पोखराको तिब्रेकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा
पोखरा : किसानको साथी भनेर चिनिने लाटोकोसेरो संरक्षणका लागि समुदाय नै एक भएर संरक्षणमा लाग्ने प्रतिबद्धता जनाएका छन्। पोखरा २५ हेमजाका स्थानीयले लाटोकोसेरो संरक्षणका लागि स्थानीय तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन्।
२७५ घरधुरी सदस्य रहेको सामुदायिक वनका सदस्यहरूले तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन्। पोखराको हेमजामा शनिबार प्रकृतिका साथीहरू नामक संस्थाले आयोजना गरेको लाटोकोसेरो संरक्षण शिविरमा तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुवँरले लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन्।
मुसा खाएर किसानका अन्नबाली संरक्षणमा महत्वपूर्ण योगदान दिने लाटोकोसेरोको बारेमा प्रकृतिका साथीहरू नामक संस्थाल बेला बेलामा लाटोकोसेरो संरक्षण जनचेतना मूलक कार्यक्रम गरेपछि समुदाय नै संरक्षणमा लाग्नुपर्छ भनेर लाटोकोसेरो संरक्षण विशेष क्षेत्रको साथै गुदेली निशेधित क्षेत्र घोषण गरिएको तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कृष्णबहादुर कुँवरले बताए। स्थानीयले सोनी केसीले लाटोकोसेरोको महत्वको बारेमा जानकारी पाउँदा खुसी लागेको सुनाइन्।
प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले एक जोडी बयस्क लाटाकोसेरोले चार महिनाको समयावधिमा तीन हजार मुसाहरू खाने अध्ययनले देखाएको बताए। कृषि प्रधान देश नेपालमा लाटोकोसेरोले मुसा खाएर किसानको खाद्यन्न जोगाएर किसानलाई गुन लगाउँदै आएको छ।
यति महत्वपूर्ण पन्छी संरक्षणका लागि तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहले लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणको साथै गुदेली निशेधित क्षेत्र घोषण गरेकोमा खुशी व्यक्त गरे। यस घोषणाले लाटोकोसेरोको साथै अन्य पन्छी र वन्यजन्तु संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए। सय हेक्टर क्षेत्रफलको बनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र समुदायले घोषण गरेको यो पहिलो रहेको पनि उनले बताए।
स्याङ्जा, म्याग्दी जिल्ला लगायत ५ क्षेत्रमा समुदायले लाटोकोसेरो संरक्षण क्षेत्र र गुदेली निशेधित क्षेत्र घोषणा गर्ने तयारी गरेका छन्। सरकारले जनताबाट चाहे अनुसार समुदाय नै संरक्षणमा लाग्ने गरी लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेकोमा डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले खुशी व्यक्त गरे। घोषणा डिभिजन वन कार्यल सँग समन्वय गरेर भएको पनि उनले बताए। संरक्षणमा समुदाय नै जागरूक भएर लागेकाले वन कार्यालयले आवश्यक सहयोग गर्ने पनि उनले सुनाए।
प्रकतिका साथीहरू नामक संस्थाले विगत ११ वर्षअघिदेखि लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव गर्दै आएको छ। यस वर्ष जनकपुरमा १२ औं संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव आयोजना हुँदै छ। लाटोकोसेरो संरक्षण उत्सव गर्दै प्रकृतिका साथीहरूले यस वर्ष कास्की, स्याङ्जाका विभिन्न क्षेत्रमा लाटोकोसेरोका लागि १ सय गुँड बनाएर राखेको प्रकृतिका साथीहरू नामक संस्थाले जनाएको छ।