देशको बेथितिको तस्बिर
कतिपय विषय नेपाली समाजको कल्पनाबाहिरको जस्तो देखिए पनि ‘नग्न स्वप्न’का घटनालाई समाजले नकार्न सत्ताmैन।
नेपालीमा लघुकथा लेख्ने र प्रकाशन गर्ने लहर आए पनि आकर्षक शैलीमा चखिलो व्यञ्जनामा साँधेर पाठकलाई चित्तबुझ्दो भाव छोड्न सक्ने लघुकथाकार कमै छन्। कृष्ण बजगाईं पनि यसैभित्र पर्ने लघुकथाकार हुन्। नेपाली भाषामा ६ ओटा लघुकथा संग्रह प्रकाशन गरेका उनको पछिल्लो कृति हो, ‘नग्न स्वप्न’। भुँडीपुराण प्रकाशनबाट २०८० सालमा प्रकाशित यसमा उनले आधुनिक युगमा नेपाली समाज कता जाँदैछ भन्ने बाटो देखाएका छन्।
विशेषगरी क्षणिक र स्वार्थपूर्ण प्रेम र वैवाहिक सम्बन्धका घटनाहरूबाट उनले समाज र नेपाली राजनीतिमा देखिएका विकृतिलाई शीर्षक ‘नग्न स्वप्न’ झैं सम्पूर्ण भ्रमलाई पत्र—पत्र गरी खोल्दै उदांगै पारेर पाठकमाझ देखाएका छन्। छोटो आकारको तर पूर्ण, अणु झैं विस्फोट गर्ने क्षमता भएको र फोटोग्राफरको फोटोजस्तो एक क्लिकमा सिंगो जीवनदर्शनको स्वरूप दिन सक्ने लघुकथाको पारिभाषिक मर्मलाई छुने लघुकथा यसमा छन्।
विषयगत दृष्टि ः विषयगत आधारमा हेर्दा ‘नग्न स्वप्न’मा पछिल्लो समयमा नेपाली समाजमा बिग्रेभत्केका जे–जे पाटा छन्, तिनको एक–एक गर्दै खोजी गरेर बेग्लाबेग्लै विषयका त्यस्ता विकृति र बेथितिलाई लघुकथाका विषयका रूपमा छानिएको छ। अहिले नेपाली समाजमा सबैभन्दा बिग्रिएको ठाउँ भनेको ‘श्रीमान्– श्रीमती, तिनको प्रेम र वैवाहिक सम्बन्ध’ देखिन्छ। पछिल्लो समय नेपालीलाई विदेश जाने वाध्यता र त्यहाँ बस्ने आवश्यकता र रहरले समाजलाई परिवर्तनको संघारमा पु¥याएको छ। विदेशीजस्तो हुने मोहमा नेपाली सामाजिक मूल्यमान्यता र आदर्शभन्दा धेरै पर विदेशीलाई पनि उछिन्ने गतिमा छन्।
नयाँ पुस्ताका प्रेम सम्बन्ध अस्थिर हुँदै गएका घटनाहरू लघुकथामा छन्। आधुनिकतामा देखिएका ती जटिल प्रेम र वैवाहिक सम्बन्धका घटना समेटिएकामध्ये ‘महासंयोग’ले श्रीमान्को मृत्युको उत्सव मनाउन नक्कल पारेर आएकी श्रीमतीसँगै उसको स्वार्थ अनैतिक सम्बन्धको प्रतीक भएर आएको वकिलले उनीहरूको त्रिकोणात्मक सम्बन्धको संकेत गरेको छ।
आफू अनैतिक भए पनि आफ्नो हक एकरत्ति नछोड्ने ‘हक’की लालची नारी; आफ्नो मन काबुमा राखेर सामाजिक आदर्श कायम गर्न नसक्ने ‘परामर्श’की पथ भ्रष्ट नारी; बेलुका बिहे र बिहान डिभोर्स ‘तीव्रता’मा आएका सम्बन्ध बिगार्ने विषय यसमा छ। आफूले खोजेजस्तो नभएर नभेटोस् भनेकी श्रीमतीले खोजेजस्तो परिणामः ‘गमन’को प्रेम र अनैतिक सम्बन्धको गजमज पनि छ। यसरी पथ भ्रष्ट नारी–पुरुषका अनेक किसिमका कल्पनै गर्न नसक्ने घटनाले नेपाली पाठकलाई सामाजिक सचेतताका लागि घचघच्याउने काम गरेका छन्।
राज्यमा मौलाएको भ्रष्टाचार बेथिति अनि अनैतिकता पनि यसमा छन्। जस्तोसुकै विपत्ति वा समस्यामा परे पनि राजनीतिकर्मी भने भागबण्डामै रमेका र जनताले बिदेसिनु पर्ने बाध्यतासँगै ‘अपमृत्यु’मा पीडाले मनमस्तिष्कमा द्वन्द्वको अवस्था देखाएको छ। चिडियाखानामा परिणत भएको ‘भिसा’ लघुकथामा देशको बेथिति पशुहरू गधा नेताहरू, भेडा जनताहरू, बाँदर देशको बेथिति र मदारी देशको व्यवस्थाको चित्रण छ। ‘जुत्ता’ लघुकथामा कलकारखाना बेचेर खाने राजनीतिक नेताहरू; ‘भ्रान्ति’ लघुकथामा विपक्षीले लगाएको आरोपमा कानको पछाडि दौडिएर डाक्टरकहाँ पुग्ने बुद्धि र होस नभएको मन्त्रीउपर व्यंग्य छ।
