सार्थक जीवनका लागि यज्ञानुष्ठान

सार्थक जीवनका लागि यज्ञानुष्ठान

आज घण्टा, मिनेट र पल–पलको समयलाई पैसामा रूपान्तरण गरी लाभ प्राप्त र्ने परिपाटीमा यज्ञानुष्ठानजस्तो महत्तव कार्यलाई सम्पादन गर्न अग्रसर रहने स्वयं सन्तुष्ट जनशक्ति पाइन अत्यन्त कठिन छ।

यज् धातुमा नङ् प्रत्यय जोडिएपछि यज्ञशब्द निर्मित हुन्छ। यसरी बनेको यज्ञशब्दले संस्कार विशेषलाई बुझाउँछ। मानव जीवनलाई सार्थक, सोद्देश्यक र पावन बना उने कर्मविशेषलाई यज्ञ भनिन्छ। विनायज्ञ जीवन परिष्कृत हुँदैन।

हरेक असल कर्म यज्ञ हुने भएकाले देवपूजन गर्नु, अतिथि सत्कार गर्नु, तीर्थयात्रा गर्नु, आफूभन्दा मान्य व्यक्तिका उपर सम्मान प्रकट गर्नु, आफूभन्दा निम्न तहका व्यक्तिप्रति स्नेह गर्नुजस्ता कार्यलाई पनि यज्ञ शब्दले नै बुझाउँछ। तर यस सानो आलेखको उद्देश्य यज्ञसँग सम्बन्धित ती सबै पक्षको वर्णन गर्नु नभई निश्चित देश, काल र हवनीय द्रव्यद्वारा विधिपूर्वक सम्पादन गरिने कर्मविशेषको संक्षिप्त चर्चा मात्र हो।

यज्ञ यसलोक र परलोक दुवैलाई सपार्ने साधन मानिँदै आएको छ। यज्ञद्वारा यज्ञीय देवता र मनुष्यको सम्बन्धलाई बलियो बनाउने काम हुन्छ। याज्ञिक संस्कारमा त्याग र विश्वशान्तिको भावना पाइन्छ भने यज्ञलाई नै पर्यावरणीय सन्तुलन र उपचार पद्धतिको महत्त्वपूर्ण सामग्रीसमेत मानिएको छ। हिन्दुहरूको जीवनशैली शास्त्र निर्दिष्ट कर्मकाण्डद्वारा अनुप्राणित छ। त्यो कर्मकाण्ड भन्नु वास्तवमा यज्ञ हो। जथाभावी घिउ र चरुजस्ता द्रव्यलाई आगोमा हालेर मात्रै कुनै फल प्राप्त गर्न सकिँदैन। यसलाई सम्यक् रूपमा सम्पादन गर्नका लागि निश्चित विधिविधान र द्रव्यहरूको जरुरत पर्छ। अग्नि हरेक किसिमका यज्ञका साधक देवता हुन् किनभने अग्निद्वारा नै विधिपूर्वक प्रदान गरिने हवि निश्चित गन्तव्यमा पुग्छ।

यज्ञ गर्ने स्थान शुद्ध र शान्त हुनुपर्छ। यज्ञभूमिलाई गाईको गोबरद्वारा उपलेपन र मार्जन गरी शुद्ध पारेर सुगन्धित पीठोद्वारा रेखांकित गरी वेदीलाई सुसज्जित गर्नुपर्छ। शास्त्रोक्त नाम र गुणअनुसारका समिधा तथा अन्य हवनीय द्रव्यहरूको व्यवस्था गरी आचार्यको निर्देशानुरूप यज्ञारम्भ गर्ने परिपाटी छ। याज्ञिक देवताहरूलाई मन्त्रोच्चारणपूर्वक सम्बोधनद्वारा हवनीय सुगन्धित द्रव्यहरूको आहुति दिनुपर्छ। मन्त्रोच्चारण गरिसकेपछि ‘स्वाहा’शब्दको उच्चारणपूर्वक दिइएको हवनीय द्रव्यलाई अग्निमुखद्वारा सम्बद्ध देवताले ग्रहण गरी अपेक्षित फलद्वारा यजमानलाई कृतार्थ गर्छन्। पितृकार्यमा भने स्वाहाका स्थानमा स्वधा शब्दको उच्चारण गर्नुपर्छ भन्ने शास्त्रनिर्देश रहिआएको छ।

