सबैले सुन्नेगरी बोल्न पनि सहज थिएन। पूर्वराष्ट्रपति भए पनि सम्बोधनको क्रममा सबैले ‘योर एक्सिलेन्सी प्रेजिडेन्ट’ भन्ने चलन रहेछ। त्यसबेला मुख्यतः मैले पशुपतिको अर्थ र महŒव, त्यहाँको संक्षिप्त इतिहास, त्यहाँको सांस्कृतिक महŒव, हिन्दुहरूका त्रिदेव पशुपतिनाथको विषयमा जानकारी गराएँ। उहाँले ध्यानपूर्वक सुन्नुभयो।
दक्षिणपट्टिबाट प्रवेश गरी झंकेश्वरी मठ, शंकराचार्यमठ, महास्नानघर, प्रतापेश्वर, रुद्रगारेश्वरबाट पशुपतिनाथ मन्दिरको बाहिरी दर्शन गराई त्यहाँबाट पुनः पशुपतिनाथ मन्दिरको बाहिरी पश्चिम ढोकामा पुर्याएँ। त्यहाँबाट पशुपतिनाथको पुजारी परम्परा, दर्शनविधि आदिबारे पनि अवगत गराएँ। त्यही ठाउँमा कोषको तर्फबाट स्वागत सत्कार गर्ने र भिजिटर्स बुकमा केही लेखाउने भन्ने सल्लाह थियो। तर सोअनुसार व्यवस्था भने हुन सकेको रहेनछ। एक किसिमले भन्ने हो भने सर्वसामान्य पाहुनालाई पनि देखाउन लाज लाग्ने किसिमको थोत्रो मेच कोषाध्यक्ष स्वयं आफैं पछि लागेर ल्याउँदै थिए। त्यत्रा कर्मचारीहरू कोषमा कार्यरत छन्।
तर पाहुना आउँदा के कसो गर्नु उपयुक्त हुन्छ ? त्यो काम गर्न त्यहाँ कोही पनि उपस्थित नदेख्दा खल्लो महसुस गरें। पाहुनाहरूले के सम्झे होलान् ? भन्ने सम्झी अझ रातोपिरो नै भएँ। लाजले शिर झुकेको भित्र–भित्रै अनुभव गरें।
त्यसबेलासम्म ‘भिजिटर्स बुक’ पनि नभेटिएर खोजी भइरहेको देख्दा कोषको अवस्था कति कमजोर रहेछ प्रस्ट झल्किन्थ्यो। फलतः अन्तिममा आएर भिजिटर्स बुकमा हस्ताक्षर गर्ने कार्यक्रमलाई रद्द गर्नु पर्यो। त्यहीँ कोषका तात्कालिक कोषाध्यक्ष हुनु भएकाले परिचय गराएँ। उहाँले रुद्राक्ष र फूलको माला दुवै दम्पतीलाई लगाइदिनु भयो। पूर्वराष्ट्रपतिलाई मैले मन्दिरभित्र पो लैजान्छु कि भन्ने लागेको रहेछ।
मैले जन्मजात हिन्दुले मात्र अहिलेसम्म मन्दिरभित्र प्रवेश पाउने परम्परा छ भनें। नेपालमा हिन्दुको परिभाषाभित्र वैदिक, बौद्ध, जैन र सिख तथा त्यसअन्तर्गतका सबै सम्प्रदाय पर्ने कुरा राखें। त्यहीबेला उहाँले ‘भगवान् त सबैका लागि बराबर होइन र ?’ भनी प्रश्न गर्नुभयो। मैले ‘भगवान् सबैका लागि बराबर हुनुहुन्छ। तर आदिकालदेखि मन्दिरमा गैरहिन्दुलाई प्रवेशमा रोक लगाइएको र जन्मजात हिन्दुले मात्र प्रवेश पाउने’ भनी जानकारी गराएँ। उहाँले ‘अब त ईश्वर सबैका लागि बराबर हुन् भनेर जान पाए मानिस–मानिसबीच सद्भाव बढ्ने थियो’ भनी विचार राख्नुभयो।
