रसिलो जीवनका लागि रजनोवृत्ति बहस

रसिलो जीवनका लागि रजनोवृत्ति बहस

मानिसले जति आफ्नो समस्यामा चासो दिन्छ, त्यति अरूको समस्यामा दिँदैन, जुन स्वाभाविक पनि हो। त्यसैले महिला स्वयंले पनि आफ्नो अवस्थाबारे स्पष्ट भएर परिवारका सदस्यलाई थाहा दिन जरुरी हुन्छ।

मानव शरीर विज्ञानमा शरीरका हरेक अंगको सम्पूर्ण खोज र अध्ययन सकियो। त्यसको पनि लामो समयपछि मात्र अन्तमा अध्ययन भएको मानव अंग हो, पाठेघर। यही पाठेघर र हर्मोनको अन्तरसम्बन्ध रहेको महिनावारी चक्रमा आउने रजनोवृत्तिले महिलाको जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने गर्छ। तर यी विषयमा कुरा बुझ्न बुझाउन अझै पछि परिरहेका छौं।

हरेक महिलाको जीवनमा महिनावारी सुक्दै गर्दा रजनोवृत्ति प्रवेश गर्छ। यो अवस्था कति समय रहन्छ र कति गाह्रो बनाउँछ ? त्यो व्यक्तिअनुसार फरक हुन्छ। स्त्रीरोग विज्ञहरूका अनुसार, सबैलाई गाह्रो बनाउँछ भन्ने त होइन तर धेरैलाई गाह्रो गराउँछ । जति बुझ्यो झन् कठिन लाग्ने महिनावारी र रजनोवृत्तिका यस्ता कुराले हजार तर्कना ल्याउँछ। महिनावारी हुँदाको समयमा हामी छुट्टै जीवन बाँच्छौं। महिनावारीसँग जोडिएका विभेदजन्य व्यवहारले थिचिएको महिनावारी भारी बिसाउन पाएको छैन, झन् रजनोवृत्तिको बोझले थिचिसक्ने रहेछ। यी नै भोगाइहरूमा प्रत्येक महिलाका आआफ्नै कथा छन्, दुखाइ छन्।

महिनावारी हँुदा, सुक्न लाग्दा र सुकेपछि महिलाको शरीर, मन र जीवनसँग जोडिएका पीडा र अन्तरसम्बन्धका धेरै कुरा सुन्न, सुनाउन बाँकी नै छ। अझै कति समय लाग्ला सुन्न अनि सुनाउने ठाउँ पाउन ? यही प्रश्नको उत्तर जान्न, बुझ्न र खोज्न केही समययता महिला सवालमा रेडियो कार्यक्रमको अन्तर्वार्ता गर्दा सम्बन्धित व्यक्तिहरूसँग रजनोवृत्तिको अनुभवबारे एउटा प्रश्न थप्न थालेको छु। दुई दशकभन्दा लामो समय राष्ट्रिय सञ्चारमाध्यममा रहेर महिला सवालमा कार्यक्रम सञ्चालन गरिरहेको छु। सुदूरपश्चिमदेखि तराई, पहाड र हिमालसम्मका सबै स्तर, सबै भूगोल र सबै उमेरका सयौं जुझारु क्रियाशील ग्रामीण, सहरी महिलाको जीवन अनुभव सुनेको र सुनाएको अनुभव छ। यो अवधिमा आफैंले सबैभन्दा कम र सबैभन्दा पछि उठाएको विषय महिनावारी हो, भन्दा आफैंलाई अप्ठेरो र अचम्म लाग्छ। अझ रजनोवृत्तिको विषय त सञ्चार माध्यममा आउन सकेको छैन भन्दा पनि हुन्छ। यही अवस्थाले प्रष्ट पार्छ कि महिनावारी र रजनोवृत्तिको विषय अहिलेसम्म महिला सवालमा पनि कम प्राथामिकतामा परेको विषय हो।

