आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सकिन्छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्द्धनमार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको बताए।
लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए।
सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको उनले बताए। आफू प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि धेरै काम गरेको र इतिहासकै महत्त्वपूर्ण मानिएको ऊर्जा संकट समाधान भएको जिकिर गरे।
अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्त्वपूर्ण राष्ट्रिय एजेण्डाको रूपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रूपमा अघि बढाएको बताए। अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरू कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको उनले बताए।