मानव सेवा आश्रमको भवनका लागि ५ लाख ११ हजार गोप्य दान
वीरगन्ज : वीरगन्जमा निर्माणाधीन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एकजना दाताले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान दिएका छन्। वीरगन्जमै स्थायी घर भई स्वास्थ्य क्षेत्रमा कार्यरत ती व्यक्तिले मानव सेवा आश्रमको भवन निर्माणका लागि व्यक्तिगत तर्फबाट ५ लाख ११ हजार रुपैयाँ गोप्य दान दिएर सहयोग गरेको मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले बताए।
आफ्नो पहिचान गोप्य राखिदिन आग्रह गर्दै ती दाताले सोमबार मानव सेवा आश्रम वीरगन्जका अभिभावक तथा भवन निर्माण समितिका संयोजक प्रकाश थारूलाई चेक प्रदान गरेको गुप्ताले बताए। भवन निर्माणका लागि आफूले ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उनले सोमबार २ लाख ११ हजार रुपैयाँको चेक थारूलाई प्रदान गरेको र बाँकी ३ लाख रुपैयाँ पनि केही दिनमै दिने बताएको गुप्ताले जानकारी दिए ।