बाजाबिनाको भुवो पर्व

बाजाबिनाको भुवो पर्व
जयपृथ्वी नगरपालिका–९ देवल गाउँको भुवो । तस्बिर : प्रताप ओली
सुन्नुहोस्

बझाङ : बझाङमा भुवा खेल्ने प्रचलन कायमै रहे पनि बाजा बजाउने कला भएका जनशक्ति नहुँदा समस्या भएको छ। कतिपय गाउँमा भुवो खेल्ने मानिसहरू छन् तर बाजा बजाउने मानिसहरू छैनन् भने कतिपय ठाउँमा बाजा बजाउनेहरू भए पनि युवा पिँढीलाई भुवो खेल्न नआउने समस्या देखिएको हो।

जयपृथ्वी नगरपालिका— ९ देवलमा राँका हालेर भुवो उद्घाटन गरिए पनि केही दिन बाजा बजाउने कलाकौशलता भएका मानिसहरूको अभावमा भुवो पर्व मनाउन समस्या भएको स्थानीय युवा नरेन्द्र खड्काले बताए। उनका अनुसार आजभोलि भुवो खेलिँदैछ तर बाजा बजाउने सीमित जनशक्ति भएका कारण कुन गाउँ तथा टोलमा जाने उनीहरूमा पनि अलमल हुने गरेको छ। यस्तै समस्या करिब जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेशमा पनि रहेको छ। सबैभन्दा बढी दलित बस्ती भएको पडेश गाउँका बाजा बजाउने कलाकौशल भएका दलितहरू अन्य गाउँतिर पनि विभाजित हुँदा बाजाको तालमाल बिग्रिने गरेको स्थानीय शान्तराज जोशीले बताए।

दुई, तीन जना बाजा बजाउनेहरूको बीचमा सयौं जनाले भुवोभस्सो खेल्दा रोमाञ्चक नहुने गरेको उहाँको भनाइ छ। पडेशकै दलितहरू अहिले भुवोकै लागि गोलाई, मोर्तलीलगायतका गाउँमा विभाजित हुने गरेका छन्। पहिले दमाउ बाजा, टाम्को, सहनाई, झ्याली सबै बाजाको तारतम्य मिल्दा भुवा खेल्दा थप आकर्षक हुने गथ्र्यो। अहिले केवल संस्कृति जोगाउने काममात्रै भएको स्थानीय दिनेश रोकायाले बताए। 

बाजा बजाउने कलाकौशल भएका दलित समुदायका युवा पिँढीले नमान्ने र वयस्क निकै भएको स्थानीय संसार खड्काले बताए। खड्काले भने, ‘पहिलेजस्तो बाजाको रौनक नहुँदा पछिल्लो समयको भुवो भस्सोको मौलिकता हराउन थालेको छ। दुईचार जना बाजा बजाउनेहरूको साथमा पडेशमा भुवो खेलिएको छ। 

भुवो खेल्ने परम्परा केवल संस्कृतिमात्र नभई स्थानीय सामूहिकताको प्रतीक भए पनि खेल्ने र बजाउनेहरू कलाकारहरूको संख्या कम हुँदै गएको छ। वृद्ध कलाकारहरूको नयाँ पुस्ताले सीप सिक्न नचाहनु, वैदेशिक रोजगारका कारण युवाहरू गाउँ छोड्नु, र आधुनिक संगीतले परम्परागत बाजाको स्थान लिनुले यो समस्या जटिल बनाएको छ। अब स्थानीय तहले गैरदलितलाई पनि बाजा बजाउने तालिम दिन आवश्यक छ।’

आजभोलि गाउँहरूमा पनि ध्वनि प्रणाली र डीजे संगीतको प्रभाव छ। यसले परम्परागत बाजाहरूको महत्त्व पनि घटाउँदै लगेको देखिन्छ। स्थानीय समुदायमा विशेष महत्त्व राख्ने पन्चैबाजासहित बाँसुरी, मुरली, ढोलक र मादलजस्ता बाजाहरू अचेल विरलै सुनिन्छन्। बाजा नहुँदा गाउँका चाडपर्व र विशेष अवसरहरू केवल सामान्य औपचारिकतामा सीमित हुन थालेका छन्। थलारा गाउँपालिका— २ बगाडामा पनि युवा पिँढीले सजिलै बाजा बजाउन नमान्ने र पुराना बाजा बजाउने कला कौशल भएकाहरू नभएकाले भुवो खेल्न समस्या भएको छ। nullजयपृथ्वी–२ मोर्तली गाउँको भुवो। 

स्थानीय सरकार र संघसंस्थाहरूले परम्परागत बाजा र कलाकारहरूको संरक्षणका लागि विशेष पहल गर्न जरुरी छ। बाजा बनाउने र बजाउने सीपलाई पाठ्यक्रममा समेट्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र बाजाहरूलाई आर्थिक अनुदान उपलब्ध गराउनेजस्ता प्रयासले यो समस्या समाधान गर्न सकिन्छ।

भुवा खेल्ने परम्परा हाम्रो मौलिक पहिचान भएकाले यसको संरक्षणका लागि सबै तह र तप्काले चासो दिनुपर्ने थलारा–२ का ज्येष्ठ नागरिक बहादुर सायर बताउँछन्। स्थानीय तहले विकास निर्माणमा मात्रै रकम खर्चिनुभन्दा यस्ता कलाकौशलता र संस्कृति जोगाउने कुरा सिकाउनतिर पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। पुराना बाजाहरूलाई पुनर्जीवित गरेरमात्रै हामी आफ्ना सन्ततिलाई परम्पराको सही पाठ दिन सक्ने अन्यथा, भुवा खेल्नका लागि बज्ने बाजाहरू इतिहासको पानामा मात्रै सीमित हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.