कहाँबाट जाने सुक्खा बन्दरगाहसम्म ?

कहाँबाट जाने सुक्खा बन्दरगाहसम्म ?

महेन्द्रनगर : दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँचमार्ग बनिसकेको छ। पूर्व–पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा–चाँदनी–१ (सुक्खा बन्दरगाहस्थल) मलेरिया नालासम्म ६ लेनको आठ किलोमिटर लामो सडक निर्माण भएको हो। त्यस क्षेत्रमा पुल, सडकसहित पोखरी बनाउने सम्झौता भएको थियो। पर्यटकीय गन्तव्य बनाउन पुलको दुवैतर्फ २६ सय मिटर लम्बाइका दुइटा पोखरी निर्माणाधीन अवस्थामा छन्। तर, पोखरी निर्माणका लागि महाकाली नदीमा बाँध बन्न सकेको छैन। 

बाँध निर्माण नहुँदा ०७८ सालमा महाकाली नदीमा आएको बाढीले पहुँच मार्ग (भाइरल रोड) भत्काएको थियो। सुरुमा २ सय ५० किलोग्रामभन्दा बढी तौलका ढुंगाको प्रयोग गरेर पुलको दुवैतर्फ पोखरीको गाइडबन्ड (बाँध) बनाउने डिजाइन थियो। तर, ठूलो ढुंगा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कंक्रिटको प्रयोग गरी बाँध निर्माण गरियो। उक्त बाँध गत वर्ष भदौको बाढीले भत्कायो। त्यसैकारण महाकाली पुल योजना कार्यालयले दुईपटक उक्त बाँधको डिजाइन परिवर्तन गरिसकेको छ। 

त्यस क्षेत्रमा महाकाली नदीको चौडाइ २ किलोमिटर छ। ८ सय मिटर पुल निर्माण गरिएको छ। दुवैतर्फ २६ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका पोखरी निर्माणाधीन छन्। पुलको उत्तरतर्फ रहेको भीमदत्त नगरपालिकातिरको बाँध बाढीले भत्काएको थियो। त्यस क्षेत्रमा बाँधको काम हुन सकेको छैन।

बाढीले बाँध भत्काएपछि प्लम्ब कंक्रिटको सट्टा कंक्रिटकै बाँध निर्माण गर्नुपर्ने विषयमा छलफल भइरहेको प्राविधिकहरू बताउँछन्। महाकालीको बहाव ४ लाख ६१ हजार क्युसेक पुग्दा बाढीले करिब २ सय मिटर बाँध भत्काएको थियो। तीन वर्षअघि महाकालीमा ५ लाख ४७ हजार क्युसेक पानीको बहाव थियो। त्यतिबेला पनि बाढीले पहुँच मार्ग भत्काएर बाढी गाउँ पसेको थियो। भिनपा ११, १२ र १३ नम्बर वडा डुबानमा परेका थिए। अहिले पनि समयमा बाँध निर्माण हुन नसके पुलको पहुँच मार्ग भत्काएर महाकाली नदी गाउँ पस्ने खतरा छ।

त्यतिबेला पनि पुलको डिजाइनमै समस्या भएको भन्दै आलोचना गरिएको थियो। पोखरीको बाँध भत्किएको विषयमा निर्माण कम्पनी र पुल आयोजना दुवैले अध्ययन गरेर प्रतिवेदन बनाएका छन। समयमा डिजाइन स्वीकृत नहुनु, बजेट निकासा र भेरिएसन नहुँदासमेत निर्माण कम्पनीले काम गर्न नसकेका कारण बाँध भत्केको पुल योजना कार्यालयले जनाएको छ। 

महाकाली पुल योजना कार्यालयका सव–इन्जिनियर दुर्गादत्त अवस्थीले भत्किएको गाइडबन्ड (बाँध) समयमै पुर्ननिर्माण नभए आउँदो वर्षातमा थप जोखिम निम्तिने बताए। ‘गाइडबन्डको भेरिएसन नहुँदा निर्माण कम्पनीले काम गर्न पाएको छैन,’ उनले भने, ‘वैशाख अगाबै बाँध निर्माण नभए यहाँ बनेका अन्य संरचनामा पनि क्षति पुग्ने जोखिम छ।’ भेरिएसनका लागि कार्यालयबाट फाइल मन्त्रालयमा पुगिसकेको उनले बताए। 

