खुम्बु क्षेत्रमा अनिश्चितकालका लागि उडान स्थगित

खुम्बु क्षेत्रमा अनिश्चितकालका लागि उडान स्थगित
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : सगरमाथा राष्ट्रिय निकुञ्जसहित खुम्बु क्षेत्रमा हवाई उडान अनिश्चितकालका लागि स्थगित गरिएको छ। वायुसेवा कम्पनीहरूले पुस २१ आइतबारदेखि अनिश्चिकालका लागि उडान स्थगित गरेको हो। 

निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय समूह तथा संघसंस्थाहरूको कारण देखाउँदै वायुसेवा कम्पनीहरूले उडान स्थगित गरेको वायुसेवा सञ्चालक संघ, नेपालका प्रथम उपाध्यक्ष प्रतापजङ पाण्डेले जानकारी दिए। खुम्बु क्षेत्रका स्थानीय युवा तथा संघसंस्थाहरूले निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तु सुरक्षा तथा बासस्थान संरक्षणमा चूनौति देखिएको भन्दै यही पुस १७ (जनवरी १, २०२५) बाट हेलिकप्ट उडानमा प्रतिबन्ध लगाएका थिए। 

  •  खुम्बु क्षेत्रका स्थानीय तथा संघसंस्थाले निकुञ्ज क्षेत्रभित्र हेलिकप्टरका कारण वन, वातावरण तथा वन्यजन्तु सुरक्षामा चुनौती देखिएको भन्दै यही पुस १७ बाट हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएका थिए।
  •     यस क्षेत्रमा वार्षिक करिब ६० हजार पर्यटक आगमन हुने गरेको छ। त्यसमा करिब १५ प्रतिशत पर्यटकले हेलिकप्टरको प्रयोग गर्ने गरेका छन्। 

स्थानीय समूहहरूले हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धका सम्बन्धमा सम्बन्धित पदाधिकारीहरूसँग संघका प्राधिकारीहरूले पटक–पटक वार्ता गर्दा पनि कुनै निक्र्यौलमा पुग्न नसकेको बताइएको छ। हाल खुम्बु क्षेत्रका हेलिप्याडहरूमा झन्डा गाडी अवरोध सिर्जना गरिएको छ। आपतकालीन अवतरण गर्नुप¥यो भने पनि स्थान नरहेको भन्दै प्रथम उपाध्यक्ष पाण्डेले ‘सदस्य वायुसेवा कम्पनीहरूका जहाजहरू अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यलाई समातेर कारबाही गर्ने भन्ने जस्ता अभिव्यक्तिहरू दिएका छन्। यसले हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति भएन,’ उनले भने।

उडानको प्रत्याभूति नभएसम्मका यो क्षेत्रका सम्पूर्ण उडानहरू स्थगन गरिएको बताइएको छ। उक्त क्षेत्रमा उडान भर्ने स्टल रुटका वायुसेवा कम्पनीहरूले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडानहरू स्थगन गर्ने पाण्डेले जानकारी दिए।

उडान प्रतिबन्धका सम्बन्धमा स्थानीय गाउँपालिका, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, वन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका सरोकारवाला निकायहरूलाई वायुसेवा कम्पनीहरूले जानकारी गराएको बताएका छन्। प्राधिकरणले विज्ञप्तिमार्फत उडानसम्बन्धी सम्पूर्ण अधिकार प्राधिकरणको भएको र निकुञ्जले प्रतिबन्ध लगाउन नमिल्ने सम्बन्धमा विज्ञप्ति पनि निष्कासन गरेको थियो। निकुञ्ज क्षेत्रको गाउँपालिकाले वार्ताको समन्वय गरे पनि स्थानीय संस्था तथा युवाहरू सहमतिमा आउन नसकेको पाण्डेले बताए। धेरैपटकको प्रयास पनि सहमत नभएपछि शान्तिसुरक्षा र उडान सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उडान स्थगित गर्नुपर्ने बाध्यता रहेको पाण्डेले स्पष्ट पारे। 

खुम्बु क्षेत्र पदमार्गका लागि पर्यटकहरू माझ परिचित छ। यस क्षेत्रमा वार्षिक करिब ६० हजार पर्यटक आगमन हुने गरेको छ। त्यसमा करिब १५ प्रतिशत पर्यटकले हेलिकप्टरको प्रयोग गर्ने गरेका छन्। हेलिकप्टर कम्पनीहरूको वार्षिक कुल उडानमा करिब ६० प्रतिशत उडान यस क्षेत्रमा हुने गरेको पाण्डे बताउँछन्। अहिले माउन्टेन फ्लाइट हुने समयमा उडानमा प्रतिबन्ध लगाउँदा वायुसेवा कम्पनीहरूको आम्दानीमा असर परेको छ। वायुसेवा कम्पनीहरूको आम्दानीसँगै सरकारले विभिन्न शिर्षकमा उठ्ने राजस्वमा पनि असर गर्ने पाण्डे बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.