राजधानीमा किन बढे जघन्य हत्याका घटना ?
काठमाडौं : पुस ७ गते खोटाङका मिलन आचार्यले ५६ वर्षीय बुवा कुलप्रसाद आचार्य र २२ वर्षीय भाइ प्रवीण आचार्यको हत्या गरे। भक्तपुरको बालकोटमा बस्दै आएका मिलनले राति सुतिरहेकै अवस्थामा आफ्ना बुवाको टाउकोमा ४/५ पटक लोहोरो बजारे र हत्या गरे। पुनः अर्को कोठामा गए।
जहाँ उनका भाइ निदाइरहेका थिए। भाइलाई पनि सिलौटोले प्रहार गरे सुतेकै ठाउँमा हत्या गरे। मानसिक रूपमा विक्षिप्त भएका मिलनले आफूलाई पनि मार्ने उद्देश्यले भक्तपुरको बिरुवा जंगलमा गएर आत्महत्याको प्रयास गरे। हत्या गरेको ३ दिनमा प्रहरीकहाँ आत्मसर्मपण गरेका मिलन हाल प्रहरी हिरासतमा छन्।
000
भक्तपुर नगरपालिका–२ स्थित सहिद स्मृति खेल मैदाननजिकै गत पुस २ मा राति बुवाले छोराको हत्या गरे। राति १० बजेर १५ मिनेटमा अछाम घर भएका ६३ वर्षीय दिपबहादुर शाहीले छोरा नरेन्द्रको हत्या गरेका हुन्। मिर्गौलामा समस्या देखिएर उपचार गराउन आएका ३१ वर्षीय नरेन्द्र शाहीलाई उनकै बुवाले चक्कु प्रहार गरेका हुन्। छोराको उपचार गराउन अछामबाट काठमाडौंं आएका दिपबहादुर शाहीले खाना खाँदै गरेका छोरामाथि चक्कु प्रहार गरेका थिए। नरेन्द्रलाई मिर्गाैला दिन तयार भएका उनका बुवाले किन चक्कु हानेर मारे ? प्रहरीले अनुसन्धान गरिरहेको छ।
000
काठमाडौंंको चन्द्रागिरि नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङ मृत फेला परिन्। यही पुस ३ मा धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ डेरामा मृत भेटिएकी थिइन्। उनी चन्द्रागिरि नगरपालिका–११ सतुंगलस्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन्। उनको हत्या गर्ने भने दाजु नाता पर्ने २४ वर्षीय विश्वास तामाङ छन्। डेरा लिएर काठमाडौंंमा बस्दै आएकी सरिता पुस १ गतेदेखि नै आफन्तको सम्पर्कमा थिइनन्। उनका दाजु आएर प्रहरीमा बहिनी हराएको उजुरी दिए। प्रहरीले सरिताकै कोठा खानतलाशी गर्दा उनी सुत्ने खाट मुन्तिर हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।
000
बिल तिर्ने विषयमा विवाद हुँदा ललितपुरको च्यासलमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको हत्या भएको छ। ललितपुरको च्यासलस्थित हिमालय कलेजबाट बीई तेस्रो सेमेस्टर पूरा गरेका सुनसरीका नयन गुरुङलाई क्याफेमा काम गर्ने कामदारले छुरी प्रहार गरेर हत्या गरेका हुन्। साथीहरूसँग मिलेर उनी सोमबार पुस ९ गते राति च्यासलमा रहेको द टाउन हव नामको क्याफेमा पुगेका थिए। मृतक नयनले राति करिब ९ बजेर १० मिनेटमा त्यहाँबाट निस्कने बेला बिल तिर्न खोजे।
बिल तिर्ने बेला क्याफेको काउन्टरमा बसेका हेमराज भट्टले पुरानो उधारो पनि तिर्न भन्दै ताकेता गरे। नयनले आफूहरू लामो समयदेखि उक्त क्याफेको ग्राहक भएको र त्यही खाता रहेको बताएका थिए। यसैक्रममा विवाद बढयो। विवादकै क्रममा हेमराजले काउन्टरमा रहेको छुरी निकालेर नयनलाई प्रहार गरेका थिए।
000
यी चार घटना पछिल्लो १० दिनभित्र उपत्यकामा घटेका हुन्। पुस १ देखि १० गतेसम्म १० दिनमा राजधानीमा ५ जना व्यक्ति मारिए। तीनवटा घटनामा हत्या गर्ने घरभित्रैकै आफन्त थिए भने ललितपुरको घटनामा होटलमा काम गर्ने व्यक्तिले नयनको ज्यान लिए।