रजनोवृत्तिको समयमा परिवारबाटै हिंसामा पर्छन् महिला ः रजनोवृत्तिको समयमा महिलामाथि हुने हिंसाको कुरा बाहिर आएको छैन। ४५ देखि ६० वर्षबीचको उमेर जतिबेला महिलाको रजनोवृत्तिको समय हुन्छ, यो समयमा शारीरिक र मानसिक हिंसा अत्यधिक हुने पाइएको छ। लाज, गाल र डरले कति हिंसा महिला स्वयंले लुकाएका छन्। घरमा युवा उमेरका छोराछोरी भइसकेको समय उनीहरूको भविष्यका कारण हिंसाको घटना लुकाउनु महिलाका बाध्यता बनेको छ। घरका कुरा, आफ्नै सम्बन्धका कुरा, लाजको विषय मानिँदै आएको रजनोवृत्तिको कुरा कसलाई सुनाउने ? किन सुनाउने ? कसले सुनिदिने ? सुनाए पनि उनीहरूको न्याय के हो ? कसरी सहजता पाउँछन् उनीहरूले ? यस्ता रजनोवृत्तिका विषय र अनुभवका कति कुरा भन्न अझै बाँकी छन्। कति कुरा सुनिएका छैनन्, सुनाउने ठाउँसमेत छैन।

पहिला पहिला चुपचाप सहेर बस्ने गरेकोमा भर्खरै यस्ता हिंसाका घटना बिस्तारै बाहिर आउन थालेका छन्। अभियन्ता महेश्वरी विष्ट रजनोवृत्तिको विषय वर्षौंसम्म बाहिर नै नआएको बताउँछिन्। उनले महिला विकास महाशाखा प्रमुख र महिला विकास अधिकृतको रूपमा विभिन्न जिल्लामा काम गर्दा धेरै महिला रजनोवृत्तिको समयमा श्रीमान् र घरपरिवारबाट हिंसामा परेको पीडा र गुनासो सुनेकी थिइन्। हिंसा पीडितहरू लुकिछिपी न्यायको आशामा गुनासो लिएर महिला विकासको कार्यालयमा आउने सुनाउँदै उनी भन्छिन्, ‘रजनोवृत्ति सुरु भएपछि श्रीमान्बाट साथ, सहयोग पाउनुको साटो हिंसा खेप्नु परेका घटना धेरै थिए।’ खान लाउन दिएकै छ, चुपचाप लागेर बस्ने भनी धम्क्याउँदै श्रीमान्ले बाहिर सम्बन्ध राख्ने गरेको र सम्बन्धको विषयमा बोलेमा कुटपिट गर्ने गुनासो धेरैको थियो।

विष्टसँग रजनोवृत्तिको आफ्नै अनुभव पनि छ। ३८ वर्षको उमेरबाट रजनोवृत्ति सुरु भयो। उनको उमेर अहिले ६० पुग्यो। अझै मानसिक र शारीरिक समस्याले छोडेको छैन। रजनोवृत्ति सुरुसँगै थाइराइडको समस्या सुरु भयो। धेरै पटकको चेकजाँचपछि मात्र रजनोवृत्तिको कारणले हुने एस्ट्रोजोन हर्मोनको कमी भन्ने थाहा भयो। एस्ट्रोजोन हर्मोनको इन्जेक्सन लिँदा क्यान्सर हुने सम्भावनाको डर भएको भन्दै उनी सुनाउँछिन्, ‘अस्पताल र डाक्टरकोमा धाउँदा धाउँदै वर्षौं बित्यो।’ समस्या भन्न र बुझाउन सक्ने सहरी शिक्षितको त अवस्था यस्तो गाह्रो छ अरूको के होला ? डाक्टरहरूले धेरै थरी समस्याको अनुमान गरेर जाँच गर्दागर्दैै पनि समस्याको कारण पत्ता नलागेपछि मात्र रजनोवृत्तिको समस्या हो कि भनेर जाँच गर्ने गरेको बताइन्।

