भद्रपुरमा ‘भाक्का पीठ उत्सव’ पुस २८ मा
झापा : झापाको सदरमुकाम भद्रपुरमा यही पुस २८ गते ‘भाक्का पीठ उत्सव’ मनाउने भएको छ। राजवंशी समाज विकास जिल्ला कार्य समिति झापाले राजवंशी समुदायको मौलिक खानाहरूको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले उत्सव गर्न लागेको हो।
सो उत्सवमा पौराणिक खानाहरूको पेल्का, फोगो, सुकाती, खारी र सिदलको साना जस्तो खानाहरूको प्रवर्द्धन तथा संरक्षण मुख्य उद्देश्य रहेको समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले जानकारी दिए।
यहाँ पहिलादेखि नै भाक्का दिवस र उत्सव मनाइँदै आइरहेको छ। तर, यसपल्ट भाक्कासँगै पीठको परिकारलाई पनि उत्सवमा समावेश गरिएको अध्यक्ष राजवंशीले बताए। छोरी माइती आएर ससुराली घर फर्किँदा कोसेलीका रूपमा पीठलाई पठाउन चलन रहँदै आएको उपाध्यक्ष जीतलाल राजवंशीले बताए।
पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइरहँदा २८ गते यसलाई उत्सव रूपमा मनाउने निर्णय गरिएको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिने रासविसका राजकुमार राजवंशीले बताए। भद्रपुर ८ स्थित होटेल डेग्लोमा परिसरमा आयोजना गरिने उत्सवमा २५ जनाले सामूहिक रूपमा भाक्का बनाउने जनाइएको छ। ३०० केजी पिठोको भाक्का खुवाउने योजना छ। उत्सव मनाउने अन्दाजी चार लाख बढी खर्च हुने रासविसका अध्यक्ष राजवंशीले बताए।
उत्सवमा राष्ट्रिय कलाकार टंक बुढाथोकी, स्थानीयसहित भारत पश्चिम बंगालको सिलिगुढी, दार्जिलिङ, आसामका जातीय सांस्कृतिक कलाकार टोलीको सहभागिता रहनेछ। यसको लागि तयारी धमाधम भइरहेको जनाइएको छ। पूर्वी तराईका राजवंशी, ताजपुरिया, गनगाई लगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवर्द्धन गर्नका लागि सुरु गरिएको भाक्का दिवसका अवसरमा जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिँदै आइरहेको छ।