ठगी आरोपमा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी, खोजी गर्दै प्रहरी

ठगी आरोपमा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी, खोजी गर्दै प्रहरी
सुन्नुहोस्

विराटनगर : ठगी आरोपमा मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौंमा बस्दै आएका अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको छ। 

अनिल नेकपा (एमाले)का संघीय सांसद तथा संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव हुन्। ठगीको आरोपमा अनुसन्धान अघि बढाउन उच्च अदालत आदेश दिएपछि उनलाई ऋषिकेशले गत शुक्रबार जिम्मेवारीबाट हटाइसकेका छन्। प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनिलको खोजी गरिरहेको छ। 

जिल्ला अदालत मोरङको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा अनुसन्धानका लागि सोमबार पक्राउ पुर्जी जारी भएको जानकारी दिए। एमाले मोरङका जिल्ला सदस्यसमेत रहेका अनिलविरुद्ध बौआलाल चौधरीकी छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।

अनिलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा का ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ। तर, छोरीको नाम ननिस्किएपछि बौआलालले उनीसँग पैसा फिर्ता मागेका थिए। अनिलले पैसा फिर्ता दिनुको साटो उल्टै धम्की दिएको बौआलाल बताउँछन्। 

२०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर उल्टै ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएको बौआलालको भनाइ छ। तर, त्यो कागज अनिलले वडा कार्यालयमा दर्ता गरेनन्। जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनि कपाली तमसुक बनाएपछि बौआलाल प्रहरी कार्यालय पुगेका थिए। जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसुरमा कारबाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गएपनि प्रहरीले जाहेरी लिन मानेन। 

प्रहरीले अस्वीकार गरेपछि २०७९ साउन १८ गते हुलाकमार्फत जाहेरी पठाएका थिए। प्रहरीले जाहेरी नलिएको भन्दै बौआलालले २०७९ साउन ३१ गते ठगी मुद्दामा अनिलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेश दिनुपर्ने मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराए।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाही अघि बढाउन गत भदौ ३१ गते आदेश दिएको थियो। आदेशको प्रमाणीकरण पुस ११ गते भएको थियो। अदालतको आदेशको पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले अदालतबाट अनुमति लिएर अनिलको खोजी सुरु गरिएको जानकारी दिए। खोजी सुरु गरेर घटनाको अनुसन्धान अघि बढाइएको उनले बताए। बौआलाल वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.