मकवानपुर घर भएकी झुनुमाया ५० वर्ष पुगिन्। उनी रजनोवृत्तिको कारण शारीरिक र मानसिक रूपमा श्रीमान्सँग शारीरिक सम्पर्कका लागि तयार हुनै सक्दिनन्। जब महिनावारी सुक्यो, सुगर र प्रेसरको समस्या निस्कियो। स्वास्थ्य शिथिल भएको छ। तर, रजनोवृत्तिको विषय उनको श्रीमान्ले बुझ्नै सकेनन्। शारीरिक सम्पर्क राख्न तयार नभएको निहुँमा दिनहुँ कुटपिट हुन थाल्यो। ‘काम नलाग्ने भइस्’ भन्दै श्रीमान्ले बेलाबेला घर छोड्ने र अर्को महिलासँग सम्बन्ध बढाउन थाले। झुनुले श्रीमान्को बाहिरी सम्बन्ध सहन सकिनन्। बरु शारीरिक कठिनाइ सहन तयार भइन् तर श्रीमान्ले राम्रो व्यवहार नगरेर कुटपिट बढाए। शरीरभरि कुटाइबाट बसेको नीलडाम लिएर सहयोगको याचना गर्दै उनी छोराछोरीसहित ललितपुर महानगरपालिकाको न्यायिक समिति पुगेकी थिइन्।

रजनोवृत्तिको अनुभूतिसँग गरिएको अन्तर्वार्ताकै क्रममा पूर्वउपसचिव महेश्वरी विष्टले सुनाएको ६० वर्षे महिलाको रजनोवृत्तिपछिको अनुभवले पनि महिलाहरूले कति कष्टकर समय बिताएका छन् भन्ने पुष्टि हुन्छ। शरीर अवस्था र समस्या नबुझ्ने छोरा र श्रीमान्बाट छुटकारा पाउँ भन्ने उनको निवेदन थियो। एक्लै बस्न तयार थिइन्। भन्थिन्, गाई पाल्छु, तरकारी बेच्छु। एउटा ज्यान जसरी नि पाल्छु। सबैका लागि गरिरहेकै थिएँ। अब आफ्ना लागि काम गर्छु भन्ने आँट गरिरहँदा उनका छोरा र श्रीमान्लाई सम्झाउने शब्द उनीसँग थिएन। आमाको साथ छोडेर छोरा पनि बुवाकै पक्षमा उभिएपछि बुढेसकालमा परिवारबाट छुट्टिनुबाहेक उनीसँग अरू उपाय पनि थिएन।

मनोविमर्शकर्ता साथै समाजशास्त्री निर्जला भट्टराईसँग रजनोवृत्तिले महिलाको मानसिक स्वास्थ्यमा पार्ने असरको विषय आफ्नै रजनोवृत्तिको अनुभवबाट थालनी गर्छिन्। उनी भन्छिन्, ‘म स्वयं मनसँग काम गर्ने व्यक्ति हुँदाहँुदै पनि रजनोवृत्तिको समयमा साह्रै गाह्रो भएको थियो।’ आफ्नो मनमा शरीरमा के हुँदैछ, कसरी मन र शरीरलाई व्यवस्थापन गर्ने भन्ने सीपको ज्ञान थियो। आफ्नो सोच, व्यवहारले अरूलाई र आफैंलाई कस्तो प्रभाव पार्छ भन्ने मनोभावना बुझ्न सक्ने हँुदा पनि रिस र छटपटीले लामो समयसम्म दैनिकी अस्तव्यस्त बन्यो भने यो सबैबाट अनभिज्ञ आमा, दिदीबहिनीलाई कति गाह्रो होला !’ यो समय निर्जला स्वयं रजनोवृत्तिको कारण थकित छन्। सानोसानो कुरा मन नपर्दा वा चित्त नबुझ्दा मन दुख्ने भएको छ। रिस धेरै उठ्ने, झर्को लाग्ने र बेस्सरी रिसाउन मन लाग्छ। उनले आफ्ना कुरा छोराछोरी र श्रीमान्लाई पनि भनिसकेकी छन्।

