एमालेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि प्रत्येक सदस्यले ३ मिनेट बोल्न पाउने
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।
आज दिउँसो बैठकमा पेश भएको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्ना धारणा प्रस्तुत गर्ने क्रम सोमबार जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्रले जानकारी दिए।
सोमबार पनि बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राख्ने छन्। उनका अनुसार पहिलो दिनको बैठकमा २७ जनाले धारणा राखेका छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत र घनश्याम पाण्डे, शिवराज सुवेदी, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलाबजङ्ग शाह, धर्मराज रेग्मी, विनोद शाह, ठम्मरबहादुर विष्ट,नवीन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल र खड्कबहादुर खड्काले आफ्ना धारणा राखेका हुन्।
प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई समूहगतरुपमा विभाजन नगरी बैठकमा पालैपालो बोल्न दिइएको हो। केन्द्रीय सदस्यले ३ मिनेटभित्र प्रतिवेदन र राजनीतिक विषयमा बुँदागत रुपमा सुझाव र धारणा राख्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो।
गौतमका अनुसार बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता गरिएका पोलिटब्यूरो र केन्द्रीय सचिवालय बैठकका निर्णय सर्वसम्मतिले अनुमोदन गरेको छ। बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ।
अध्यक्ष ओलीले नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा सम्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको प्रस्तुत गरेका थिए।