कांग्रेस विवादको जड, जहिल्यै क्रियाशील सदस्यता
काठमाडौं : कांग्रेसको जब महाधिवेशन आउँछ, जहिल्यै बल्झिन्छ क्रियाशील सदस्यताको विवाद । पार्टीको वडादेखि केन्द्रसम्म चुनाव लड्न क्रियाशील सदस्यता प्राप्त गरेकै हुनुपर्छ, त्यसैकारण क्रियाशील सदस्यता वितरणमा जहिल्यै ‘गुट’ को राजनीति चल्छ ।
क्रियाशील सदस्यले नै पार्टी नेतृत्व चयन गर्ने भएकाले कांग्रेसका लागि यो निकै महत्वपूर्ण मानिन्छ । कांग्रेसको १२औं महाधिवेशनदेखि क्रियाशील सदस्यताको विवाद सुल्झिएको छैन । १३औं र १४औंमा यसको लफडा बाँकी राखेर महाधिवेशन गरियो । तर, १५औं महाधिवेशन भने यो विवाद सुल्झाएर मात्रै गर्ने नेताहरूको भनाइ छ । त्यसैकारण आगामी चैतभित्र क्रियाशील सदस्यताको विवाद टुंगो लगाइसक्ने भन्दै समिति गठन भएको छ ।
महामन्त्री गगन थापा संयोजकत्वको समितिले काम सुरु गरिसकेको जनाएको छ । सदस्यता फारम भर्न नपाएको गुनासो कांग्रेस यस्तो पार्टी हो, जसको वडादेखि केन्द्रीय कार्यसमितिमा निर्वाचन लड्न चाहने व्यक्तिको पहिलो खुड्किलो भनेकै क्रियाशील सदस्यता हो । उक्त सदस्यता भएपछि मात्र पार्टीभित्रका विभिन्न तह र तप्कामा बसेर काम गर्न सकिन्छ । तर, पार्टीभित्र संस्थापन र संस्थापनइतर गुटभित्रको चरम राजनीतिका कारण क्रियाशील सदस्यताको फारम भर्नै नपाएको कार्यकर्ताको गुनासो छ ।
केन्द्रले पठाउने क्रियाशील सदस्यता फारम जिल्ला सभापतिले क्षेत्रीय सभापतिलाई नदिने, क्षेत्रले प्रदेश क्षेत्रीय कार्यसमिति र क्षेत्रले पालिका तथा वडालाई फाराम नै नदिएर होल्ड गर्ने गरेको कार्यकर्ताको गुनासो छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य सीता गुरुङले पुराना क्रियाशील सदस्यको नवीकरण आठ महिनाभित्र पूरा गरी अध्यावधिक गर्ने र नयाँ क्रियाशील सदस्यता फाराम पनि वितरण गर्ने बताइन् । ‘चैतभित्र नवीकरण प्रक्रिया सक्ने गरी लागेका छौं । त्यहीअनुसार सबै साथीहरू आ—आफ्नो तोकिएको प्रदेशमा खटिएका छौं,’ गुरुङले भनिन् ।
त्यसो त कांग्रेसमा फरक गुटका कार्यकर्ता छन् भने सम्बन्धित व्यक्तिलाई नदिएर फाराम लुकाउने गरिन्छ । दाङकी कांग्रेस नेतृ रश्मी लामिछानेको यही समस्या भोगेको बताइन् । उनी संस्थापन इत्तर समूहकी हुन् । त्यसैकारण क्रियाशील सदस्यता फाराम भर्न नपाएको उनको गुनासो छ । ‘केन्द्रमा बुझ्दा मेरो क्रियाशीलता सदस्यता आइसकेको भनिएको थियो,’ उनले भनिन्, ‘पछि थाहा भयो, जिल्लामा हामीलाई सदस्यता दिनेले नै नदिएका रहेछन् । यो हदसम्मको राजनीति गरिन्छ ।’
यस्तो छ क्रियाशील सदस्यता लिने प्रक्रिया
कांग्रेसको साधारण सदस्यता लिएको एक वर्षपछि मात्र क्रियाशील सदस्यता दिने प्रक्रिया सुरु हुन्छ । तर, पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण क्रियाशील सदस्यता समयमा नपाएको कार्यकर्ताको गुनासो हुने गर्छ ।
पछिल्लो समय क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन केन्द्रीय कार्यसमितिको बैठकबाट महामन्त्री थापाको संयोजकत्वमा समिति बनाइएको छ । २०६७ असोज १ गतेदेखि ५ गतेसम्म कांग्रेसले १२ औं महाधिवेशनका क्रममा क्रियाशील सदस्यताको विवाद उच्च तहमा पुग्यो । त्यसयता विवाद यथावत् छ ।
त्यतिबेला १२औं महाधिवेशनमा देखा परेका विवाद १३औंमा मिलाउने भनिएको थियो । तर भएन । सदस्यता विवाद सल्टाउन नसक्दा पुरानै सदस्यबाट सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो । २०७२ फागुन २० देखि २३ गतेसम्म कांग्रेसले १३औं महाधिवेशन गर्यो । १३ औं महाधिवेशन पनि पुरानै क्रियाशील सदस्यबाटै भयो, सदस्यता विवाद भने यथावत् राखियो । जसबाट अहिलेका पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भए । त्यतिबेला देखिएका क्रियाशीलसम्बन्धी विवादसम्बन्धी समस्या १४औं महाधिवेशनका बेला मिलाउने भनियो, तर यत्तिकै छोडियो ।