उनी भन्छिन्, ‘यो समय सबैजनाले मलाई बुझिदिनु पर्छ है भनेको छु।’ मेरो व्यवहार सहिदिनुपर्छ, किनकि म गाह्रो अवस्थामा छु। आफैंले आफूलाई सम्हाल्न गाह्रो भइरहेको छ। यो अवस्थालाई सहिदिनुबाहेक कुनै उपाय छैन भनेपछि     श्रीमान् र छोराछोरीबाट साथ पाएको छु। स्त्रीरोग विशेषज्ञको सल्लाहअनुसार चेकजाँच पनि गराएँ। केही समय औषधि खाएँ। पछि अलि सजिलो भयो। परिवारलाई बुझाउन सकेको र उनीहरूले पनि समस्या बुझिदिएकाले निकै राहत भयो। कहिलेकाहीँ धेरै रिसाउँदा रजनोवृत्तिले गर्नुग¥यो भनेर हाँसी मजाक भए पनि परिवारमा सहज अवस्था भने भयो।’ उनका अनुसार रजनोवृत्तिको समयमा हाम्रो मन र शरीरमा आएको फरकपनको अनुभव आफूले बुझ्नु र अरूलाई बुझाउनु सक्नुपर्दो रहेछ। रजनोवृत्तिको समय र यसले पार्ने प्रभावको बारेमा खुलेर कुरा गर्नु पनि जरुरी हुन्छ। अरूलाई खुसी बनाउनु पर्छ भन्ने संस्कारमा हुर्केका हामीले आफैंले आफैंलाई माया गर्न बिर्सेका हुन्छौं। आफ्ना लागि समय निकाल्ने आफ्नो खुसी खोज्ने कुरा कमै प्राथमिकतामा पर्छ। यस्तो समयमा चित्त दुख्छ। मलाई रिस उठ्छ चैं भन्ने तर किन थाहा छैन ? उपचारमा पो जानुपर्ने हो कि भन्ने कुरामा बेवास्ता गर्ने गर्छौं। मेरो मन र शरीरमा के भइरहेको छ ? मेरा सम्बन्धहरू कसरी गइरहेका छन् ? मेरा व्यवहारहरू कस्ता भइरहेका छन् ? भन्ने बुझ्नु आवश्यक हुन्छ।

यस्तो अवस्थामा आफ्ना लागि केही समय निकालेर आराम लिने वा कही कतै घुम्न जानु राम्रो उपाय हुन्छ। छोराछोरीलाई पनि जिम्मेवारी दिन सिक्नुपर्छ। शरीरले नसक्दा पनि आफैं खट्ने बानी छोड्नु पर्छ। निर्जला थप्छिन्, ‘महिनावारीको विषयमा त्यति नबोलेको अवस्थाबाट हुर्किएका नेपाली समाजका महिलाले रजनोवृत्तिको विषय भर्खर सुन्दै र बुझ्दैछन्। रजनोवृत्ति जसलाई भइरहेको छ, उनीहरूमा र परिवारमा चेतनाको अवस्था न्यून छ भन्नेमा जोड दिँदै रजनोवृत्तिको विषयमा व्यापक बहस चलाउन आवश्यक छ।’ यो विषयमा श्रीमान्ले बुझेनन्। अगाडिको पुस्ताले बुझेनन् तर अबका छोराछोरीले बुझ्नु आवश्यक छ। सन्तानले आमा भएपछि यति त गर्नुपर्छ नि, यो कुरा त बुझ्नु पर्छ नि, कति रिसाएको भन्ने हाम्रो सामाजिक मनोविज्ञान छ। एउटै समयमा एकातर्फ आमाको रजनोवृत्ति सुरु हुने अर्कोतर्फ छोराछोरी पनि जवानीतर्फ चढिरहेका हुन्छन्।

आफ्नै अवस्थालाई व्यस्थापन गर्न गाह्रो भइरहेको समयमा सन्तानलाई नियन्त्रणमा राख्न खोज्दा आमा र छोराछोरीबिचको सम्बन्धमा तिक्तता आउने गरेको पनि पाइन्छ। महिलाहरूले जुनै उमेर र अवस्थामा अरूलाई खुसी बनाउन र जाती बन्न खोज्दा झन् तनावले दुःखी बनेको देखिन्छ। यति मात्र होइन, रजनोवृत्तिको समयमा उचित खानपान नपुगेर ढाड बांगिने, घुँडा दुख्ने र महिनौं निन्द्रा नपर्ने समस्या हुने गर्छ।