उपत्यकामा जघन्य हत्याको तथ्यांक बढ्दो क्रममा छ। सुन्दै आङैसिरिङ हुने प्रकारका घटना घटाउनेमा उनीहरूकै आफन्त पर्छन् भन्दा पत्याउन नै गाह्रो हुन्छ। तर, पछिल्लो समय अपराधका घटनामा आफन्त र छरछिमेक र चिनेजानेको व्यक्तिको संलग्नता बढ्दो छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले दिएको तथ्यांकअनुसार आव २०८१/२०८२ सुरु भएपछि उपत्यकामा १८ जनाको हत्या भएको छ। कर्तव्य ज्यान कसुरमा विभिन्न बहानामा १८ जना मारिए। फुटकर ज्यानअन्तर्गत अन्य १३ जना मृत भेटिएका छन्। ५ महिनामा काठमाडौंं, भक्तपुर र ललितपुरमा ३१ जना मारिएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार यो आव सुरु भएपछि साउनदेखि कात्तिकसम्म देशभर १ सय ९२ वटा कर्तव्य ज्यानका घटना घटेका छन्। ४ महिनामा विभिन्न कारणले १ सय ९२ जना अकालमै मारिएका छन्। यस्तै देशभर यो अवधिमा ३ सय ८२ वटा ज्यान मार्ने कसुरका घटना घटेका छन्।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी ‘मेट्रो’ का प्रवक्ता विनोद घिमिरेका अनुसार जघन्य हत्याका घटना अपवाद बाहेक आवेसको कारणले बढी घट्ने गर्छ। आवेश, असफलता पाएको कारण बढेको फस्टेसन, निराशापन, एन्जाइटी, ड्रिप्रेसन तथा पारिवारिक विवाद र वैमनस्यताका कारण अपराध धेरै घट्छ। आफन्तबाट हुने हत्यामा आर्थिक कारणभन्दा पारिवारिक र आवेस धेरै हुने गर्छ। मेट्रो प्रवक्ता घिमिरेका अनुसार, परिवार छरछिमेकमा विवाद भइरहेको देखेमा सुनेमा प्रहरीलाई खबर गर्ने गर्दा घटनाले ठूलोरूप लिन सक्दैन। कहिलेकाहीँँ स–साना विषयले उग्ररूप लिँदा पनि जघन्य घटना घट्छन्।
हरेक व्यक्तिले कानुन जान्न जरुरी छ। जुनसुकै बहानामा अपराधमा संलग्न भए पनि कानुनी कारबाही भोग्नै पर्छ भन्ने थाहा भयो भने केही हदसम्म व्यक्ति सम्हालिन सक्छ।
नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारी कर्तव्य ज्यानका कसुरमा प्रायः व्यक्तिगत कारण बढी हुने गरेको बताउँछन्। लामो समयसम्म योजना बनाएर, तयारी गरेर, यस्ता घटना कम घट्छन्। प्रायः क्षणिक आवेश नियन्त्रण गर्न नसक्दा र व्यक्तिगत दुश्मनी र विवादका कारण सुन्दै डरलाग्ने घटना घट्न पुगेका छन्। बालकोट घटना चरम निराशा र असफलताले निम्ताएको भन्न सकिन्छ।
प्रवक्ता अधिकारी भन्छन्, ‘यस्ता घटना कतिबेला कसले घटाउछ कुनै पूर्वअनुमान नै गर्न सकिन्न। पूर्वनियोजित र पूर्वयोजनाबद्ध पनि होइन। प्रहरीले घटना रोकेन, दण्डहिनता मौलायो भन्नुभन्दा पनि यस्ता घटनाहरू रोक्नका लागि व्यक्ति, परिवार र आफन्त अनि समाजले नै प्रभावकारी भूमिका खेल्नुपर्छ।’
आफ्नो परिवारमा निरन्तर विवाद भैरहने समस्याहरू समाधानका लागि सबैले ध्यान दिनुपर्छ। परिवारका सदस्यहरूको मेन्टल हेल्थका विषयमा पनि सबैले विचार गर्न जरुरी छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेले पछिल्लो १० दिनमा ३ वटा कर्तव्य ज्यानका घटना अनुसन्धान गर्दै छन्। उनी भन्छन्, ‘परिवारभित्रको अपराध पूर्वअनुमान गर्न कसैले सक्दैन। पारिवारिक वेमेल र आर्थिक कारण यस्ता अपराध निम्ताउने प्रमुख कारण हो।
मानसिक रूपमा बिछिप्त भएको व्यक्ति र आवेश नियन्त्रण गर्न नसक्दा यस प्रकारका अपराधका घटना घट्छन्। प्रवक्ता नेउपानेका अनुसार, विभिन्न अपराधमा मुछिएकाहरूमध्ये ९० प्रतिशतभन्दा बढीले सामान्य कानुनी जानकारी राखेकै हुन्छ। उनी भन्छन्, लागुऔषधसम्बन्धी र साइबर अपराधमा मुछिएर हिरासत पुग्नेहरूले प्रायः आफूलाई योबारे थाहा थियन भन्छन्। तर, अन्य आरोपीहरूले सामान्य कानुनको जानकारी राखेकै हुन्छन्। अपराधमा संलग्न भइसकेपछि कानुन जानेको थिइन् भनेर छुट नहुने उनको तर्क छ।
समाज र प्रहरीलाई जोड्नका लागि नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरेको छ। जसअन्तर्गत नेपाल प्रहरीले नेपाल अधीराज्यभर जनचेतनाका कार्यक्रम सञ्चालन गरीरहेको छ। स्कुल कलेज होस् या विश्वविद्यालयमा समेत यस्ता कार्यक्रम र छलफल चलिरहेको छ।
लागुऔषध दुर्व्यसन, साइबर अपराध, आत्महत्या तथा अन्य विविध पक्ष र गैरकानुनी कार्य र अपराधका विषयमा जानकारी गराउने उद्देश्यले यस्ता कार्यक्रम देशैभर नै सञ्चालन भइरहेको छ।