शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्यसामग्रीसम्बन्धी प्रबोधीकरण
डडेल्धुरा : डडेल्धुराका सातवटै तहका विषयगत शिक्षकहरूलाई पाठ्यक्रम र पाठ्यसामग्रीका बारेमा प्रबोधीकरण गरिएको छ। विद्यार्थीको रिजल्टलाई आधार मानी उनीहरूको संख्यात्मकभन्दा गुणात्मक शिक्षामा जोड दिने गरी सातै पालिकाका शिक्षकहरूलाई नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा प्रबोधीकरण गरिएको हो।
जिल्लाका सातवटै स्थानीय तहका शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको अवस्थाका बारेमा समेत जानकारी गराइएको छ।
पछिल्लो समयमा जिल्लाका सामुदायिक विद्यालयहरूमा पढाइको गुणस्तर खस्कँदै गइरहेको र सामुदायिक विद्यालयको वार्षिक रिजल्ट खस्कँदै गइरहेको अवस्थामा जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा जानकारी दिन र कार्यान्वयन गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो।
कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका शिक्षकलाई सहजीकरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख खडक महताले जनाए। अनुभवी तथा प्रशिक्षित शिक्षकबाट नै कार्यक्रममा नयाँ पाठ्यक्रमको उद्देश्य, संरचना र शिक्षण विधिबारे विस्तृत जानकारी प्रदान गरिएको शिक्षा विकास तथा समन्वय कार्यालय डडेल्धुराले जनाएको छ।
जिल्लाका सातवटै स्थानीय तहमध्ये परशुराम नगरपालिकावाट सुरु गरिएको उक्त प्रबोधीकरण कार्यक्रम शुक्रबार अजयमेरु गाउँपालिकामा सम्पन्न गरिएको समन्वय कार्यालयका प्राविधिक सहायक गोपालदत्त पाण्डेले जानकारी दिए।