न्युयोर्कमा शेर्पा किदुग गुम्बामा बुद्धका पवित्र अस्तु धातुको प्रतिष्ठापन
न्युयोर्क : अमेरिकाको न्यूयोर्क सिटीको क्विन्समा रहेको शेर्पा किदुग गुम्बामा ऐतिहासिक धार्मिक कार्यक्रम सम्पन्न भएको छ। भगवान बुद्धको पवित्र अस्तु धातुलाई गुम्बाको मुख्य सभाहलमा आधिकारिकरूपमा स्थापित गरिएको छ। यसले बौद्ध धर्मावलम्बीहरूको धार्मिक विश्वासलाई बलियो बनाउँदै आध्यात्मिक शान्तिको नयाँ किरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
हिउँदको कठ्यांग्रिने चिसोबीच कार्यक्रममा उल्लेखनीय भक्तजनहरूको सहभागी रहेको थियो। विहानै बौद्ध लामा गुरुहरूबाट बुद्ध, बोधिसत्व र धर्मरक्षाकाहरूको सम्मानमा विशेष पूजाअर्चना तथा मन्त्रपाठ गरिएको थियो। विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म दर्शनार्थीहरूलाई बुद्धका पवित्र अस्तु धातुको दर्शन गराइएको थियो।
शेर्पा किदुग अमेरिकाका संरक्षक समितिका अध्यक्ष ल्हाक्पा रिन्जी शेर्पाले बुद्धको पवित्र अस्तु धातु किदुगको गुम्बासम्म ल्याउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे। उनले किदुगलाई प्राप्त उक्त अस्तु धातुलाई कुनै विशेष दिनमा वर्षमा एकपटक मात्र दर्शनका लागि उपलब्ध गराइने कुरा पनि उल्लेख गरे। शेर्पा किदुग अमेरिकाका अध्यक्ष इन्जिनियर तेम्बा शेर्पाले बुद्धको अस्तु धातुको महत्त्वलाई स्पष्ट पर्दै शेर्पा किदुगको गुम्बामा प्रतिष्ठापन गर्नु धेरै गर्वको कुरा भएको बताएका छन्। उनले थपे, 'यस पवित्र अस्तु धातुको स्थापनाले किदुग गुम्बा र सम्पूर्ण अमेरिकामा बौद्ध धर्मको अमूल्य शिक्षाको प्रचार र प्रसारमा योगदान पुर्याउनेछ।'
शेर्पा किदुगले प्राप्त गरेको यो पवित्र अस्तु धातु २०१८ मा नेपाल बौद्ध महासंघलाई थाइल्याण्डको धर्मकाय फाउन्डेसनले उपहारस्वरूप प्रदान गरेको थियो। त्यसपछि नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे नुर्बु टुण्डु शेर्पा र आचार्य सर्की शेर्पाले शेर्पा किदुगका धर्म सांस्कृतिक विभागका संयोजक श्री ङवाङ जिम्बा शेर्पालाई काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी २०८१ कात्तिक २६ गते बुद्धको अस्तु धातु (रिड्सेल) सिसाको चैत्यसहित किदुग गुम्बाका लागि हस्तान्तरण गरेका थिए।
नेपाल बौद्ध महासंघबाट शेर्पा किदुग अमेरिकालाई बुद्धको अस्तु धातु हस्तान्तरण गर्ने क्रममा थेग्छेन पेमाचोलिङ गुम्बा, सल्लेरी, सोलुखुम्बुका अध्यक्ष इन्जिनियर तेन्जिङ शेर्पा, महासचिव निमा तुन्डु शेर्पा र शेर्पा किदुगका संरक्षक समितिका अध्यक्ष ल्हाक्पा रिन्जी शेर्पाले विशेष पहल गरेका थिए।
