प्रचण्ड भन्छन् : ‘नेताको जीवनशैली फेरिँदा माओवादी बिग्रियो’

प्रचण्ड भन्छन् : ‘नेताको जीवनशैली फेरिँदा माओवादी बिग्रियो’

काठमाडौं : सत्ता केन्द्रित हुँदा माओवादी आन्दोलन बिग्रिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले स्वीकार गरेका छन् ।  केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको उत्तर दिँदै अध्यक्ष दाहालले यस्तो स्वीकार गरेका हुन् । 

‘माओवादी नेताहरूको जीवनशैली फेरिँदा त्यसको असर माओवादी आन्दोलनमा परेको छ,’ बैठकमा दाहालले भने, ‘विगतमा जे भयो त्यसबाट पाठ सिक्नुपर्छ । अब माओवादी आन्दोलनलाई बलियो र एकताबद्ध बनाउँदै आउँदो निर्वाचनमा माओवादीले एकताबद्ध तरिकारले एक्लै लड्छ ।’ 

माओवादी आन्दोलनलाई चुस्तदुरुस्त बनाउन माओवादी अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्ताको आयआर्जनको हरहिसाब खोजी गर्ने बताएका छन् । 

केन्द्रीय सदस्य राजु खड्काका अनुसार पार्टी अध्यक्ष प्रचण्डले फागुन १ गतेसम्म राजनीतिक नियुक्ति  लिएका, स्थानीय तहका पूर्व तथा बहालबाला जनप्रतिनिधि, केन्द्रीय सदस्यदेखि प्रदेशसम्मका नेता तथा कार्यकर्ताहरूको सम्पत्ति विवरण पार्टीमा पेस गर्न  निर्देशन दिएका छन् ।नेताहरूको जीवनशैली बदलिएको प्रतिआम नागरिकमा निराशा छाएको केन्द्रीय सदस्य खडकाले बताए । ‘केन्द्रीय सदस्य तथा नेताहरूको आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्ताव बैठकमा जोडतोडले पार्टीअध्यक्षले राख्नुभएको छ,’ खड्काले भने । 

शक्ति आर्जन गर्ने दाउमा प्रचण्ड 
‘३२ सिटे म्याजिक  नम्बर’को खेल फेल भएपछि प्रचण्ड नेतृत्वको सरकार गत असारमा ढलेको थियो । त्यसपछि प्रचण्ड आक्रोसित रूपमा प्रस्तुत हुँदै आएका छन् । प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा शक्ति आर्जन गर्न एकतामा जोड दिएका छन् ।

उनले माओवादी केन्द्रले स्कुलिङ र विचार मिल्ने पार्टी तथा समूहहरूसँग एकता गर्न उच्चस्तरीय एकता संवाद समिति बनाउने प्रतिवेदनमा प्रस्ताव गरेका छन् । ‘स्कुलिङ तथा विचार मिल्ने, जनयुद्धमा भाग लिएका वा जनयुद्धप्रति सकारात्मक दृष्टिकोण राख्नेसँग पार्टीसँग एकता गर्नुपर्छ’, बैठकमा प्रचण्डले भने ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाको प्रतिक्रियाले पनि  प्रचण्डले शक्ति आर्जन गर्न कसरत गरिरहेको पुष्टि गरेको छ । एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, नेकपा, मोहन वैद्य, प्रभु साह नेतृत्वको पार्टीसँग एकताको पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्षले राखेको सापकोटाले जनाए ।

प्रचण्डले आगामी चुनावमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने घोषणा गरेका छन । प्रवक्ता सापकोटाले भने, ‘गठबन्धन नगरी एक्लै चुनाव लड्छौं भन्ने अध्यक्षज्यूको तयारी छ ।’  

‘माओवादी क्रान्तिकारी शक्ति’

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार अध्यक्ष प्रचण्डले बैठकमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिको चर्चा प्रतिवेदनमा गरेका छन् । उनले भने,  ‘विश्व राजनीतिको परिवेशलाई आंकलन गर्दै कसरी जाने ? बारे प्रतिवेदनमा चर्चा गरिएको छ ।’  ‘माओवादी क्रान्तिकारी ढंगले प्रतिस्पर्धाको राजनीतिबाट जनतामा गएको छ ।