रजनोवृत्तिको विषयमा बहसको सुरुवात कसरी र किन ?ः महिनावारीको कुरा गर्दा प्याड बाँड्ने र चर्पी बनाउने जस्ता विषय छलफलमा आइहाल्छन् तर मूल विषय छुट्छन्। विद्यालय पाठ्यक्रममा कम्तीमा पनि सात कक्षाबाट यो विषयको उठान हुनुपर्ने देखिन्छ। महिनावारी र रजनोवृत्ति एकै सिक्काका दुई पाटा जस्तै हुन्। पाठेघर हुने मान्छे महिनावारी हुन्छ भने रजनोवृत्ति पनि सँगसँगै आइहाल्छ। त्यसैले पाठ्यक्रम, तालिम, जनस्वास्थ्य, चिकित्साशास्त्रलगायत शैक्षिक विधाका सबै ठाउँमा महिनावारीको कुरा गर्दा रजनोवृत्ति विषय अनिवार्य रूपमा सँगै लैजानुपर्छ भन्ने सवाल मर्यादित महिनावारी अभियन्ताहरूले प्राथमिकताका साथ उठाइरहेका छन्।

हाम्रो पाठ्यक्रम, शिक्षा निर्देशिका र नीतिहरूमा, शिक्षक निर्देशन र योजनामा महिनावारीको विषयमा रजनोवृत्तिको विषयको स्थान र उठानको अवस्थाका बारेमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी बासुदेव वस्ती भन्छन्, ‘विद्यालय स्तरमा कक्षा सातबाट यौन तथा प्रजनन स्वास्थ्य र शारीरिक तथा सिर्जनात्मक कला विषयमा महिनावारीको सचेतनामूलक सामग्री समावेश गरिएको छ।’

उनका अनुसार किशोर अवस्थाका विद्यार्थीका लागिभन्दा उच्च शिक्षा अध्ययनरतहरूका लागि रजनोवृत्तिको विषय प्राथमिकतामा पर्ने बुझाइका कारण रजनोवृत्ति सचेतना विषय अहिलेसम्म विद्यालयको पाठ्यक्रममा राखिएको छैन। यद्यपि रजनोवृत्ति चासो र सरोकारको विषय भएको भनेर उनले स्वीकार गरेका छन्। महिनावारी सचेतनामूलक सामग्रीमा रजनोवृत्तिको बुझाइको आवश्यकतालाई मनन् गरी सरोकारवालाबाट आउने सल्लाह सुझावका आधारमा पाठ्यपुस्तक नीति निर्देशिका परिमार्जनको समयमा यो विषयको सम्बन्धमा पुनरावलोकन गर्नुका साथै छलफल हुनु आवश्यक रहेको उनको भनाइ छ। तर रजनोवृत्तिको विषयमा सोधेको प्रश्न र जिज्ञासा पाठ्यक्रम विकास केन्द्रका लागि नै नौलो विषय थियो।

स्वास्थ्य विभाग, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहालले परिवार योजना र प्रजनन स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि नेपाल सरकार विशेष जोडका साथ लागि परेको बताइन् तर महिनावारीसँगै जोडिएको रजनोवृत्तिको समस्या समाधानका लागि अहिले सञ्चालनमा आएका कार्यक्रमहरू प्रयाप्त नभएको उनको भनाइ छ। उनका अनुसार महिलाका स्वास्थ्यसँग सरोकार राख्ने विषयहरूको सम्बन्धमा आवश्यकता अनुरूप समयमै सूचना र जानकारी गराउनु महिलाको अधिकार पनि हो।