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताए। ‘नयाँ डिजाइन गत वर्ष चैतमै स्वीकृत भएको हो, तर अहिलेसम्म भेरिएसन भएको छैन, ‘इन्जिनियर पाण्डेयले भने, ‘भेरिएसनका लागि पटक–पटक ताकेता गर्दा पनि टुंगो लाग्न सकेको छैन।’ 

उनले समयमै भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुन सक्ने बताए। ‘नयाँ डिजाइन स्वीकृत हुनेबित्तिकै भेरिएसन हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड नै बगाएपछि १० करोड बढीको क्षति भएको छ,’ उनले भने, ‘हामीले सरकारको आशामा उधारोमा काम गर्‍यौं। तर, न सरकारले काम गरेको पैसा भुक्तानी गरेको छ न त क्षतिपूर्ति पाएका छौं।’ उनले भेरिएसन स्वीकृत नहुँदा बिमाबाट समेत क्षतिपूर्तिको पैसा पाउन नसकेको बताए। 

‘बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुने जोखिम छ,’ उनले भने, ‘काम गरेको २१ करोड रकम सरकारले भुक्तानी गर्न बाँकी छ।’ 

निर्माण कम्पनीले तत्काल काम सुरु गर्न नसकिने भन्दै महाकाली पुल आयोजना र प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको छ। बर्खाअगावै भत्किएको गाइडबन्ड निर्माण हुन नसके बस्ती नै जोखिममा पर्ने स्थानीय बताउँछन्। 

भीमदत्त–१३ का वडाध्यक्ष रामबहादुर बोहराले समयमा गाइडबन्ड निर्माण हुन नसके १३ नम्बर वडाका ११ सय बढी घरपरिवार विस्थापित हुने बताए। ‘गत भदौको बाढीले महाकाली नदी बस्तीतर्फ सोझिएको छ,’ उनले भने, ‘सरकारले तत्काल भुजेला खोला र गाइडबन्ड निर्माणको काम गर्नुपर्छ, नभए वर्षातमा ठूलो जोखिम छ।’ भीमदत्त–१२ का वडाध्यक्ष भुपेन्द्र सिंह रावलले तत्काल काम सुरु गर्न नसके अर्को वर्षको बाढीले गत वर्षको भन्दा ठूलो क्षति हुन सक्ने बताए। ‘यहाँका स्थानीय अहिले देखिनै बाढीको त्रासमा छन्’, उनले भने, ‘वडाका बासिन्दाहरू बाधको काम छिटो सुरु गर्नुपर्छ भनेर वडाका बासिन्दा आइराख्छन्।’

पहुँचमार्गको ग·ाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रेको काम बाँकी छ। दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ। पक्की पुल निर्माणको काम गत वर्ष नै सकिए पनि पुलसँगै निर्माण हुने अन्य संरचना निर्माण हुन बाँकी छन्। सम्झौताअनुसार आठ सय मिटर लामो चार लेनको पुल, आठ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चारवटा पोखरी निर्माणको काम २० भदौ ०७७ मा सकिनुपर्ने हो। तर, पाँचपटक म्याद थप हुँदासमेत सबै संरचना निर्माण हुन सकेका छैनन्। छैटौंपटक म्याद थपको प्रक्रियामा छ। सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत ३ अर्ब २७ करोड रुपैयाँ थियो। पछिल्लो पटक डिजाइन परिवर्तन हुँदा थप एक अर्ब लागत बढेको छ।

दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण भएपछि सुदूरपश्चिम प्रदेश व्यापारका लागि प्रत्यक्ष रूपमा भारतसँग जोडिने छ। यहाँका उद्योगी व्यवसायीले भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा गरेका छन्। 

रूद्रपुर भारतकै ठूलो औद्योगिक क्षेत्र हो। नेपालको गड्डाचौकी नाकादेखि उक्त औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ। यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.