‘लालच’ लघुकथामा संघीयताको वास्तविकता र लालची नेताको देश नास्ने कर्म आएका छन्। नेपालको वास्तविकता झल्काउने ‘मूर्खपुर’मा राजनीतिक बेथिति; ‘बुद्धि’मा शान्ति उत्पादन हुने कारखानाबाट शान्ति उत्पादन हुन थालेपछि अशान्तिका कथा छन्। जनतालाई गणतन्त्र नामको भ्रामिक मन्त्रमा अल्मल्याउने र आफ्नो दुनो सोझ्याउने चोटिलो कथा ‘गणतन्त्रको जन्त्र’मा छ। आफ्नै देशको अवस्थाको झल्को बोकेको ‘नक्कली’मा नक्कलीपुरका भ्रष्टाचारी र अपराधीको वर्णन छ। ‘नक्कली टाइम्स’मा नयाँ नक्सा र ‘समस्यापुर’मा समस्याको थुप्रोको कथा छन्।
‘लाइसेन्स’मा सांसद पदलाई सपना देखाउने सरकारी लाइसेन्सको रूपमा सटिक व्याख्या गरिएको छ। ‘नग्न स्वप्न’मा अनौठो सपनाले बोकेको देशको बेथितिको तस्बिर छ। ‘दृग्भ्रम’मा राजनीतिमा अर्कालाई दबाउन सक्ने शक्तिशाली बन्छ भन्ने घटनाउपर प्रहार छ। ‘गरिबपुर’, ‘अभीष्ट’, ‘इलम’, ‘निद्रा’, ‘घात’, ‘ऐना’ लघुकथामा राजनीतिक बेथितिमाथि चोटिलो प्रहार छ। केही लघुकथा कतै सोझै त कतै व्यञ्जनात्मक झट्टाराले गर्दा जीवन्त बनेका छन्।
नारीवादको नाममा देखिएको विकृतिका विषयका पनि ‘नग्न स्वप्न’मा कथा बनेर आएका छन्। ‘रूपान्तर’ लघुकथामा नारीवाद नाराका रूपमा आएको र एनजीओमा काम गर्ने केही नारीमात्र लाभान्वित भएका कुरा कथामा आएका छन्। ‘आइमाई’ लघुकथामा नारीवादी महिलाको मुखबाट ‘आइमाईको शत्रु आइमाई’ भन्ने वाक्य निकालेर चोटिलो व्यंग्य गरेका छन्। ‘घोस्टराइटर’ लघुकथामा अहिले नाम कमाउने मोहले पुस्तक लेखाउने चलनप्रति व्यंग्य गरिएको कथा पनि छ।
शैलीगत दृष्टि ः ‘नग्न स्वप्न’का लघुकथाहरूको अन्त्यमा पाठकमाझ पस्किने शैली आकर्षक छन्। लघुकथाका मूल भागमा कथानकले एउटा परिवेश बनाएका देखिन्छन्। अनि अन्तिम भागले लघुकथालाई स्वाट्टै सक्ने काम गरेका छन्। कथानकलाई स्वाट्टै सक्ने क्रममा लघुकथाको भावलाई पाठकसम्म पु¥याउने काम ध्वान्यात्मक अन्त्यमार्फत भएको देखिन्छ। लघुकथा करिब २ सय ६० शब्दसम्ममा सकिँदा पनि पाठकलाई परिवेशको अनुमान लगाउन सक्ने चित्रात्मकता उपलब्ध हुनु ‘नग्न स्वप्न’को अर्को विशेषता हो।
व्यंग्यात्मकता ः व्यंग्यात्मकता ‘नग्न स्वप्न’को मुख्य विशेषता हो। यसमा लघुकथाका लागि निर्माण भएका घटनाको स्रोत आधुनिक नेपाली समाज हो। छानिएका विषयहरू वर्तमान भएका वा निकट भविष्यको नेपाली समाजमा घटित हुने खालका छन्। कतिपय विषय यही युगका युवाको प्रेम–सम्बन्धप्रतिको सोचबाट लघुकथाकारले घटना निर्माण गरेका छन्। अहिलेको परिवेशमा देखिन थालेको विकृतिपूर्ण सम्बन्धको जटिल जालोले नै लघुकथामा व्यंग्य सिर्जना गरेका छन्।
क्षणिक प्रेमका लागि लैंगिक भेदमा आदर्श मापदण्ड नबनाइने घटनाहरू लघुकथामा आएका छन्। यस्ता घटनाले पुराना पुस्ताका पाठकलाई सन्तानका बारेमा पनि सोच्न बाध्य बनाउँछ। देशका राजनीतिक समस्याहरूबाट कथा लिँदै तिनलाई कलात्मक सिर्जनाले साँधेर वर्तमान राजनीतिक व्यवस्थाप्रति व्यंग्यको तिखो झटारो ठोकेका छन्। देशमा बढ्दो राजनीतिक अराजकता र जनताले पाएका दःुख र सास्तीलाई जोडदार उठाएका छन्। त्यस्तो बेथिति गर्ने नेताका लहैलहैमा भुल्ने जनतालाई लघुकथाकारले राजनीतिक बेथितिका जिम्मेबार ठह¥याई खुत्रुक्क हुने गरी व्यंग्य गरेका छन्।