मेनोपजको विषयमा पर्याप्त जानकारी नभएको, थाहा नपाएको जनमानसको गुनासो छ। रजनोवृत्तिका बारेमा केन्द्रित रहेर योजना बनाएको कार्यक्रम अहिलेसम्म सञ्चालनमा नल्याएको अवस्थालाई स्वीकार गर्दै उनले हाल प्रजनन स्वास्थ्यसँगसम्बन्धी संस्थामध्येकै केही संस्थाले केन्द्रको सहकार्यमा यो विषयको थोरै भए पनि सचेतनामूलक कार्यक्रम स्थानीय तहसम्म पुग्नेगरी सुरुवात गरेको जानकारी गराइन्।

रजनोवृत्तिका तीन चरणहरू, सुरुवातको समय, बीचको समय र सकिन लाग्दाका लक्षण हुन्छन्। जसको अवस्थालाई परिवारका सदस्यले कसरी बुझ्ने, कस्तो साथ र सहयोगको आवश्यकता पर्छ भन्ने विषयको जानकारीको कमी अहिले पनि छ। त्यसैले अबका दिनमा केन्द्रले कार्यक्रम निर्माण गर्दा रजनोवृत्तिसँग सम्बन्धित जानकारीमूलक सामग्रीलाई प्राथमिकतामा राखेर जनमानसलाई जानकारी दिनेगरी     श्रव्य तथा दृश्य सामग्रीका सन्देश रेडियो र टेलिभिजनबाट प्रसारण गर्ने उनले जानकारी दिइन्। नेपाल सरकारको लैंगिक हिंसा न्यूनीकरणका नीति तथा कार्यक्रममा पनि रजनोवृत्तिको समयमा हुने महिला हिंसाको विषय मौन छ। नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ खारेज गर्नेगरी मर्यादित महिनावारी प्रवद्र्धनसम्बन्धी निर्देशिकाको ड्राफ्ट तयार गरेको छ। मर्यादित महिनावारी, महिनावारी व्यवस्थापन सामग्री, जैविक प्याड उत्पादन, छाउपडी प्रथाको अन्त्यजस्ता विषय यो निर्देशिकामा रहेता पनि महिनावारीसँग जोडिएको रजनोवृत्तिको विषयमा निर्देशिका मौन छ। रजनोवृत्तिको अवस्थामा हुने हिंसा र स्वास्थ्य समस्याको सम्बोधन कहीँ कतै नहुनुको सम्बन्धमा नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक हिंसा निवारण शाखाको प्रमुख महिला विकास अधिकृत ममता विष्ट लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा, नीति, निर्देशिका र योजना तयारीको छलफल हुँदा रजनोवृत्तिको अवस्थामा हुने हिंसाको विषयमा कसैले कुरा नउठाउनु प्रमुख कारणमध्ये एक भएको बताउँछिन्।

उनका अनुसार अहिलेसम्म रजनोवृत्तिका कारण हिंसामा परेकाहरूको समस्या र गुनासो खुलेर आएको पाइँदैन। त्यसैले पनि महिलाविरुद्ध हुने हिंसाका सवालमा रजनोवृत्तिको विषय समेटिएको छैन। रजनोवृत्तिका अवस्थामा भएको हिंसाको घटना भर्खर बाहिर आउन थालेको छ। अब यो विषयको आवश्यकतालाई छलफलमा लगेर मर्यादित महिनावारी प्रवद्र्धनसम्बन्धी निर्देशिकामा समेट्ने जानकारी गराइन्।

२०८१ साउनमा चितवनको सौरहामा भएको एक अन्तरक्रिया कार्यक्रममा मर्यादित महिनावारी अभियानको योद्धा, महिनावारी विज्ञ, डाक्टर राधा पौडेलसँग अन्तरक्रिया भएको थियो। सो छलफलमा शिक्षा, स्वास्थ्य, महिला हिंसा र अधिकारका सवालमा मर्यादित महिनावारीका विषय प्राथमिकतामा राख्न आवाज उठाउँदै गर्दा भर्खरै मात्र रजनोवृत्तिको विषय जोडिएर आउन थालेको चर्चा भएको थियो। रजनोवृत्तिको सम्बन्धमा जनचेतनामूलक कार्यक्रम र अभियान हँुदै नभएको भने होइन। मर्यादित महिनावारीका अभियन्ताहरूका अनुसार सन् २०२१ को तेस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस रजनोवृत्तिमा केन्द्रित रहेर मनाइएको थियो। रजनोवृत्तिको समस्या के हो थाहा हँुदै गएको भए पनि यो समस्याको समाधानमा निर्वाह गर्नुपर्ने व्यवहारका बारेमा स्पष्ट छलफल भएको छैन।