नेपाल, भारत, थाइल्याण्ड, श्रीलंका, बर्मा, चीन, जापानलगायतका देशहरूसँगै युरोप र अमेरिकामा पनि बुद्धका पवित्र अस्तु धातुहरू संरक्षित गरिएको छ। न्युयोर्कको शेर्पा किदुग गुम्बा समेत अब यस सूचिमा थपिएको छ, जसले बौद्ध धर्मको प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यस ऐतिहासिक कार्यले नेपाल र सम्पूर्ण नेपाली समुदायलाई नयाँ उचाइ प्रदान गर्नुका साथै विश्व शान्तिका लागि बुद्धका शिक्षाहरूलाई पुनर्जीवित गर्ने अवसर प्रदान गरिने छ।
यस पवित्र कार्यले न्युयोर्कका शेर्पा गुम्बालाई धार्मिक स्थलको रूपमा मात्र परिचित गराएको छैन। यसले बौद्ध धर्मको गहिरो अर्थ र परम्परालाई सबैको हृदयमा अनन्तकालसम्म बाँचिराख्ने गरी सन्देश फैलाएको छ। सम्पूर्ण नेपाली समुदाय र बौद्ध धर्मावलम्बीहरूको लागि यो एक ऐतिहासिक कदम भएको छ, जसले धार्मिक एकता र सांस्कृतिक धरोहरको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
कार्यक्रममा उपस्थित निवर्तमान संरक्षक समितिका सदस्य पेम्बा गेल्जेन शेर्पाले भने, 'न्युयोर्कको शेर्पा गुम्बामा पवित्र बुद्धको अस्तु धातु स्थापना गर्नु हाम्रो लागि ठूलो अवसर र भाग्यको कुरा हो। यसलाई सही ढंगले संरक्षण गर्दै, बुद्धका महत्त्वपूर्ण तिथिहरूमा दर्शनार्थीहरूलाई दर्शन दिन उपयुक्त हुनेछ।'
भूतपूर्व महासचिव आङ छिरिङ शेर्पाले भने, 'न्यूयोर्कको शेर्पा किदुग गुम्बामा बुद्धको अस्तु धातु प्रतिस्थापन गर्नु एक ऐतिहासिक कदम हो। यसले बुद्धका अमूल्य शिक्षाहरूलाई हाम्रो समाज र सम्पूर्ण अमेरिकामा फैलाउनको लागि महत्वपूर्ण कडीको काम गर्नेछ।'
त्यस्तै अर्को सहभागी छिरिङ ल्हामुले खुशी हुँदै भने, 'बुद्धको अस्तु धातुको दर्शन गर्नु पाउँदा प्रत्यक्ष सम्यक सम बुद्धको दर्शन प्राप्त गरेको अनुभूति भयो। यसको लागि शेर्पा किदुगलाई हार्दिक धन्यवाद दिन चाहन्छु।'
बुद्धका अस्तुधातु बौद्ध धर्मावलम्बीहरूको लागि पवित्रताको स्रोत हुन्। यी अस्तुधातुहरूको दर्शन र पूजाले अपार पुण्य प्राप्त हुने विश्वास छ। बौद्ध धर्मका अनुयायीहरू यी अस्तुधातुलाई भगवान बुद्धको प्रत्यक्ष उपस्थिति र शिक्षाको प्रतीक मान्छन्। यसले धार्मिक आस्था सुदृढ गर्दै मानिसलाई आध्यात्मिक मार्गतर्फ प्रेरित गर्दछ।
बुद्धका अस्तुधातु गौतम बुद्धको जीवन र शिक्षासँग सम्बन्धित प्राचीन इतिहासको प्रमाण हुन्। यी अस्तुधातुहरू विभिन्न देशका स्तूप र विहारमा संरक्षित छन्, जसले बौद्ध धर्मको विकासक्रम र त्यसको सांस्कृतिक प्रसारको चित्रण गर्छ। सम्राट अशोकको समयमा यी धातुहरू विश्वभर फैलाइएको तथ्यले यसको ऐतिहासिक मूल्य झन् बढाएको देखिन्छ।