यो सही कुरा हो, यसबारे बहस र छलफल चल्दै गइरहेको छ भन्ने जवाफ दिएँ। पूर्वराष्ट्रपतिले यो ‘मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत भएपछि त यो विश्वकै धरोहर भएन र ?’ भनी जिज्ञासा राख्दा मैले पहिले–पहिले त्यस्तो बन्देज सायद थिएन भनें। सन् १३४९ मा तात्कालिक बंगालका सुल्तान समसुद्दीन इलियासले मन्दिरभित्रै गएर तोडफोड गरेकाले कतिपय मन्दिरहरूमा गैरहिन्दुलाई प्रवेशमा रोक लगाएको हो भनें। त्यसपछि कुरा अर्कैतिर मोडियो।
भ्रमणका बेलामा मैले अंग्रेजी भाषामा बोल्दा सायद ‘युज्ड टु’ शब्द धेरै प्रयोग गरेंछु क्यारे ! उहाँले उक्त शब्द कम प्रयोग गर्दा राम्रो हुन्छ भनी सल्लाह पनि दिनुभयो। न कुनै अंग्रेजी स्कुलको पढाइ न विदेशको विश्वविद्यालयमा अध्ययन, यहाँ आक्कल–झुक्कल अंग्रेजी भाषाको व्यवहार हुने हो। मातृभाषा हुनेले बोलेकोजस्तो मेरो भाषा के होस् ! आफ्नै प्रयत्न र प्रयासले जे जति भएको हो, त्यत्ति न हो।
उक्त भ्रमणमा टोलीका अन्य कुनै पनि सदस्यले कुनै विषयमा प्रश्न गर्नु भएन। उहाँहरू ध्यानपूर्वक शान्तसँग सुनिरहनु भयो। सम्मानित व्यक्तिको भ्रमण भएकाले होला, त्यो उहाँहरूको अनुशासनभित्र पर्छ जस्तो मनमनै लाग्यो। ‘पिन ड्रप साइलेन्स’मा उहाँहरू पछि–पछि लागिरहनुभएको थियो। कस्तो अनुशासन ! कस्तो प्रोटोकलको पालना ! पूर्वराष्ट्रपति जिम्मी कार्टर निकै शान्त र सरल, बताएको कुरा ध्यानपूर्वक सुन्ने, चाहिनेबाहेक नचाहिने प्रश्न नगर्ने, जतिखेर पनि प्रसन्न मुद्राको स्वभावको पाएँ। साथै धेरै सुन्ने थोरै बोल्ने बानी रहेको बुझ्न गाह्रो परेन।
त्यसपछि त्यहाँबाट फर्केर पञ्चदेवल, वृद्धाश्रमको बाहिरी भाग, वत्सलेश्वरी मन्दिरको प्रांगण, आर्यघाट हुँदै शिवालयको एक–एक गरेर दर्शन गराएँ। वरपरका घाट एवं बाग्मतीको संक्षिप्त वर्णन गरी भष्मेश्वरघाटलाई पुलबाटै देखाएँ। त्यस्तै, टाढैबाट चितामा जलिरहेका लास र नेपालमा हुने अन्तिम संस्कारको दर्शन र परम्पराको बारेमा पनि केही बताएँ। त्यहाँबाट फर्किने क्रममा नानकमठ नजिक पुगेपछि उहाँले तपाईंसँगको सम्झना चाहिन्छ भन्दै तस्बिर खिच्न भ्रमण दलको फोटोग्राफरलाई भन्नुभयो। ऊ तयारी अवस्थामै थियो।
सुरुमा उहाँ र मेरो अनि उहाँले श्रीमतीलाई पनि डाकेर तीन जनाको तस्बिर खिच्न लगाउनु भयो। त्यहीबेला कोषका तात्कालिक सदस्य–सचिव मर्निङवाकको भेषभूषामा आर्यघाटतिरबाट आउँदै हुनुहुँदो रहेछ। मैले नजिक डाकेर परिचय गराएँ। तर भ्रमणप्रति उहाँले खासै चासो दिएको देखिनँ। उहाँ त खुसी हुनुपर्ने थियो, आफ्नो क्षेत्रमा आई पूर्वराष्ट्रपतिले भ्रमण गरेकोमा। कोषलाई जानकारी गराएकै हो। कोषाध्यक्षको सहभागिता त रहेको थियो। सदस्य–सचिवलाई त्यसबारे थाहा थिएन होला भन्न मिलेन।