ऋग्वेदले यज्ञको महत्त्वलाई उद्घाटित गर्दै भनेको छ– ‘अयं यज्ञो भुवनस्य नाभिः’ अर्थात् यस चराचर जगत्को केन्द्र भनेको नै यज्ञ हो। मनुष्यद्वारा सञ्चालित अन्य सम्पूर्ण गतिविधिको आत्मा भनेकै यज्ञ हो। शतपथ ब्राह्मणले पनि यज्ञको महत्त्वगान गर्दै उद्घोष गरेको छ– ‘यज्ञो वै  श्रेष्ठतमं कर्म’ अर्थात् यज्ञ सम्पूर्ण कर्महरूमा  श्रेष्ठतम कर्म हो। अनादिकालदेखि नै हाम्रा महर्षिहरूद्वारा बल, बुद्धि र तेजोवृद्धिका निमित्त याज्ञिक कृत्यहरू सञ्चालित हुँदै आएका छन्। यस तथ्यलाई नबुझेर यदाकदा मानिसहरू अनायासै अग्निमा घिउचरु फालेर नोक्सान मात्रै हुन्छ भन्न पछि पर्दैनन्। तर यो भ्रम हो किनभने गरेको कर्म निष्फल हुनै सक्तैन भन्ने कर्मवादी दार्शनिक मान्यता छ। गरेको कर्म असल होस् या खराब, त्यसले तदनुरूप नै फल चखाउँछ भन्ने कुरा आधुनिक विज्ञानद्वारा समेत प्रमाणित भएको छ। सत्कर्मले सत्फल र असत्कर्मले दुष्फल दिलाउने हुनाले स्वर्ग र नरकको व्यवस्था भएको हो भन्ने कुरा शास्त्र–प्रतिपादित छ।

नास्तिकहरू भन्छन्– ‘मरिसकेका बाबुआमाले सराद्धे खान सक्तैनन्, सराद्धे गर्नु भनेको अन्नपात र पैसाको नोक्सान गर्नु मात्रै हो।’ परन्तु यस प्रकारको बुझाइलाई शिष्ट परम्परामा उचित मानिँदैन। उपर्युक्त नकारात्मक विचार बोकी जो नास्तिकहरू आफ्ना बाबुआमाको  श्राद्ध गर्दैनन्। त्यस्ता मानिसको रगत तिनकै अतृप्त पितृहरूले पिउँछन् र आफ्ना पितृको  श्राद्ध नगर्ने ती मनुष्यहरूको आयु, वंश, धन, विद्या, स्वर्ग, मोक्ष आदि सम्पूर्ण कुरा नष्ट हुन्छन् भन्ने ठोकुवा गरेका छन् प्राचीन ऋषि–मुनिहरूले। याज्ञिक कृत्यतर्फको प्रवृत्तिले कसैलाई हानि हुँदैन, सबैको कल्याणमात्र हुन्छ। यसले मानिसलाई कर्मिष्ठ बनाउँछ। कर्ममार्गमा प्रवृत्त हुनु भनेको अल्छ्याइँलाई पराजित गर्नु हो। पौरस्त्य सनातन धर्मशास्त्रले विनाप्रयोजन कुनै कार्यको पनि विधान गरेको छैन।

याज्ञिक कृत्यको पनि लौकिक र अलौकिक दुबै प्रयोजन छ। हाम्रो यज्ञ–परम्पराको मूल भनेको वेद हो। वेदको दृष्टिमा सम्पूर्ण ब्रह्माण्ड नै यज्ञमय छ। धर्मशास्त्रीय र पौराणिक ग्रन्थहरूले पनि वैदिक यज्ञ–परम्पराको मुक्तकण्ठले प्रशंसा गरेका छन्। यज्ञको अलौकिक प्रयोजन भनेको स्वर्गप्राप्ति हो। ‘स्वर्गकामो यजेत’ अर्थात् जसले स्वर्गको इच्छा गर्छ, त्यसले यज्ञ गर्नुपर्छ। यसरी सनातन धर्मशास्त्र के भन्छ भने– जसले स्वर्ग जाने इच्छा गर्छ, त्यसले विधिपूर्वक अग्निमा हवन गर्नु पर्छ। विधिपूर्वक गरिएको यज्ञले अपूर्व नामक तत्त्वको उत्पत्ति गर्छ र त्यसै अदृष्टतत्त्व अपूर्वको माध्यमबाट कर्ताले स्वर्ग प्राप्त गर्छ भन्ने शास्त्रको दृढ निश्चय छ। जसरी घरको तला चढ्न मान्छेलाई भर्‍याङको आवश्यकता पर्छ, त्यसैगरी स्वर्गरूपी तलामा आरूढ हुन पनि अपूर्व नामक सोपान अर्थात् भ¥याङले काम गरेको हुन्छ।

