पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन
काठमाडौं : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पश्चिम नेपालको भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको १५ औँ बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयबमोजिम उक्त योजनाका प्रस्तावित विषयहरू प्रस्तुत गरिएको थियो ।
क्षतिको विस्तृत लेखाजोखा (डिडिए) गर्न बाँकी भए सम्बन्धित मन्त्रालयबाट गराउन र सोका लागि अर्थ मन्त्रालयलाई परिषद्ले दिनुपर्ने प्रस्ताव बैठकमा आएको थियो । प्रस्तुत प्रस्तावका आधारमा ठोस योजना बनाइ यही पुस २८ गते बस्ने परिषद्को बैठकले निर्णय गर्ने गरी बैठक स्थगन भएको छ ।
डोटी भूकम्प (बाजुरा, बझाङसमेत) पञ्चातको निजी आवास पुननिर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने र २०८० सालको बाढीजन्य विपद्मा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने विषयमा प्राधिकरणले तयारी गरेको छ । आगामी माघ २ गते हुने भूकम्प सुरक्षा दिवसको कार्यक्रममा पुनः निर्माणबारे घोषणा गर्ने सरकारको तयारी रहेको छ । बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिवलगायतको सहभागिता थियो ।