नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न
काठमाडौं : नेपाल एसबिआई बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो।
सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।
साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ लि” को आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ। सभाले बैंकका शेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
उक्त सभाले सभा समक्ष पेश गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित/स्वीकृत गरेको छ।