स्वर्गप्राप्तिका अतिरिक्त ऐहलौकिक लाभ पनि यज्ञले गराउँछ। घृत, चरु आदि पवित्र द्रव्यबाट गरिएको याज्ञिक कर्मले व्यक्तिको भाग्योदय गराउने, सन्तानवृद्धि गराउने, रोगबाट मुक्ति दिलाउनेजस्ता असंख्य लाभदायक परिणामहरू प्राप्त हुन्छन् भन्ने दृढविश्वास पनि अनादिकालदेखि रहँदै आएको छ। पवित्र द्रव्यको हवनपश्चात् निस्किएको धुवाँले वायुमण्डलमा रहेका विषाक्त कीटाणुहरूलाई नष्ट गरी वायुलाई स्वच्छ पार्ने काम गर्छ। शिलाजितले रगत सफा गरे झैं याज्ञिक धूमले पनि हावामा रहेका हानिकारक जीवाणु नष्ट गरी यज्ञकर्ता र वरिपरिका सबै व्यक्तिको आयुलाई वृद्धि गर्छ। जब वायुका माध्यमद्वारा याज्ञिक आहुति मेघमण्डलमा पुग्छ, तब त्यसले सूर्यकिरणद्वारा आकर्षित जलकणहरूलाई शुद्ध पार्ने काम गर्छ।

यसरी आहुतिद्वारा परिष्कृत जल पृथ्वीमा बर्सिएपछि त्यसले प्राणीका पोषक अन्न र औषधिहरूलाई स्वच्छ पार्ने काम गर्छ। गाईको घिउमा विषनाशक तत्त्व रहेकाले याज्ञिक कृत्य सम्पादनार्थ यसको प्रयोग गर्नुपरेको तथ्य स्पष्ट हुनआउँछ। हवन कार्यले विभिन्न दूषित पदार्थद्वारा दुर्गन्धित वायुमण्डललाई पनि सुगन्धित तुल्याउँछ। मनुस्मृतिमा के उल्लेख गरिएको छ भने– ‘अग्नौ प्रस्ताहुतिः सम्यगादित्यमुपतिष्ठते। आदित्याज्जायते वृष्टिर्वृष्टेरन्नं ततः प्रजाः।।’ अर्थात् विधिपूर्वक अग्निमा प्रक्षिप्त आहुति रसरूपमा सूर्यमण्डल पुग्छ, त्यस रसरूप आहुतिलाई सूर्यले पवित्र जलका रूपमा परिणत गरी धर्तीमा बर्साइदिन्छ, वृष्टि भएको जलले अन्नको रूप लिन्छ र अन्नद्वारा प्राणीहरूको उद्भव र पोषण हुन्छ।

यसरी मनुस्मृतिले पदार्थको पदार्थान्तर वा शक्तिमा रूपान्तरण हुने कुराको उल्लेख गरी आधुनिक वैज्ञानिक अनुसन्धान–पद्धतिलाई पर्याप्त खुराक दिएको कुरा स्पष्ट हुन्छ। यसरी नै  श्रीमद्भगवद्गीतामा पनि यज्ञकर्मको महिमागान गरिएको छ। त्यहाँ उल्लेख भएअनुसार सम्पूर्ण विश्वभरका प्राणी अन्नबाट उत्पन्न हुन्छन्, त्यस अन्नलाई उत्पादन गर्ने तत्त्व भनेको वर्षा हो। वर्षालाई उत्पादन गर्ने तत्त्व भनेको यज्ञ हो,त्यस यज्ञरूपी कर्मको उत्पादक तत्त्व वेद हो। वेद स्वयं अनश्वर परब्रह्मबाट साक्षात्कृत भएको हो। सर्वव्यापक परब्रह्मस्वरूप ईश्वर–तत्त्व चाहिँ यज्ञकर्ममा नै आ िश्रत भएको हुन्छ। यसरी भागवद्गीताले पनि यज्ञलाई सम्पूर्ण विश्वब्रह्माण्डको सारसर्वस्व मानेको छ।