२०७८ मा भएको १४औं महाधिवेशनमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य भएको तथ्यांक सार्वजनिक गरिएको थियो । सोही सदस्यबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । १४औंमा देखिएका विवाद १५औं महाधिवेशनसम्म मिलाउने भनेर छोडिए । अहिले बनेको समितिलाई पनि यो समस्या सल्टाउन सकस परेको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिका— १ का कृष्णप्रसाद शर्मा कांग्रेसमा सक्रिय राजनीति गर्दै आएको १२ वर्ष भएको बताउँछन् । तर उनले क्रियाशील सदस्यता पाउन सकेका छैनन् । ‘मलाई १२औं महाधिवेशनदेखि क्रियाशील सदस्यता दिने भन्दै थम्थम्याइएको छ,’ उनले भने, ‘तर अहिलेसम्म दिइएको छैन । अब १५औं महाधिवेशनसम्म पनि सदस्यता पाउन सकिएन भने पार्टी छाड्नुको विकल्प छैन ।’
यो पटक कृष्णले काठमाडौं धाएरै पार्टीका महामन्त्री गगन थापासँग आफ्ना समस्या राखेका छन् । कांग्रेस विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ । २०७८ मंसिरमा १४औं महाधिवेशन भएकोले अब २०८२ मंसिरभित्रै १५औं महाधिवेशन हुनुपर्छ । तर, अहिलेसम्म क्रियाशील नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका कामले तीव्रता पाउन सकेको छैन ।
१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये महामन्त्री थापा निर्वाचित क्षेत्र, काठमाडौं ४ मा मात्रै क्रियाशील नवीकरण काम सकिएको छ । अरू, जिल्लामा क्रियाशील नवीकरण र नयाँ वितरणका फारम पठाए पनि प्रक्रिया अगाडि बढेको छैन । महामन्त्री थापा संयोजक र केन्द्रीय सदस्य सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बिहीबारको बैठकले क्रियाशील सदस्यताको कामलाई तीव्रता दिने निर्णय गरेको छ । अहिले निर्माण भएको समितिले १२औं देखि पन्छ्याउँदै आएको विवाद समाधान गर्नका लागि प्रदेशगत तवरले जिम्मेवारी दिइएको छ ।
जसअन्तर्गत बागमती र गण्डकी गुरुङ, मधेस र लुम्बिनी प्रदेशमा रसाइली, कोशी, कर्णाली र सुदूरपश्चिममा चौधरी पुगेर क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्ने जिम्मा दिइएको छ । समिति सदस्यका अनुसार कांग्रेसले १४ औं महाधिवेशनमा क्रियाशील रहेको संख्याअनुसार नै जिल्ला–जिल्लामा नवीकरण फारम पठाएको छ । केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति घोषणा गर्नुअघि नै क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण र थाँती विवाद हल गर्ने गरी काम अघि बढिरहेको समितिका सदस्य गुरुङले बताइन् ।
यस पटकदेखि कांग्रेसले क्रियाशील सदस्यता बर्सेनि नवीकरण गर्नुपर्ने कामको सुरुवात गरेको छ । क्रियाशील सदस्यता वितरण खुकुलो बनाउने नीति पनि केन्द्रीय समितिको बैठकबाट पारित भएको छ । कसैलाई कांग्रेस हुनैबाट वञ्चित गराउने गरी क्रियाशील सदस्यतामा कडाइ गर्न नहुने पार्टीले नीति लिएको छ । सदस्यता व्यवस्थापन समितिको पछिल्लो बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य रसाइलीले जानकारी गराए ।
वरीयता विवादले रोकियो तरुण भेला
कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुस २२ र २३ का लागि तय भएको विशेष भेला रोकिएको छ । उक्त भेला रोकिनुको मुख्य कारण पार्टीभित्रको वरीयता विवाद रहेको नेताहरू बताउँछन् ।
पार्टी सभापति देउवापछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । तर, इतर समूहले भने देउवापछि संस्थापन इतरका नेता डा. शेखर कोइराला हुनुपर्ने अडान राख्दै आएको छ । सोही विवादका कारण तरुण दलको भेला स्थगित भएको हो । तरुणका एक नेताले भने, ‘वरीयता विवादले गर्दा विराटनगर सम्मेलनमा शेखर दाइ जानुभएन । त्यस्तो अवस्था नदोहोरियोस् भनेर स्थगित गरिएको हो ।’
केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष सहभागी हुने गरी तरुण भेला डाकिएको थियो । विशेष कारण देखाएर विज्ञप्तिमार्फत भेला स्थगित गरिएको छ ।