सीमा क्षेत्रका स्थानीय र प्रहरीबीच सधैं लफडा
परासी : चोरी गरी ल्याइएका नदीजन्य पदार्थ (बालुवा) को विषयमा नवलपरासीको सुस्ता गाउँपालिकाको सीमा क्षेत्रमा सधैं प्रहरी र स्थानीयको लफडा हुने गरेको छ।
नारायणी नदीबाट बालुवा चोरी गरी लैजाँदै गरेको अवस्थामा हरेक दिनजसो सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले पक्राउ गर्ने गरेको छ। तर, पक्राउ गरेका बालुवा बोकेका ट्याक्टरलाई छुटाउन कारोबारीहरूले केही स्थानीयलाई प्रयोग गरेर प्रहरीलाई घेरा हाल्न पठाउने गरेको पाइएको छ। सुरक्षाकर्मीभन्दा स्थानीय धेरै भएपछि पक्राउ परेका ट्याक्टरलाई त्यसै छाडेर आउने गरिएको छ। कारोबारीहरूले त्यसरी नदीबाट निकालेका बालुवाहरू सीमा नाका हुँदै भारततर्फ पठाउने गरेका छन्।
केही दिनअघि सुस्ताको रेवारेतामा ५ पटकसम्म बालुवा चोरी गरेर लैजाँदै गरेको अवस्थामा ट्याक्टर पक्राउ परे पनि स्थानीयले घेरा हालेर सुरक्षाकर्मीबाट फुत्काएर लगेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए। ‘नदीजन्य पदार्थ बोकेर आएका ट्याक्टरलाई समात्ने बित्तिकै केही स्थानीयहरू घरेलु हतियारसहित प्रहरीलाई घेर्न आउँछन्। स्थानीयको जमात ठूलो देखेपछि प्रहरीको टोली छाडेर जाने गरेको छ। यसले नदीजन्य पदार्थको चोरी नियन्त्रण गर्न समस्या भएको छ’, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने।
चोरी सामान पक्राउ गर्दा अवरोध गर्नेमध्येका नाइकेलाई प्रहरी प्रशासनले कारबाही नगर्दा सधैं सीमा क्षेत्रबाट हुने नदीजन्य पदार्थको चोरी कार्यलाई नियन्त्रण गर्न नसकिएको भुसालको भनाइ छ। यसैबीच बालुवा चोरी गरी भारततर्फ लैजान लागेको अवस्थामा शनिबार बिहान सुस्ताको वनकट्टी सीमा क्षेत्रबाट ५ ट्याक्टर बालुवा नियन्त्रणमा लिइएको छ। सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले उक्त बालुवा नियन्त्रणमा लिएको हो। गस्तीलाई देखेपछि ट्याक्टर भागेको र बालुवा भरेको टाली मात्र छाडेर गएको बताइएको छ।
उक्त बालुवा वनकट्टी सीमा हुँदै भारतको बहुबार लैजान लागिएको स्थानीयले बताएका छन्। बालुवा नियन्त्रणमा लिएपछि केही स्थानीयहरूले बालुवा छोडाउन सुरक्षाकर्मीलाई अवरोध गरेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बलिनगरका निरीक्षक सुवास अधिकारीले बताए। ‘सीमा क्षेत्रमा बालुवा पक्राउ गर्दा सधैं लफडा हुने गरेको छ। तैपनि हामीले सकेसम्म ल्याउने प्रयास गरेका छौं। आज पनि त्यस्तै भयो’, अधिकारीले भने।
पक्राउ परेका ५ टाली बालुवामध्ये २ वटा टोलीको टायरको हावा खोलेका कारण ३ टाली बालुवा मात्र ल्याउन सकिएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताए। त्यसरी ल्याइएका बालुवालाई रामनगर प्रहरी चौकीमा राखिएको छ। टाली बोक्ने ट्याक्टरबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच स्थानीयले सुरक्षाकर्मीलाई अवरोध गरेर चोरी सामान लैजाने गरेको बारे प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हुलका हुल आउने स्थानीयलाई सम्झाउने पहिलो काम स्थानीय तहको भएको बताइन्। ‘स्थानीय तहकै आग्रहमा १५ दिनदेखि त्यस क्षेत्रमा संयुक्त गस्ती परिचालन गरेर निगरानी बढाउँदै आएका छौं। मान्छे समातेर ल्याउँदैमा समस्या समाधान हुने होइन। स्थानीय तहले त्यसमा समन्वय गर्नुपर्यो’, प्रजिअ श्रेष्ठले भनिन्।