माओवादी क्रान्तिकारी शक्ति हो’, प्रतिवेदनबारे पोखरेलले स्पष्ट गरे, ‘यसमा जुन वैचारिक र सैद्धान्तिक समस्या देखिएको छ त्यसमा पनि वर्ग र उत्पीडित समुदायको जुन समस्या छ तिनको समाधान गर्दैै, सूचना र प्रविधिको युगलाई पक्रिदै युवा केन्द्रित कार्यक्रम तयार गर्दै पार्टी निर्माणका लागि जनपरिचालन गर्नुपर्नेतर्फ अध्यक्षको प्रतिवेदन केन्द्रित छ ।’

पार्टी संगठनमा समस्यै समस्या 
प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्नु अघि भौगोलिक तथा गैर भौगोलिक सबै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । उनीहरूले सदस्यताको अध्यावधिक भएको विवरण, वडा सम्मेलन र पालिका सम्मेलन, उपचुनावको रिपोर्टिङ र संगठनमा देखिएका समस्याबारे बेली विस्तार लगाएका थिए । माओवादी केन्द्रका उपमहासचिव पोखरेलका अनुसार  हरेक प्रदेशमा फरक–फरक खालका समस्या देखिएका छन । 

‘कुनै ठाउँमा संगाठनिक काम सकिएर  प्रशिक्षणको माग भएको छ भने कुनैमा विभाग र जनवर्गाीय संगठनमुखी कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ’, उनले भने, ‘जनवर्गीय संगठनलाई लयमा सञ्चालन गर्नुपर्ने तथा व्यवस्थित गर्नुपर्छ भन्ने कुरा पनि आएको छ ।’  केन्द्रीय सदस्य खड्काले पार्टीको नीति, विधि, कार्यनीति यथास्थितिमा राखेर पार्टीको पुनर्निर्माण नहुनेतर्फ अध्यक्षले प्रतिवेदन केन्द्रित गरेको बताए ।

बैठकमा प्रचण्डले जनपरिचालनअन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्ग केन्द्रित तराई–मधेसको अभियान चलाउने बताएका थिए । त्यसलगतै मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन् । अहिले माओवादीको पक्षमा देशैभर सकारात्मक ऊर्जा पैदा भएको र यथास्थितिबाट जनतामाझ फर्किनुपर्नेमा प्रचण्डको जोड रहेको छ । 

यसका लागि फागुन १ देखि तराई मधेस जागरण अभियान र अर्को एक महिना पूर्व–पश्चिम अभियान सञ्चालन गरी अध्यक्षलगायत सबै पदाधिकारी सामेल हुनुपर्ने प्रस्ताव समेत प्रचण्डको रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

पुनको इन्ट्रीले तरंग
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको ‘इन्ट्री’ ले माओवादीमा तरंग पैदा गरेको छ । पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय समितिको आइतबारको बैठकमा देखा परे । त्यो पनि पार्टी अध्यक्षको बाँयापट्टि । जहाँ नेमप्लेटमा पार्टी उपाध्यक्ष भनेर लेखिएको फोटो आइतबार सार्वजनिक भएको थियो । माओवादी केन्द्रका उपमहासचिव पोखरेलले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको कुनै जिम्मेबारी नतोकिएको बताए । null

‘उहाँलाई कुन पदमा राख्नेबारे कुनै पदको टुंगो लगाएका छैनौं’, उनले भने, ‘उहाँ जनवादी जनतन्त्र स्थापनाका लागि सम्मानित जिम्मेवारीमा पनि हुनुहुन्थ्यो । जनवादी गणतन्त्रको लक्ष्य प्राप्तिका लागि राजनीतिक बाटोबाट काम गर्ने इच्छा व्यक्त गर्नुभयो । उहाँको कुरो पार्टीले सुनेर पार्टी बैठकमा आमन्त्रित गरेको छ ।’ पार्टी उपाध्यक्ष लेखेको नेमप्लेटमा पुन पार्टी बैठकको ड्यासमा देखिएको कुरो के हो ? 
भन्ने प्रश्नमा उपमहासचिव पोखरेल भन्छन्, ‘उहाँ सम्मानित व्यक्तित्व पनि हो, त्यसैले बैठकमा ड्यासमा बस्नुभयो । तर, पदीय जिम्मेवारी उनलाई छैन ।’ यसअघि पुन माओवादीको पदाधिकारी, स्थायी कमिटीको बैठकमा पनि सहभागी भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.