मधेस केन्द्रित दलसँग संवाद र सहकार्यका लागि लोसपाले बनायो समिति
वीरगन्ज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न ५ सदस्यीय समिति गठन गरेको छ। लोसपाले संवाद, सहकार्य, कार्यगत एकता र पार्टी एकिकरणका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।
लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा लोसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सोनलसहित वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेको समिति गठन गरेको उल्लेख छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संसथागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरुबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भएको भन्दै लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजी तथा परिणाममुखी बनाउनका लागि समिति गठन गरिएको जनाएको छ।