रजनोवृत्ति महिलाको विशेष अवस्था हो। रजनोवृत्ति हुँदाको समस्या श्रीमान् र परिवारलाई थाहा नहुनुमा उनीहरूको मात्र दोष हँुदैैैैन। महिला स्वयंले पनि आफ्नो अवस्थाबारे स्पष्ट भएर परिवारका सदस्यलाई थाहा दिन जरुरी हुन्छ। मानिसले जति आफ्नो समस्यामा चासो दिन्छ, त्यति अरूको समस्यामा मतलब गर्दैन। यही कारणले पनि पाठेघर नभएका व्यक्तिका लागि अझै पनि पाठेघर पढ्न र जान्न खोज्ने विषय बनेको छैन। अचानक महिलामा आउने बदलावले सम्बन्ध बिग्रन्छ। हिंसा बढ्दै जान्छ। यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने, महिनावारी हुँदाका फाइदा धेरै छन्। तर महिलाको शरीरमा महिनावारी गराउने हार्मोन कम हँुदै जाँदा महिनावारीले शरीरलाई सुरक्षित राख्न र फाइदा गराउने सबै प्रक्रिया कमजोर हुँदै जान्छ। यसले शरीरको सन्तुलनमा उतार चढाव सुरु हुन्छ, जुन अवस्था हो– रजनोवृत्ति।

महिनावारी र रजनोवृत्तिको समयमा हुने हार्मोनको उतारचढावले शरीरको सबै अंग कपालको रौंदेखि खुट्टाको नङसम्मै प्रभाव पार्छ। लगभग ४०–४५ वर्षदेखि ६० वर्ष उमेरमा महिनावारीसँगै जोडिएको रजनोवृत्तिको समयमा धेरै महिलाले आफ्नो दैनिकीलाई खल्बल्याउने मानसिक र शरीरिक समस्याको सामना वर्षौंदेखि गर्दै आएका छन्। वैवाहिक र पारिवारिक सम्बन्धमा पर्ने प्रभावको बहस भने सुरुवाती चरणमै छ। रजनोवृत्तिको विषयमा भएका अनुसन्धानअनुसार रजनोवृत्तिमा आउने अप्ठ्याराको समाधान गर्न अनुभवको आदानप्रदान, व्यापक जनचेतना, हर्मोन सन्तुलनमा सहयोग पु¥याउने खाना, शारीरिक व्यायाम, राम्रो घरायसी वातावरण, मानसिक रूपमा हुनुपर्ने तयारी, पारिवारिक माया, सहयोग र हेरचाह, डाक्टरको सल्लाह, हार्मोन थेरापी नै रजनोवृत्तिको समस्या निराकरणको भरपर्दो उपाय हुन्।

महिनावारी सुक्नु रजनोवृत्ति रोग हैन। यो नदेखिने मन र तनको बोझिलो समस्या हो। यसको पहिलो औषधि भन्नु नै     श्रीमान् र घरपरिवारको साथ, माया र सहयोग हो। रजनोवृत्तिको समस्या सधैं रहँदैन। ढिलोचाँडो कम हुँदै जान्छ। रजनोवृत्तिको उपचारमा हर्मोनल थेरापी र मनोपरामर्शको आवश्यकता पर्छ।अहिले महिलाको औसत आयु नै ७२ वर्ष पुगिसकेको अवस्थामा रजनोवृत्तिपछिको स्वास्थ्य कसरी राम्रो बनाउने सम्बन्धमा व्यापक छलफल हुनु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.