यज्ञकर्मद्वारा प्राप्त हुन सक्ने लाभका विषयमा आजकल पश्चिमा देशहरूले समेत चासो दिन थालेका छन्। याज्ञिक कृत्यले शारीरिक र मानसिक रोगहरूको शमन गर्छ भन्ने शास्त्रोक्त उद्घोषको प्रमाणीकरणमा आज वैज्ञानिकहरूद्वारा निरन्तर रूपमा शोध–अनुसन्धान भइरहेको छ। कुनै पनि पदार्थ नष्ट हुँदैन बरु शक्तिमा रूपान्तरित हुन्छ भन्ने वैज्ञानिक मान्यता छ। यसै मान्यताअनुसार पनि अग्निमा प्रक्षिप्त आहुति देवताहरूले आर्जन गर्ने शक्तिमा रूपान्तरित भई सन्तुष्ट बनेका यज्ञभोक्ता देवताहरूले कर्तालाई उद्देश्यअनुरूप फल दिन्छन् भन्ने कुरामा विश्वास गर्ने आधार स्पष्ट हुन्छ। कतै पनि उपयोग नगरिएको अवस्थामा रहेको एउटा सानो खुर्सानीलाई टुक्र्याएर जब राम्रोसित तातेको तेलमा फुराइन्छ, तब त्यसले विस्तृत आयतन लिई भान्साघरभरि खार लगाउँछ। यज्ञीय आहुतिको असर पनि यस्तै हो।

यज्ञाग्निमा प्रक्षेपण गरिएको आहुतिले पनि यज्ञाग्निसितको रासायनिक प्रतिक्रियाद्वारा आफूलाई विशेष शक्तिमा परिणत गराई वायुमण्डलमा विस्तृत आकार लिन पुग्छ। विभिन्न प्रकारका औषधिमय शास्त्रोक्त आहुतिद्वारा वायुमण्डलीय विस्तृत क्षेत्र संशोधित र परिष्कृत हुँदा धर्तीका प्राणीले शुद्ध सास फेर्न पाउँछन् भन्ने विद्वान्हरूको ठम्याइँ छ। आधुनिक अनुसन्धानले पनि यसै सिद्धान्तलाई पुष्टि गरेको छ। परन्तु यज्ञमा मान्छेले तन, मन, धन र समयको पर्याप्त लगानी गर्नुपर्ने हुन्छ। आज घण्टा, मिनेट र पल–पलको समयलाई पैसामा रूपान्तरण गरी लाभ प्राप्त गर्ने परिपाटीमा यज्ञानुष्ठानजस्तो महत्तम कार्यलाई सम्पादन गर्न अग्रसर रहने स्वयं सन्तुष्ट जनशक्ति पाइन अत्यन्त कठिन छ। तापनि आफ्नो सामथ्र्यले भ्याएसम्मको याज्ञिक अनुष्ठान गर्दा मानव जातिको वरत्र र परत्र दुवै सप्रने भएकाले त्यसतर्फ ध्यान दिनैपर्ने देखिन्छ।

यसप्रकार यज्ञ भनेको वैदिक सनातन धर्मशास्त्रद्वारा विधान गरिएको मूल अनुष्ठान हो। यसले यज्ञकर्ता र यज्ञानुष्ठानसँग सम्बद्ध व्यक्तिहरूको मानसिक र भौतिक उत्थान गरी कर्तालाई भुक्ति र मुक्ति प्रदान गर्छ। यसलाई मनुष्यको सम्पूर्ण चराचर जगत्सँग सहअस्तित्व कायम गराउने साधन मानिएको छ। यज्ञानुष्ठानले पर्यावरणीय सन्तुलन र वायुशुद्धि गराउनका साथै मनुष्यलाई धनधान्य, सन्तान, स्वास्थ्य, सुख, शान्ति र दीर्घायुजस्ता कुरा प्रदान गरी समग्र मानव जीवनलाई नै सार्थक बनाउँछ।

 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.