हाडनाता करणी मुद्दामा दोषी ठहर भएका कैदीको मृत्यु
विराटनगर : हाडनाता करणी मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका जिल्ला कारागार मोरङका एक जना कैदीको शनिबार दिउँसो मृत्यु भएको छ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार मोरङको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो। राई विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्।
जेलर ढुंगेलले श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २:१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको जानकारी दिए। उपचारकै क्रममा दिउँसो ३:५० बजेतिर चिकित्सकले मृत घोषित गरेको उनले बताए। जिल्ला अदालत मोरङले राईविरुद्ध दर्ता भएको हाडनाता करणी मुद्दाको फैसला २०७३ साल माघ ९ गते गरेको थियो।
मुद्दाको फैसला गर्दै अदालतले उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो। राईलाई प्रहरीले २०७३ जेठ ६ गते पक्राउ गरेर अनुसन्धान एवं कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको थियो।
अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका बेला अचानक बिरामी परेका राईको अस्पताल पुर्याएको केहीबेरमै मृत्यु भएको जानकारी जेलर ढुंगेलले दिएए। अदालतको फैसला अनुसार राईले २०८७ साल जेठ ५ गतेसम्म कैद भुक्तान गर्नुपर्ने हुन्थ्यो।
राईको शव कोशी अस्पतालमै रहेको र परिवारका सदस्यले आइतबार बुझ्ने जानकारी दिएको जेलर ढुंगेलको भनाइ छ। मोरङ कारागारमा क्षमताभन्दा बढी राखिएका कारण कैदीबन्दीको दैनिकी निक्कै सकसपूर्ण बनिरहेको छ। कैदीबन्दीलाई बस्ने, खाने र सुत्ने ठाउँको अभाव रहेको कारागार प्रशासनले जनाएको छ।
कैदीबन्दीको संख्या बढ्दै गएसँगै उनीहरुलाई राख्नका लागि नयाँ कारागार भवन निर्माणको काम पनि भइरहेको छ। महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा हाल १ हजार १ सय १० जना कैदीबन्दी रहेको ढुंगेलले बताए। कारागारमा हाल ५ जना आश्रित बालबालिका, १ सय २ जना महिला र १ हजार ३ जना पुरुष रहेको जानकारी उनले दिए।