प्रलोभन दिएर ठगी गर्न ५०० बढी सन्दिग्ध फोन नम्बर सक्रिय
काठमाडौं : तीन वर्ष कतारमा बसेर काम गरेका कैलालीका दीपक भट्ट (नाम परिवर्तन) हाल प्रहरी कार्यालय धाइरहेका छन् । अनलाइनमा बेच्न राखिएको स्कुटर किनेका उनले पैसा त गुमाए गुमाए, साथमा चोरीको आरोप पनि खेपिरहेका छन् ।
विदेश बसेर आएका दीपकले अनलाइनमार्फत नै स्कुटर खरिद गरेका थिए । स्कुटरको मूल्यबापत उनले विदेशमा किनेर ल्याएको आइफोन दिएका थिए । उनलाई स्कुटर बेच्ने युवकले अर्को एक युवतीका नाममा रहेको स्कुटर चोरी गरेर बिक्री गरेका थिए । स्कुटर पास गरेर लिन खोज्दा उनलाई बिक्री गर्ने युवक नै फरार भएपछि उनी उपत्यका ट्राफिक प्रहरी कार्यालयको चक्करमा परेका हुन् । स्कुटर धनी युवतीले आफ्नो स्कुटर हराएको उजुरी दिएपछि उनी घटनामा मुछिएका हुन् ।
०००
आचार्य भन्छन्, ‘चिट्ठामार्फत ठगी भएका २६ वटा उजुरी दर्ता भएका छन् । यस्तै पार्सल आएको छ भन्दै ठगी भएको १ सय ११ वटा उजुरी, ओटीपी कोड ठगीमा ९५ वटा उजुरी, विज्ञापन राखी ठगी भएका २ सय १५ वटा उजुरी दर्ता भएका छन् । उपत्यकाभर २९ वटा स्क्यामका रूपमा ठगी, सोसलमिडिया ह्याक गरी २५ वटा ठगी तथा अनलाइन जब स्क्याम ३ सय ४६ वटा ठगीको उजुरी दर्ता भएका छन् । ठगी कार्यमा संलग्न भन्दै १ महिला र १२ जना पुरुष गरी १३ जना पक्राउ गरी मुद्दा दर्ता गरिएको छ ।
०००
तपाईंलाई कुनै अपरिचित फोन नम्बरबाट म्यासेज आयो ? तपाईंलाई कुनै चिट्ठा प¥यो भन्दै तपाईंको ध्यान खिच्यो ? वा प्रलोभनमा पारिरहेको छ ? विदेशबाट पठाएको उपहार तपाईंका नाममा आएको छ भन्दै कसैले झुटो म्यासेज पठाइरहेको हुन सक्छ । ख्याल गर्नुहोस् है, यस्तै विभिन्न प्रकारका प्रलोभन दिएर ठगी गर्ने गिरोह सक्रिय रहेको छ ।
पार्सल आएको छ, चिट्ठा परेको छ, वा तपाईंको अमेरिका जाने सपना पूरा हुँदैछ भन्ने खालको म्यासेज पठाएर प्रलोभन दिन र लाखौंं ठगी गर्न नेपालमा गिरोह नै सक्रिय रहेको छ । यसका लागि पाँच सयभन्दा बढी फोन नम्बरहरू प्रयोग भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ का प्रवक्ता होबिन्द्र बोगटीले अनलाइन ठगी कार्यमा गिरोह नै लागेको पुष्टि गरे ।
सीआईवी प्रवक्ता बोगटीका अनुसार पछिल्लो समयमा ठगी गर्ने गिरोहले ईसेवा, खल्तीजस्ता आर्थिक कारोबार हुने एपहरूमाथि निगरानी गरिरहेका छन् । यस्ता एपहरू चलाउने बेला ध्यान नदिँदा ठगहरू सजिलै व्यक्तिको आर्थिक कारोबार ह्याक गर्ने अवस्थामा पुगेका छन् । धोकापूर्ण प्रलोभनमा पारेर लाखौंं रकम ठगी भएको भन्दै प्रहरीमा निवेदन आउने क्रम बढ्दो छ । सचेत रहनका लागि सीआईबीले विज्ञप्ति नै जारी गरेको छ ।
प्रहरीका अनुसार, सामाजिक सञ्जालहरू (फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर, इमो)लगायतका सोसल प्लेटफर्म आर्थिक कारोबारका लागि असुरक्षित भइरहेको छ । ठगी गर्ने व्यक्तिहरूले मोबाइल एपको कार्यालय वा सोसल मिडियाको प्रधान कार्यालयबाट बोलेको भन्दै सरकारी कर्मचारीलाई समेत प्रलोभनमा पार्ने गरेका छन् । सर्वसाधारणहरूलाई ठगी गर्ने व्यक्ति तथा गिरोहविरुद्ध प्रहरीले खोजी तथा अनुसन्धान अगाडि बढाएको छ ।
सीआईबीका अनुसार ईसेवा, खल्ती, बैंक तथा वित्तीय संस्थाहरूको लोगोसमेत प्रयोग गरी उनीहरूले उक्त संस्थाबाट बोलेको भन्दै विभिन्न व्यक्तिहरूलाई कल गर्छन् । डिजिटल वालेटमा पटकपटक गलत पासवर्ड राखिदिएर वालेट नै अस्थायी लक गरिदिन्छन् । यही समयमा सम्बन्धित व्यक्तिलाई फोन गरी तपाईंको वालेटमा समस्या आएको छ, म कम्पनीबाट बोलेको भन्दै ओटीपी कोड माग्ने र उक्त अकाउन्ट नै ह्याक गर्ने गर्छन् । वालेटमा भएको सबै पैसा मिनेटभरमै आफ्नो खातामा सारेर ठगी गर्ने गर्छन् ।
सामाजिक सञ्जालमा एआई प्रयोग गरी विभिन्न स्वरमा फोन गर्ने र तपाईंको सामान आएको छ । कुरियर गर्नका लागि भन्दै पैसा पठाउन लगाउने गर्छन् । फाइदा हुने खालको व्यापार छ भनी, इन्टरनेटको लिंक पठाई, लिंकको माध्यमबाट मोबाइलको एक्सेस लिने गर्छन् । मोबाइलमा भएको बैंकिङ एपको एक्सेस लिएर रकम चोरी गर्ने कार्य बढिरहेको छ ।
यस्तै, अनलाइन व्यापारका नाममा विभिन्न साइटमा आकर्षक भिडियो र फोटो अपलोड गर्ने गिरोह नै सक्रिय छन् । सामान किन्ने ग्राहकसँग अग्रिम पैसा मागेर सामान डेलिभर नगरी फरार हुने प्रवृत्ति बढ्दो छ । यस्तै तरिकाले पोखरामा ५७ लाख, चितवनमा १६ लाख, सरकारी कर्मचारीको ५ लाख ५० हजार तथा विभिन्न कम्पनी तथा संघसंस्थाको करोडौं रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा प्राप्त भएको छ ।
सीआईबी प्रवक्ता बोगटीका अनुसार यस्ता कार्यमा संलग्न पाँच सयभन्दा बढी सिमकार्डहरू रहेको प्रहरीले थाहा पाएको छ । यस्ता नम्बरहरूमा प्रहरीले निगरानी गरिरहेको छ । अनुसन्धान अगाडि बढाएको छ । यस्ता अपरिचित नम्बरबाट आएको कुनै पनि फोन तथा म्यासेज रेस्पोन्स नगर्न सीआईबीले आग्रह गरेको छ ।