करिब सवा घण्टा जति समय व्यतीत भइसकेको थियो। अब त्यसलाई छोट्ट्याउने विचारले पञ्चदेवल दक्षिणको मूल बाटो हुँदै दक्षिण ढोकामा पुर्याएँ, जहाँ कार्गेडसहित कारहरूको लस्कर प्रतीक्षामा थियो। फर्कने बखत धन्यवाद साटासाट भयो। मैले नेपाल आउँदै गर्नुहोला, नेपाल–अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ र उपयोगी बनाउन तपाईंजस्तो राजनेताको योगदान महŒवपूर्ण हुनसक्छ भनें।
उहाँले ‘हो भन्ने संकेत’ टाउको हल्लाएर स्वीकार्नु भयो। बिस्तारै उहाँको कार अगाडि अरू भ्रमण दलका सदस्यको पछाडि हुँदै प्रहरीहरूको सुरक्षाको साथ भ्रमण दल फक्र्यो। लामो समयदेखि के होला ? कसो होला ? भनेर मनमा उकुस–मुकुस भइरहेको जिम्मेवारीलाई सफलतासाथ निर्वाह गरें भन्ने भावले मनलाई शीतल बनायो। ठूलो भारी बिसाएजस्तो भयो। पूर्वअमेरिकी राष्ट्रपतिको पशुपति मन्दिर क्षेत्रको भ्रमण सकिएपछि महिना दिनदेखिको गह्रौं जिम्मेवारी र बोझ सकिएको महसुस गरें। धेरै अनिँदा रातहरू बितेको सम्झेर बल्ल छ्यांग भएजस्तै लाग्यो। हुन पनि ठूलै परीक्षामा उत्तीर्ण भए झैं लाग्यो। ठूलो चुनौतीलाई स्वीकार गरेर त्यसबाट आफू लाभान्वित भएको महसुस भयो।
पशुपतिनाथ मन्दिर क्षेत्रको भ्रमणको विषयमा उतिबेलै कार्टर सेन्टरको बुलेटिनमा पूर्वराष्ट्रपतिको भनाइलाई उद्धृत गरिएको छ (भोलिपल्ट, आइतबार, अप्रिल ७, २०१३)– हामीले बिहान सबेरै हिन्दुहरूको चहलपहलले भरिएको पशुपतिनाथ मन्दिर क्षेत्रको भ्रमण गयौं, जुन ६०० एकडको भूमिमा फैलिएको छ। पानीको प्रवाह घट्दै गइरहेको बाग्मतीको किनारमा मृतक परिवारका सदस्यहरूले शुद्धि गरिरहेको तथा शवको दाहसंस्कार गर्ने कार्यको टाढैबाट अवलोकन गर्यौं। प्रत्येक दिन त्यहाँ लगभग २५ वटा शवको दाहसंस्कार हुने रहेछ। शवलाई दाउराले जलाउने कार्यको प्रतिस्थापन विद्युतीय शवदाहको स्थापनाले हुने आशा गरिरहेका छन्। हामी भक्तजनको भीडको उत्सुकता र उत्साहबाट प्रभावित भयौं।’
त्यसैको करिब एक हप्ता जतिपछि होला ‘कार्टर सेन्टर’ लेखिएको खाममा घरमा एउटा डकुमेन्ट आएको रहेछ। खोलेर हेरें, त्यसमा कार्टर दम्पती र म तथा कार्टरसँग बसेको सानो र ठूलो गरी दुईवटा तस्बिर चिनोको रूपमा हस्ताक्षर गरी पठाएको रहेछ। त्यसलाई जतनसाथ एल्बममा राखेको छु। शतायुको जीवन्त जीवन बाँचेर समाजसेवा, मानवता प्रवर्द्धन र विश्वशान्तिका लागि आशा लाग्दा अनेक कामहरू सम्पन्न गरी २९ डिसेम्बर २०२४ आइतबारको दिन उहाँको भौतिक शरीर यस संसारबाट सदाका लागि विश्राम लियो। यस घडीमा उहाँको आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवान् श्रीपशुपतिनाथले प्रदान गरुन् भनी प्रार्थना गर्दछु।