प्रचण्डको प्रस्ताव : फागुन १ गतेभित्र आफ्नो र परिवारको सम्पत्ति विवरण पार्टीलाई पेस गर्नू
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताएका छन्।
पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उनले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताएका हुन्।
उनले भने, ‘पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।‘
प्रचण्डले आगामी फागुन १ गतेभित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पेश गरेका छन्।
माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने र एक्लै चुनाव लड्ने गरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका छन्।
अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवाद मान्नेहरुसँगै एकता गरेर अघि बढ्ने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।